
अमेरिका र इरानबीच चलिरहेको तनावपूर्ण अवस्थामा अहिले केही नयाँ र ठूला घटनाहरू भइरहेका छन्। एकातिर वार्ताबाट युद्ध रोक्ने प्रयास भइरहेको छ भने अर्कोतिर समुद्रमा दुवै देशका सेनाहरू आमने-सामने हुने डर बढेको छ।
इरानको विदेश मन्त्रालयका अनुसार पाकिस्तानमार्फत अमेरिकाले युद्ध रोक्नका लागि एउटा नयाँ प्रस्ताव पठाएको छ। इरानले अहिले यो प्रस्तावमाथि विचार गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पत्रकारहरूसँग कुरा गर्दै इरानसँगको वार्ता “धेरै राम्रो” भइरहेको बताएका छन् । दुवै देश युद्धलाई पूर्ण रूपमा रोक्ने बाटो खोजिरहेका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’ स्वतन्त्र परियोजना नामको एउटा अभियान सुरु गर्ने घोषणा गरेका छन् । यसको उद्देश्य हर्मुजको स्ट्रेट भनिने समुद्री बाटोमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित बाहिर निकाल्नु हो।
तर, इरानले यसलाई आफ्नो क्षेत्रमा हस्तक्षेप मानेको छ। इरानी सेनाका उपरथी (कमाण्डर मेजर जनरल )अली अब्दुल्लाहीले कडा चेतावनी दिँदै भनेका छन् — “यदि कुनै पनि विदेशी सेना, विशेषगरी अमेरिकी सेना, अनुमति बिना यो क्षेत्रमा आयो भने हामी आक्रमण गर्नेछौँ।” इरानले यो समुद्री बाटोको सुरक्षा आफैँले गर्ने र कुनै पनि जहाजले इरानी सेनासँग समन्वय नगरी त्यहाँबाट जान नहुने बताएको छ।
इरानी संसदका अधिकारी इब्राहिम अजिजीले अमेरिकाको यो कदमले अहिले भइरहेको ‘युद्धविराम’ को नियम उल्लंघन हुने बताएका छन् । उनले राष्ट्रपति ट्रम्पका कुराहरूलाई “भ्रम” भन्दै कडा आलोचना गरेका छन् ।
एबिसीन्यूजले आफ्नो समाचारमा अहिलेको स्थिति निकै जटिल रहेको उल्लेख गरेको छ । एकातिर वार्ताका कुराहरू भइरहेका छन् भने अर्कोतिर समुद्री बाटोलाई लिएर सेनाहरूबीच मुठभेड हुने खतरा छ। यदि यो समस्या समाधान भयो भने विश्व बजारमा तेलको आपूर्ति सहज हुनेछ, तर यदि तनाव बढ्यो भने यसले फेरि ठूलो युद्धको रूप लिन सक्ने डर छ।
प्रतिक्रिया