कोलोराडोस्थित ब्लड डोनर्स अफ अमेरिका (BDA) मा सल्लाहकार समिति गठन

नातिबाबु भट्ट २०८३ वैशाख १७ गते २:१८ मा प्रकाशित


अप्रील २९, २०२६
कोलोराडो, अमेरीका

कोलोराडोस्थित ब्लड डोनर्स अफ अमेरिका (BDA) को कोलोराडो च्याप्टरले नयाँ सल्लाहकार समिति (Board of Advisors) गठन गरेको छ ।

संस्थाको हालै सम्पन्न कार्यसमितीको बैठकले सल्लाहकार समिती गठन गरेको हो । यसरी गठीत समितिमा समाजसेवामा लामो समयदेखि सक्रिय व्यक्तित्वहरूलाई नियुक्त गरिएको छ। नवनियुक्त सल्लाहकारहरूमा भूषणलाल श्रेष्ठ, विजयदेव अधिकारी, टिका पौडेल र सम्झना पाण्डे रहेका छन् ।

भूषणलाल श्रेष्ठ नेपालदेखि नै लामो समयदेखि रक्तदान अभियानमा संलग्न रहँदै आएका एक परिचित समाजसेवी हुन् । उनी नेवाःखलः लगायत विभिन्न सामाजिक संस्थामा समेत सक्रिय छन् । त्यस्तै, विजयदेव अधिकारी एक परिचित व्यक्तित्व हुन्, जो INLS लगायत अन्य स्थानीय गतिविधिहरूमा संलग्न छन् । यसैगरी टिका पौडेल विभिन्न संघ संस्थामा सक्रिय रहँदै आएका र लामो समयदेखि BDA सँग आबद्ध सामाजिक व्यक्तित्वका रूपमा चिनिन्छन् । सम्झना पाण्डे एक चर्चित गायिका हुनुका साथै FNP-BC (Family Nurse Practitioner – Board Certified) समेत हुन् । उनी हाल प्राथमिक स्वास्थ्य सेवामा अभ्यासरत छिन् र सामाजिक कार्यमा समेत सक्रिय सहभागिता जनाउँदै आएकी छन् । BDA च्याप्टर अध्यक्ष नवराज मरासेनीले नवनियुक्त सल्लाहकारहरूले संस्थालाई अझ मजबुत बनाउँदै अगाडि बढाउन महत्वपूर्ण सुझाव र मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

BDA ले गत फेब्रुअरी २८ मा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो भने आगामी मे २४ मा INLS सँग सहकार्य गरी पुनः रक्तदान कार्यक्रम आयोजना गर्ने योजना बनाएको छ। त्यसैगरी, जुन १३ र अगष्ट ३० मा पनि रक्तदान कार्यक्रम गर्ने तयारी रहेको अध्यक्ष मरासेनीले जानकारी दिएका छन् । यसका साथै, जुन १४ मा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम जूम मार्फत आयोजना गरिने बताएका छन् ।

नातिबाबु भट्ट

पत्रकार/लेखक

प्रतिक्रिया