
शनिबार बिहान ३ बजेदेखि स्पिरिट एयरलाइन्स(बिमानसेवा)ले आफ्ना सम्पूर्ण उडानहरू बन्द गर्ने निर्णय गरेपछि अमेरिकाभरका विमानस्थलहरूमा अस्तव्यस्तता छाएको छ। धेरै यात्रुहरू त विमानस्थल पुगेपछि मात्र आफ्नो उडान रद्द भएको र बिमानसेवा नै बन्द भएको थाहा पाएर छाँगाबाट खसेझैँ भए। कसैको पारिवारिक अन्त्येष्टिमा जानुपर्ने थियो त कसैको वर्षौँदेखिको दीक्षान्त समारोह ।
एपीले आफ्नो समाचारमा जनाए अनुसार मदर्स डे (आमाको मुख हेर्ने दिन) मनाउन फ्लोरिडा जाने तयारीमा रहेकी अलेक्जान्ड्रा मेरिनोले भनिन्, “म विमानस्थल आइपुगेपछि मात्र थाहा पाएँ कि स्पिरिट त बन्द भइसकेछ। अब नयाँ टिकट कसरी मिलाउने भन्ने तनावमा छु।”
बिगत २५ वर्षमा अमेरिकाको कुनै ठूलो विमान कम्पनी यसरी बन्द भएको यो पहिलो घटना हो। पछिल्लो समय आर्थिक संकटबाट गुज्रिरहेको यो प्रतिष्ठान दोस्रो पटक टाट पल्टेको घोषणा गर्न बाध्य भयो। अन्तिम समयसम्म पनि आर्थिक सहयोग जुटाउन नसकेपछि यसले आफ्ना सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

यस्तो संकटको घडीमा फ्रन्टियर, साउथवेस्ट, अमेरिकन र युनाइटेड जस्ता अन्य ठूला बिमानसेवा (एयरलाइन्स)हरूले अलपत्र परेका यात्रुहरूलाई सघाउन अघि सरेका छन्। उनीहरूले करिब २०० डलरको सस्तो दरमा ‘रेस्क्यु फेयर’ (उद्धार भाडा) उपलब्ध गराएर यात्रुहरूलाई गन्तव्यसम्म पुऱ्याउन मद्दत गरिरहेका छन्। साथै, जागिर गुमाएका स्पिरिटका कर्मचारीहरूलाई पनि रोजगारीका लागि प्राथमिकता दिने घोषणा गरेका छन्।
कम्पनी बन्द भएपछि स्पिरिटका उडान परिचारकहरूको संघले एक भावुक सन्देश जारी गर्दै भनेको छ, “हाम्रो जीवनकै सबैभन्दा कठिन समाचार सुनाउनुपरेको छ— स्पिरिट अब रहेन। स्पिरिट हाम्रो रगतमा छ र हामी सधैँ एउटा परिवार भएर रहनेछौँ।”
कम मूल्यमा यात्रा गर्न पाउने यात्रुहरूका लागि यो एउटा ठूलो धक्का हो। कतिपय यात्रुले विगतमा ११ डलरमै उडान भरेको सम्झना गर्दै यो एयरलाइन्स आफ्नो जीवनको ‘लाइफलाइन’ भएको बताएका छन्।
अमेरिकी यातायात सचिव सन डफीले सरकारले यात्रुहरूको रकम फिर्ता र कर्मचारीहरूको व्यवस्थापनका लागि काम गरिरहेको जानकारी दिएका छन् ।
प्रतिक्रिया