
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ‘प्रोजेक्ट फ्रीडम’ अर्थात् मुक्ति अभियान नामको एक विशेष मानवीय अभियानको घोषणा गरेका छन् । यस अभियान अन्तर्गत, मध्यपूर्वको ‘स्ट्रेइट अफ हर्मुज’ भनिने समुद्री मार्गमा फसेका अन्य देशका जहाजहरूलाई अमेरिकी सेनाले सुरक्षित रूपमा बाहिर निकाल्न मद्दत गर्नेछ। यो कार्य सोमबार बिहानदेखि नै सुरु हुने बताइएको छ।
अहिले मध्यपूर्वमा चलिरहेको तनाव र झगडाका कारण यो समुद्री बाटो बन्द जस्तै भएको छ। यसले गर्दा धेरै देशका व्यापारिक जहाजहरू त्यहीँ रोकिएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार, ती जहाजहरू र त्यहाँ काम गर्ने मानिसहरूको यो झगडामा कुनै गल्ती छैन। उनीहरू केवल व्यापारका लागि त्यहाँ गएका थिए तर अहिले बीचमा फसेका छन्। धेरै जहाजहरूमा खानेकुरा र अन्य आवश्यक सामानहरू सकिन लागेकाले उनीहरूको स्वास्थ्यमा समेत समस्या पर्न सक्ने देखिएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत यो पूर्ण रूपमा एक मानवीय कार्य हो। उनले स्पष्ट पर्दै भने जुन देशहरू यो विवादमा संलग्न छैनन्, उनीहरूले नै अमेरिकालाई सहयोगको लागि अनुरोध गरेका थिए। यो अभियानले इरान, मध्यपूर्व र स्वयम् अमेरिका सबैलाई फाइदा पुग्ने उनको विश्वास छ।
ट्रम्पले भनेका छन् , “हामीले ती देशहरूलाई भनेका छौँ कि हामी उनीहरूका जहाज र कर्मचारीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सक्दो प्रयास गर्नेछौँ।” जहाजका चालक दलका सदस्यहरूले यो क्षेत्र सुरक्षित नभएसम्म फेरि नफर्कने बताएका छन्।
राष्ट्रपति ट्रम्पले अहिले इरानसँग सकारात्मक कुराकानी भइरहेको र यसले भविष्यमा राम्रो नतिजा ल्याउन सक्ने आशा पनि व्यक्त गरे । तर, उनले एक कडा चेतावनी पनि दिएका छन् । उनका अनुसार, यदि यो मानवीय कार्यमा कसैले बाधा पुर्यायो वा अवरोध सिर्जना गर्यो भने, अमेरिकाले त्यसको कडा र बलियो जवाफ दिनेछ।
प्रतिक्रिया