
अमेरिकाको ओक्लोहोमा राज्यमा एउटा रमाइलो उत्सव मनाउन भेला भएका मानिसहरूमाथि अचानक गोली प्रहार भएको छ। ओक्लोहोमाको एडमन्ड शहर नजिकै रहेको आर्केडिया तालको छेउमा भइरहेको एउटा भोजमा आइतबार राति यो हिंसात्मक घटना घटेको हो।
स्थानीय प्रहरीका अनुसार राति करिब ९ बजेको समयमा जब मानिसहरू भोज (पार्टी)मा रमाइलो गरिरहेका थिए, अचानक गोली चल्न थाल्यो। एडमन्ड प्रहरी विभागकी प्रवक्ता एमिली वार्डले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार, अहिलेसम्म कम्तीमा १० जना घाइते भएका छन्। घाइतेहरूलाई तत्कालै नजिकैका विभिन्न अस्पतालहरूमा पुर्याइएको छ। एबिसीन्यूजले जनाए अनुसार घाइतेहरूको अवस्था कस्तो छ भन्नेबारे प्रहरीले विस्तृत जानकारी दिएको छैन। तर उनीहरूको अवस्था फरक-फरक रहेको बताइएको छ।
प्रहरीले घाइतेहरूको संख्या अझै बढ्न सके शंका गरेको छ । केही मानिसहरू आफैँ सवारी साधन चलाएर अस्पताल पुगेका हुनाले आधिकारिक विवरण आउन बाँकी छ। घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेको थियो । र , हाल अहिले सो क्षेत्रलाई सुरक्षित राखिएको छ।
स प्रहरीले अहिलेसम्म गोली प्रहार गर्ने व्यक्तिको पहिचान गर्न सकेको छैन भने कोही पनि पक्राउ परेका छैनन्। यद्यपि, प्रहरी प्रवक्ता वार्डले अहिले सर्वसाधारणका लागि कुनै तत्काल खतरा नरहेको बताएकी छिन्। प्रहरीले यो घटना किन र कसरी भयो भन्नेबारे गहिरो अनुसन्धान गरिरहेको छ।
आर्केडिया तालको यो क्षेत्र मानिसहरू घुम्न र बनभोज मनाउनका लागि निकै लोकप्रिय मानिन्छ। एउटा रमाइलो रात यसरी डर र हिंसामा बदलिएपछि स्थानीय समुदाय अहिले स्तब्ध छ। प्रहरीले घटनाका प्रत्यक्षदर्शीहरूसँग सोधपुछ गरिरहेको छ । आक्रमणकारीको खोजी कार्यलाई तीव्र पारेको छ। स्थानीय प्रशासनले सबैलाई सतर्क रहन र घटनाका बारेमा कुनै जानकारी भए तुरुन्त प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
प्रतिक्रिया