न्याय र अभावको खरानीबाट उठेर संसद्‍सम्म: बंगालका तीन ‘शक्ति’ पात्रहरूको आँसु र गौरवको महागाथा

इनेप्लिज २०८३ वैशाख २३ गते २:१४ मा प्रकाशित

राजनीतिलाई अक्सर शक्ति र धनको खेल मानिन्छ, तर पश्चिम बंगालको चुनावी नतिजाले यस पटक एउटा यस्तो मानवीय र भावनात्मक कथा लेखेको छ, जसले विश्वको ध्यान खिचेको छ। यो कथा ती तीन महिलाहरूको हो, जो केही समय अघिसम्म बाँच्नका लागि सङ्घर्ष गरिरहेका थिए, तर आज उनीहरू पश्चिम बंगाल कै नीति निर्माण तह ‘लोकसभा’ मा पुगेका छन्।

रत्न देवनाथ: त्याग र अटल विश्वासको प्रतिमूर्ति

रत्न देवनाथ) को कथा राजनीति मात्र नभई एउटा आमाको न्यायका लागि गरिएको मर्मस्पर्शी संघर्षको गाथा हो। उहाँको जीवनको सबैभन्दा ठूलो त्रासदी नै उहाँको राजनीतिक यात्राको प्रस्थान बिन्दु बन्यो।

रत्न देवनाथकी एक मात्र छोरी ३१ वर्षीया आवासीय चिकित्सक थिइन्। सन् २०२४ अगस्त ९ मा कोलकाताको आर.जी. कर मेडिकल कलेज एण्ड हस्पिटल(अस्पताल)मा काम गर्दै गर्दा उनकी छोरीको क्रूर बलात्कार र हत्या भयो। यो घटनाले पुरै पश्चिम बंगाल र भारतलाई नै स्तब्ध बनायो। न्यायको माग गर्दै देशव्यापी विरोध प्रदर्शनहरू भए, जसमा महिलाहरूले मध्यरातमा सडकमा ओर्लिएर “रिक्लेम द नाइट” अभियान चलाएका थिए।

आफ्नो छोरीको न्यायका लागि गरिएको अनुसन्धान र राज्य सरकारको कार्यशैलीप्रति रत्न देवनाथ र उनको परिवार सन्तुष्ट थिएन। उनले आफ्नी छोरीलाई न्याय दिलाउन र बंगालका अन्य छोरीहरूको सुरक्षाका लागि राजनीतिमा आउने निर्णय गरिन् । उनले एउटा भावुक प्रतिज्ञा पनि गरेकी थिइन् — जबसम्म आफ्नी छोरीले न्याय पाउँदिनन् र वर्तमान सरकार सत्ताच्युत हुँदैन, तबसम्म उहाँले आफ्नो कपाल कोर्ने छैन।

भारतीय जनता पार्टी(भाजपा )ले उनलाई उत्तर २४ परगना जिल्लाको पानिहाटी निर्वाचन क्षेत्रबाट उम्मेदवार बनाएको थियो। चुनाव प्रचारका क्रममा उनि जहाँ पुग्थिन त्यहाँका मानिसहरू आँखाभरि आँसु लिएर उहाँलाई स्वागत गर्थे। मे ४, २०२६ मा सार्वजनिक भएको नतिजा अनुसार रत्न देवनाथले आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले हराउँदै ऐतिहासिक जित हासिल गरिन र पश्चिम बंगाल विधान सभाको सदस्य बनेकी छन् ।

रत्न देवनाथको यो यात्रा एउटी शोकमा डुबेकी आमा कसरी “न्यायको योद्धा” बनेर संसद्‍सम्म पुग्छिन् भन्ने एउटा ज्वलन्त उदाहरण हो।

संघर्षको भुमरीमा रेखा पात्रा ;

सन्देशखालीको नाम सुन्ने बित्तिकै धेरैको मन अझै काँप्छ। त्यहीँकी एउटी साधारण गृहिणी थिइन्— रेखा पात्रा। उनको जीवन साना साना खुसीमा सीमित थियो, तर स्थानीय गुण्डाहरूको अत्याचारले उनको संसार उजाडिदिएको थियो। रेखा ती महिला हुन्, जसले आफ्ना गाउँका दिदीबहिनीहरूमाथि भएको शोषणका विरुद्ध पहिलो पटक आवाज उठाइन्।

उनको घरमा गरिबी थियो, ओत लाग्ने राम्रो छानो थिएन, तर उनको मनमा एउटा ज्वाला बलिरहेको थियो। जब उनले आफ्ना पीडा र गाउँको अन्यायका विरुद्ध न्याय मागिन्, उनलाई धेरैले दबाउन खोजे। तर उनको साहस देखेपछि उनलाई संसद्को चुनावमा उठ्ने मौका दिइयो। हिजोसम्म न्यायका लागि प्रहरी चौकी धाउने रेखा आज दिल्लीको संसद्‍मा बंगालका पीडित महिलाहरूको आवाज बनेकी छिन्। उनको जित एउटा व्यक्तिको जित मात्र होइन, यो हजारौं निरीह नारीहरूको आत्मसम्मानको जित हो।

इँटाभट्टाबाट उठेकी कलिता माझी :

कलिता माझीको कथा सुन्दा जो कोहीको पनि आँखा रसाउँछ। पूर्व बर्धमानकी कलिताको जीवन इँटाभट्टामा बित्थ्यो। अरूको घर बनाउन दिनरात इँटा बोक्ने र अरूको घरमा भाँडा माझ्ने कलिताले कहिल्यै सोचेकी थिइनन् कि एकदिन उनले देशकै भविष्य लेख्ने ठाउँमा पुग्नेछिन्।

उनको संघर्ष कस्तो थियो भने, कहिलेकाहीँ बेलुकाको चुल्हो बाल्न पनि धौ-धौ हुन्थ्यो। तर कलिताले आफ्नो गरिबीलाई कहिल्यै कमजोरी बनाइनन्। समाज सेवामा सधैं अघि सर्ने उनको निस्वार्थ भावनाले उनलाई जनताको प्रिय बनायो। जब उनले चुनाव जितिन्, उनले भनिन्, “मैले इँटा त धेरै बोकेँ, अब जनताको दुःखको भारी बोक्नेछु।” एउटी श्रमिक महिलाले संसद्को सिँढी चढ्नु लोकतन्त्रको सबैभन्दा सुन्दर र भावुक दृश्य हो।

रेखा पात्रा, कलिता माझी र रत्न देवनाथ— यी तीन नामहरू केवल सांसदका नाम मात्र होइनन्, यी त ‘नारी शक्ति’ का प्रतीक हुन्। चरम अभाव, त्रासदी र सामाजिक शोषणको पहाड फुटाएर निस्किएका यी तीन कोपिलाहरूले आज भारतीय राजनीतिमा एउटा नयाँ सुगन्ध छरेका छन्।

प्रतिक्रिया