
अमेरिकाको राजधानी वासिङ्टन डीसीस्थित ह्वाइट हाउस नजिकै सोमबार दिउँसो एक सशस्त्र व्यक्ति र अमेरिकी गुप्तचर बिभागका सुरक्षा अधिकारीहरूबीच दोहोरो गोली हानाहान भएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार यस घटनामा शंकास्पद आक्रमणकारी र बाटोमा हिँडिरहेका एक बालक घाइते भएका छन्।
यो घटना दिउँसो साढे ३ बजेतिर ह्वाइट हाउस परिसर बाहिर पर्ने नेसनल मल नजिकै भएको हो। गुप्तचर सेवाका उप निर्देशक म्याट क्विनले दिएको जानकारी अनुसार, सादा पोसाकमा खटिएका एक अधिकारीले हतियार बोकेको एउटा शंकास्पद व्यक्तिलाई देखेका थिए। त्यसपछि पोशाकमा रहेका प्रहरीहरूले ती व्यक्तिको पिछा गर्न खोज्दा उनी भाग्न थालेका थिए। भाग्ने क्रममा ती व्यक्तिले सुरक्षाकर्मीहरूलाई लक्षित गरी गोली चलाएपछि जवाफी कारबाहीमा सुरक्षाकर्मीले पनि गोली चलाएका थिए।

प्रहरीको गोली लागेर घाइते भएका संदिग्ध व्यक्तिलाई तत्काल अस्पताल लगिएको छ। बिभिन्न पत्रपत्रिका तथा संचारमाध्यमका अनुसार यद्यपि, उनको अवस्थाबारे विस्तृत जानकारी दिइएको छैन। यसैबीच, गोली हानाहानका क्रममा त्यहाँ उपस्थित एक बालक पनि घाइते भएका छन्। अधिकारीहरूका अनुसार ती बालकलाई संदिग्ध व्यक्तिको गोली लागेको विश्वास गरिएको छ। बालकको चोट ज्यान जाने खतराभन्दा बाहिर रहेको र उनको अस्पतालमा उपचार भइरहेको छ।
यो घटना हुनु केही समयअघि मात्रै उपराष्ट्रपति जेडी भान्सको सवारी (मोटरकेड) सोही क्षेत्र भएर गएको थियो। तर, संदिग्ध व्यक्ति सवारीको नजिक नपुगेको सुरक्षा निकायले स्पष्ट पारेको छ। राष्ट्रपति ट्रम्पमाथि एक साताअघि भएको हमलाको प्रयासपछि यो घटना भएकोले सुरक्षा निकै कडा पारिएको छ।
यो आक्रमण कसलाई लक्षित गरी गरिएको थियो र यसको उद्देश्य के थियो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ। घटनालगत्तै सावधानी अपनाउँदै ह्वाइट हाउसको उत्तरी भागलाई केही समयका लागि खाली गराइएको थियो। स्थानीय महानगर प्रहरी विभागले यस गोलीकाण्डबारे थप अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया