
आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस २०२६। संसारभरि नै आजको दिनलाई ‘प्रेस स्वतन्त्रता दिवस’ का रूपमा मनाइन्छ। यसै अवसरमा नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ईन्जाले एक विशेष प्रेस विज्ञप्ति जारी गर्दै संसारभरका पत्रकारहरू र अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूलाई शुभकामना व्यक्त गरेको छ।
हरेक वर्ष मे ३ मा मनाइने यो दिवसले पत्रकारहरूलाई स्वतन्त्र रूपमा सत्य र तथ्य समाचार जनतासम्म पुर्याउन पाउनुपर्छ भन्ने सन्देश दिन्छ। यस वर्षको दिवसले विशेषगरी “वातावरणीय संकटका समयमा पत्रकारिता” को महत्त्वलाई जोड दिएको छ।
ईन्जाले आफ्नो विज्ञप्तिमा विश्वभर नै पत्रकारिता क्षेत्र चुनौतीपूर्ण बन्दै गएकोमा चिन्ता व्यक्त गरेको छ। धेरै देशहरूमा पत्रकारहरूले समाचार लेखेकै कारण हिंसा, धम्की र कानुनी अवरोधहरूको सामना गर्नु परिरहेको छ। नेपालको सन्दर्भमा संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी (प्रत्याभूति )गरे पनि व्यवहारमा अझै राजनीतिक दबाब र सूचना पाउन गाह्रो हुने जस्ता समस्याहरू कायमै छन्।
ईन्जाले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न, प्रेसमाथिको आक्रमण बन्द गर्न र डिजिटल मिडिया(अङ्किय संचार माध्यम)को स्वतन्त्रता जोगाउन सम्बन्धित सबै पक्षसँग जोडदार माग गरेको छ। “लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र र जिम्मेवार पत्रकारिता नै सबैभन्दा ठूलो शक्ति हो,” विज्ञप्तिमा भनिएको छ। ईन्जाले सधैँ निर्भिक र निष्पक्ष पत्रकारिताको पक्षमा उभिन सबैलाई आह्वान समेत गरेको छ।
तस्बिर : कृतिम बुद्धिमत्ता (एआइ ) -जेमानाइ
प्रतिक्रिया