
अमेरिकाको केन्टकी राज्यमा एक १८ वर्षीय किशोरलाई बैंक लुट्ने क्रममा दुई जनाको गोली हानी हत्या गरे पछि उनलाई अन्तत :पक्राउ गरिएको छ । बिहीबार दिउँसो करिब २ बजे ब्रेलेन विभर नाम गरेका ती किशोर कालो मुखावरण (मास्क )र पन्जा लगाएर बेरियास्थित ‘युएस बैंक’ भित्र पसेका थिए।
अदालती दस्ताबेजका अनुसार, बैंकभित्र छिर्नेबित्तिकै उनले एक पुरुष र त्यसपछि बैंककी एक कर्मचारी (टेलर) लाई गोली हानेका थिए। गोली लागेका दुवै जनाको घटनास्थलमै मृत्यु भयो। हत्यापछि उनले बैंकका घर्रा (ड्रयर) हरूमा पैसा खोजेका थिए र त्यहाँबाट फरार भएका थिए।
बैंकको श्रब्यदृश्य अर्थात् भिडियो (सीसीटीभी) मा एउटा चाँदी रङको बीएमडब्लु कार देखियो। अनुसन्धान गर्दै जाँदा प्रहरीले उक्त कार विभरको नाममा रहेको सामाजिक संजाल फेसबुक खातासँग जोडिएको फेला पार्यो। घटनाको केही घण्टापछि राति ८ बजेतिर विभरले सामाजिक सञ्जालमा एउटा तस्बिर प्रकाशन गरेका थिए, जसमा धेरै पैसा समातेको एउटा तस्बिर थियो। यही सुराकका आधारमा प्रहरी उनीसम्म पुग्न सफल भयो।
बिहीबार राति प्रहरीले उनको सवारी साधन फेला पारेपछि ठूलो भागदौड मच्चिएको थियो। विभरले प्रहरीबाट बच्न १०० माइल (करिब १६० किलोमिटर) प्रतिघण्टाको रफ्तारमा गाडी कुदाएका थिए। तर अन्ततः उनको कार दुर्घटना भयो र उनी पैदल भाग्न खोज्दा पक्राउ परे। उनको कारभित्र एउटा बन्दुक पनि फेला परेको छ।
अहिले विभर प्रहरीको नियन्त्रणमा छन् । उनलाई हत्या तथा लुटपाटका विभिन्न मुद्दा लगाइएको छ। सोमबार उनलाई पहिलो पटक अदालतमा उपस्थित गराइनेछ। केन्टकीका महान्यायाधिवक्ता रसेल कोलम्यानले पीडित परिवारलाई न्याय दिलाउन कडा कानुनी कारबाही गरिने बताएका छन्। बैंकले पनि यो दुःखद घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
यो घटना बेरिया शहरमा भएको हो भने त्यहाँ करिब १६ हजार मानिस बसोबास गर्छन्।
प्रतिक्रिया