
राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले खाडी क्षेत्रमा गरेका पछिल्ला आक्रमणहरूलाई ‘ठूलो गोलाबारी’ नभएको टिप्पणी गरेका छन् । युएईको तेल संरचना र हर्मुज जलडमरुमध्य नजिक व्यापारिक जहाजहरूमा इरानले आक्रमण गरेपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन् तर, उनले यी आक्रमणहरूबाट अमेरिका र इरानबीचको युद्धविराम नै भंग भइसकेको भनेर स्पष्ट रूपमा नभएको एबिसीन्यूजले आफ्नो समाचारमा लेखेको छ ।
एबीसी न्युजसँगको दूरवाणी (फोन )कुराकानीमा ट्रम्पले भने , “त्यति ठूलो गोलाबारी भएको छैन। जहाजहरू चलिरहेका छन् र हामीले पनि हिजो राति ठूला जहाजहरू चलायौँ।” हालैका केही घण्टाहरूमा इरानले दक्षिण कोरियाली जहाजमाथि आक्रमण गरेको र युएईमा मिसाइल तथा ड्रोन प्रहार गरेको समाचारहरू सार्वजनिक भएका थिए। अमेरिकी सेनाले पनि ६ वटा इरानी डुङ्गाहरूमाथि जवाफी कारबाही गरेको र केही इरानी क्षेप्यास्त्रहरूलाई बीचमै रोकेको बताइएको छ।
राष्ट्रपति ट्रम्पले इरानलाई चेतावनी दिँदै भने , “इरानले युद्धविराम लागू भइरहोस् भनेर आशा गर्नु नै सबैभन्दा राम्रो कुरा हो। उनीहरूका लागि सबैभन्दा फाइदाको कुरा पनि त्यही नै हो।” यदि युद्धविराम पूर्ण रूपमा तोडियो भने के हुन्छ भन्ने प्रश्नमा ट्रम्पले भने , “म सबैलाई थाहा दिने नै छु। हामी यसको अध्ययन गर्दैछौँ।”
ट्रम्पले दक्षिण कोरियाली जहाजमाथि भएको आक्रमणको विषयमा दक्षिण कोरिया आफैँ पनि सक्रिय हुनुपर्ने धारणा राखे । युएईमा भएका आक्रमणबारे बोल्दै उनले धेरैजसो क्षेप्यास्त्रहरू खसालिएको र एउटाले मात्र निशानामा पुगेर सामान्य क्षति पुर्याएको बताए ।
अन्तमा, यस घटनाले युद्ध अन्त्य गर्ने प्रयासमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्नमा ट्रम्पले निकै आत्मविश्वासका साथ भने “यो सबै हाम्रो नियन्त्रणमा छ। जुन तरिकाले भए पनि जित हाम्रो नै हुन्छ।”
उनले यस्तो जवाफ दिदा यो समाचारले अहिले विश्वभरको ध्यान खिचेको छ । खाडी क्षेत्रमा शान्ति कायम रहला कि नरहला भन्ने प्रश्न उठेको छ।
प्रतिक्रिया