
अफ्रिकी महादेशको मोरक्कोमा भइरहेको वार्षिक सैन्य अभ्यासका क्रममा दुईजना अमेरिकी सैनिकहरू बेपत्ता भएका छन्। संयुक्त राज्य अमेरिकाको अफ्रिकी कमान्डका अनुसार, शनिबार भएको यस घटनापछि बेपत्ता सैनिकहरूको खोजीका लागि ठुलो अभियान सुरु गरिएको छ।
यो घटना गत मे २ तारिखका दिन एटलान्टिक महासागर नजिकै रहेको ‘क्याप द्रा’ तालिम केन्द्रमा भएको हो। हराइरहेका सैनिकहरू ‘अफ्रिकन लायन’ नामको युद्ध अभ्यासमा सहभागी थिए। यो अभ्यास अप्रिलमा सुरु भएको थियो र मे महिनाको सुरुमा समाप्त हुने तालिका थियो।
बेपत्ता सैनिकहरूको खोजीका लागि अमेरिका, मोरक्को र उक्त अभ्यासमा सहभागी अन्य देशहरूले संयुक्त रूपमा खोजी र उद्धार कार्य गरिरहेका छन्। अफ्रिकी कमान्डले यस घटनाको बारेमा अनुसन्धान भइरहेको र खोजी कार्य जारी रहेको बताएको छ।
‘अफ्रिकन लायन’ अफ्रिकी महादेशकै सबैभन्दा ठुलो वार्षिक संयुक्त सैन्य अभ्यास हो। यसमा अमेरिका र उसका मुख्य अफ्रिकी सहयोगी देशका उच्च सैनिक अधिकारीहरू सहभागी हुने गर्छन्। अमेरिकी सैन्य अधिकारीहरूका अनुसार यो अभ्यासले क्षेत्रीय सुरक्षा सुदृढ बनाउन र विश्वव्यापी संकटका बेला सेनालाई तयार राख्न मद्दत गर्दछ।
प्रतिक्रिया