
सैपु डाँडाघर लक्ष्मीकान्तका कान्छा छोरा दधिराम पौडेलको जन्म विसं १९५८ सालमा भएको थियो। उहाँले ओखलढुङ्गा जिल्ला, गाम्नाङ गाउँको ढापा निवासी देवदत्त भट्टराई तथा पवित्रा भट्टराईकी छोरी तथा हेमसागर , हेमशंकर र केदारनाथ भट्टराईकी कान्छी बहिनी भवमायाका साथ बिबाह गर्नु भएकाले भवमाया बुहारी कान्छी भए पनि बल, बुद्धि र खानदानी संस्कारका हिसाबले उहाँ जेठी नै हुनुहुन्थ्यो। अग्लो, गोरो शरीर, ठूलो मोहडा, जाँगरिलो बानी र खरो स्वभावका कारण उहाँ प्रभावशाली व्यक्तित्वकी धनी हुनुहुन्थ्यो। उहाँको जन्म वि.सं. १९७२ सालमा भएको हो।
ढापाली घरानाको ख्याति त्यस समयमा टाढाटाढासम्म फैलिएको थियो। ग्रामोदय माविमा शिक्षकका रूपमा वर्षौँ बिताउनुभएका भूगोल तथा सामाजिक विषयका जानकार, पूर्व सांसद आदरणीय देवशंकर पौडेलले उपलब्ध गराउनुभएको विवरणका आधारमा, साथै मेरा पिताजी कान्छाबासँग ढापा आवतजावत भइरहने र म स्वयं पनि पारिवारिक रूपमा जोडिएको हुँदा ढापाली घरानाको सामान्य चित्र प्रस्तुत गर्न चाहन्छु।
त्यसबेलाको समाजमा आत्मनिर्भरता प्रमुख थियो। आफ्नै उत्पादनबाट उखु पेलेर खुँदो–सख्खर बनाउने, आफ्नै बारीको तोरी कोलमा पेलेर तेल निकाल्ने, शरीरमा घस्ने र उज्यालोका लागि दियो बाल्ने चलन थियो। ढापामा यसका लागि ठूलो ढुङ्गामा कोल खोपिएको थियो, जुन अत्यन्त कलात्मक थियो। गाई–भैँसी र घोडाका लागि बनाइएको ढुङ्गे डुँड, घरको प्रवेशद्वारमा खोपिएका तगारा, आँगनमा जडित ढुङ्गे धारो आदि त्यहाँका विशेषता थिए।

सबैभन्दा अचम्म लाग्दो कुरा त ढुङ्गामा कुलेसो खोपेर झण्डै एक किलोमिटर टाढाको पानीको मुहानबाट ढुङ्गा–ढुङ्गा जोडेर पाइपजस्तै बनाइ घरको धारामा पानी ल्याइएको थियो। धाराबाट बगेको पानी भूमिगत कुलेसोमार्फत डिलमा बनाइएको सानो पोखरीमा जम्मा गरिन्थ्यो र रातभरि संकलित पानीबाट घट्टा चलाइन्थ्यो। आज पनि यी अवशेषहरू अध्ययन गर्न सकिन्छ।

ढापाली घर अत्यन्त कलात्मक थियो—आँगन र दलानमा कुँदिएका ढुङ्गा, थाम र मोठले सजिएको संरचना हेर्दा कुनै दरबारजस्तै देखिन्थ्यो। पण्डित हेमसागर भट्टराईले कोटीहोम सञ्चालन गरी हजारौँ ब्राह्मणलाई भोजन तथा दक्षिणा दिनुभएको प्रसंगले उहाँको धार्मिक महत्त्व झल्काउँछ।
उहाँसँग सम्बन्धित अनेक चमत्कारका कथाहरू पनि सुनिन्थे—गाग्राका खवटा पैसा बनाएर साहुलाई दिने, बेलुका बाकस खोलेर हेर्दा साहु छक्क पर्ने। साहुहरू यो ढापालीको काम हो भन्ने बुझ्थे र पछि उनीहरूले पैसा पाउँथे। ढापालीका यस्ता अनेकौँ चमत्कार सुनिन्थे—मसानबाट रातभर धान रोपाइँ गराउने, खेतका बडेमानका ढुङ्गा रातारात लिखुमा सार्ने, हिंड्ने सर्पलाई परालको लुइँठो बनाउने, कपडा च्यातेर पुनः जस्ताको त्यस्तै बनाउने , खेतबारीमा गोठ हुने त्यो बेला चौपायालाई बाघले खाइदिने गर्थ्यो हेमशागरले अक्षता छरेपछि ढुक्क हुन्थ्यो रे आदित्यादि। ती घटनाहरूले उहाँको रहस्यमय र प्रभावशाली व्यक्तित्वलाई अझ चर्चित बनाएको थियो।
ओखलढुङ्गामा भएको झगरे हत्या तथा डकैती काण्डमा गजाधर भट्टराईसहित चार जनाको ज्यान गएको थियो। उक्त घटनाका अपराधी पत्ता लगाउन हेमसागर भट्टराईको महत्वपूर्ण योगदान थियो। त्यसपछि उहाँको सुरक्षाका लागि सरकारले उहाँकै घरमा प्रहरी चौकीसमेत स्थापना गरेको थियो। चौतर्फी ठूलो ख्याति कमाउनुभएका हेमसागर भट्टराईको निधन ५१ वर्षको उमेरमा वि सं २०१५ सालमा भएको थियो।
हेमशंकर भट्टराईको विवाह मेरो माइलो हजुरबा जगन्नाथकी जेठी छोरीसँग भएको रहेछ। तर उहाँ (फुपाजु) को सानै उमेरमा निधन भएको रहेछ। मेरी आमाको भनाइ अनुसार उहाँले पाँच -छ वर्षमा श्रीमान गुमाउनु भएको रे। अचेल नर्सरी भर्ना गर्ने समय मै बिबाह, घरजम पछि श्रीमान को काजकिरिया समेत भ्याएकी फुपूको कथा काल्पनिक चाहिँ होइन। फुपू श्राद्ध गर्दा केश मुण्डन गर्नु हुन्थ्यो,म अचम्ममा पर्थें। २०३६ साल तिर होला उहाँलाई गाईले हानेर पेट चिराफारा बनाएको घटनाले अत्यन्त पीडादायी अवस्था सिर्जना गरेको थियो। डाँडाघरे बाहरूले अल्लोको धोक्रो सिउने खाप्सियोले आन्द्रा–भुँडी भित्र हाल्दै सिलाएको दृश्य हेर्न नसकी म भागेको थिएँ। निको भएपछि त पुस्तकमा छापिएछ डाँडाघरका सबै डाक्टर तर बुढाहरूको फोटो चाहिँ खुकुरी,हँसिया , डोरी ,दाम्लो लिएको देखिन्थ्यो। कठैबरा! त्यो समय , ती वालविधवा नारीका पीडा !! म बनारसमा रहँदा २०३७/३८ सालतिर स्वर्ग प्रस्थान गर्नुभयो भन्ने समाचार सुनेको थिएँ। फुपू भवमायाको माइली भाउजु हुनुहो। आजको पुस्ताले यो प्रशङ्गबाट पनि केही बुझ्नुपर्छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु।

खानदान र संस्कारको प्रभाव सन्तानमा पनि देखिने नै भयो। भवमायाका सन्तानमध्ये जेठा छोरा कुबेर अल्पायुमै निधन भए पनि बाँचुन्जेल सैपु क्षेत्रमा प्रभावशाली हुनुहुन्थ्यो। कुबेरका छोरा टीका पौडेलले टुहुरो भएर पनि समाजमा उल्लेखनीय स्थान बनाउनुभयो। टीकाको ६० वर्षको उमेरमा निधन भयो। उहाँका दुई छोराहरू हाल अमेरिकामा बसोबास गर्छन् भने आमा, श्रीमती र बहिनी काठमाडौंमा बसोबास गर्नुहुन्छ।
कान्छा छोरा मेघनाथ कृषक हुनुहुन्छ। उहाँले आफ्नो पेशालाई मर्यादित बनाउनुभएको छ। उहाँका छोरा यज्ञराज र शंकर तथा छोरीहरूले डाँडाघरको अगुवाइ गरिरहेका छन्। भवमायाका सात छोरी र तिनका सन्तानहरूले पनि जीवनमा उन्नति–प्रगति गरेका छन्। यी सबैमा भवमायाको ठूलो देन छ।
भवमायाले जीवनभर कहिल्यै हार मान्नुभएन। अन्तिम समयसम्म पनि सबै व्यवहारिक कामकाजमा सक्रिय रहनुहुन्थ्यो। धान रोप्दा मुठी आकाशतिर फालेर तल झर्न नपाउँदै अर्को मुठी रोपी सक्ने सीप उहाँमा थियो। घरायसी व्यवहारमा राम्रो परिपाठ थियो। मीठो खाने, राम्रो लाउने र स्पष्ट बोल्ने स्वभाव देखिन्थ्यो। वि.सं. २०४५ साल जेठ २९ गते शनिबार,तिथिअनुसार अधिक जेठ कृष्ण पक्ष द्वादशीका दिन ७३ वर्षको उमेरमा सामान्य बिरामी परेका कारण स्वर्गारोहण भयो। आगामी द्वादशीका दिन उहाँको पुण्यतिथि हो। श्रद्धासुमन अर्पण हजुरआमा।

प्रतिक्रिया