अमेरिकामा बेपत्ता भएकी दोस्रो बङ्गलादेशकी विद्यार्थी नहिदा वृष्टीको शव फेला,अपराधी पक्रन प्रविधिको ठूलो सहयोग

इनेप्लिज २०८३ वैशाख १९ गते ११:२५ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा बेपत्ता भएका बंगलादेशका दुई जना विद्यार्थीको दुःखद मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले शुक्रबार दिएको जानकारी अनुसार, युनिभर्सिटी अफ साउथ फ्लोरिडा(दक्षिण फ्लोरिडा बिश्वबिद्यालय )मा विद्यावारिधि गरिरहेकी २७ वर्षीया छात्रा नहिदा वृष्टीको शव फेला परेको छ। यसअघि नै उनका साथी जामिल लिमोनको शव पनि फेला परिसकेको थियो।

जामिल र नहिदा दुवै जना अप्रिल १६ देखि विश्वविद्यालयबाट बेपत्ता भएका थिए। प्रहरीले अनुसन्धान गर्दै जाँदा जामिलको शव पहिले फेला पार्यो भने नहिदाको शव केही दिनपछि मात्र भेटियो। नहिदाको शरीर धेरै बिग्रिसकेको हुनाले उनको पहिचान गर्न वैज्ञानिकहरूलाई धेरै दिन लागेको थियो।

प्रहरीका अनुसार जामिलसँगै एउटै कोठामा बस्ने २६ वर्षका हिशाम अबुगार्बियाले उनीहरूको हत्या गरेका हुन्। हिशामले जामिललाई बारम्बार चक्कु प्रहार गरेर मारेको खुलेको छ, तर नहिदाको हत्या कसरी भयो भन्ने कुरा प्रहरीले अझै अनुसन्धान गरिरहेको छ। हत्या पछि उनले शवहरू लुकाउनका लागि आवासग्रिह (अपार्टमेन्ट)को सामान बोक्ने ठेला (कार्त) प्रयोग गरेर आफ्नै गाडीमा राखेका थिए।

एबिसीन्यूजले जनाए अनुसार यो घटनामा प्रविधिको रोचक प्रयोग देखिएको छ। प्रहरीले पत्ता लगाए अनुसार हत्यारा हिशामले हत्या गर्नुअघि आर्टिफिसियल इन्टेलिजेन्स ‘च्याटजीपीटी’ कृतिम बुद्धिमत्ता र अन्तर्जाल (इन्टरनेट)मा “मान्छेको टाउकोमा चक्कुले छेड्न सकिन्छ कि सकिँदैन?” र “के शवलाई फोहोर फाल्ने झोलामा हालेर फोहोर थुप्रो फ्याक्ने भाडो (डम्पिङ साइट)मा फाल्न सकिन्छ?” जस्ता कुराहरू खोजेका थिए। अन्तर्जाल प्रदान गर्ने प्रतिष्ठानहरूले प्रहरीलाई यो जानकारी दिएपछि अपराधी समात्न सजिलो भएको हो।

अहिले हत्यारा हिशाम प्रहरीको नियन्त्रणमा छन् र उनलाई धरौटीमा छुट्न नपाउने गरी जेल चलान गरिएको छ। मृतक दुवै जना बंगलादेशका नागरिक हुन्। प्रहरीले उनीहरूको शव धार्मिक विधि अनुसार अन्तिम संस्कारका लागि बंगलादेश पठाउने तयारी गरिरहेको छ। यो हत्या किन गरियो भन्ने कुरा अझै खुल्न सकेको छैन।

बंगलादेशको ढाकामा हुर्किएकी २७ वर्षीया नहिदा सुल्ताना वृष्टी युनिभर्सिटी अफ साउथ फ्लोरिडामा रसायन अभियंत्रणा (केमिकल इन्जिनियरिङ)मा विद्या वारिधि अर्थात् पीएचडी गर्दै थिइन्।

नोआखाली विज्ञान तथा प्रविधि विश्वविद्यालय र बुएटबाट अध्ययन पूरा गरेकी उनी सन् २०२५ मा अमेरिका आएकी थिइन्। अप्रिल १६ देखि बेपत्ता नहिदा र उनका साथी जामिल लिमोनको हत्या आरोपमा जामिलकै कोठासाथी (रूममेट) हिशाम अबुगार्बिया पक्राउ परेका छन्। अभियुक्तको घरमा रगतका प्रमाण भेटिएपछि डीएनए परीक्षण मार्फत नहिदाको पहिचान भएको हो। अध्ययनपछि देश फर्कने सपना बोकेकी एक प्रतिभाशाली विद्यार्थीको यो दुःखद अन्त्यले सबैलाई स्तब्ध बनाएको छ।

प्रतिक्रिया