अमेरिकामा दुई वर्ष देखि नेपाली विद्यार्थी विकास न्यौपाने सम्पर्कविहीन: सहयोगका लागि नेपाली समुदायलाई अपिल

कहाँ हराए २६ वर्षीय विकास? एक होनहार छोराको पर्खाइमा छटपटिँदै परिवार

इनेप्लिज २०८३ वैशाख १६ गते १:२७ मा प्रकाशित

उच्च शिक्षा हासिल गर्ने र आफ्नो भविष्य बनाउने ठूलो सपना बोकेर बिद्यार्थी प्रवेशाज्ञा अर्थात् ‘स्टुडेन्ट भिसा’ मा अमेरिका आएका एक नेपाली युवा विगत दुई वर्षदेखि रहस्यमय रूपमा बेपत्ता भएका छन्। २६ वर्षीय विकास न्यौपाने परिवार र साथीभाइसँग पूर्ण रूपमा सम्पर्कविहीन भएपछि अहिले अमेरिकास्थित नेपाली समुदायमा ठूलो चिन्ता र सन्देश फैलिएको छ।

विकासका अभिभावक र परिवार नेपालमा छन्। आफ्नो छोरो सात समुद्रपारि गएर शिक्षित बन्ने र परिवारको सहारा बन्ने आशामा बसेका अभिभावक र परिवारहरु गहिरो चिन्तामा रहेका छन् ।

दुई वर्षको लामो अन्तरालसम्म कुनै खबर नपाउँदा उनीहरूको मनमा कस्तो बज्रपात परिरहेको होला, त्यो शब्दमा वर्णन गर्न सकिँदैन। छोराको एउटा सानो आवाज सुन्न तड्पिरहेका ती आमाबुवाका लागि अहिले विकासको खोजी नै जीवनको अन्तिम आशा बनेको छ।

विकास बेपत्ता भएको यो खबर अहिले सामाजिक सञ्जालभरि व्यापक भएको छ। अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरूले उनको तस्विरसहितको सामाजिक संजालमा व्यापक रूपमा साँझा (सेयर) गरिरहेका छन्।

उनी अमेरिकाको कुन ठाउँमा अन्तिम पटक देखिएका थिए भन्ने स्पष्ट नभए पनि, उनी हाम्रै वरपर कतै हुन सक्ने सम्भावना छ।

“हामी उनको सुरक्षालाई लिएर अत्यन्तै चिन्तित छौँ,” उक्त ध्वजा (ब्यानर)मा अपिल गरिएको छ। यदि तपाईले यी युवालाई कतै देख्नुभएको छ, वा उनीबारे कुनै पनि जानकारी छ भने, कृपया ढिला नगरी फोन नम्बर (347) 263-6517 मा सम्पर्क गरिदिन अनुरोध समेत गरिएको छ।

तपाईले यो समाचार साँझा (सेयर) गर्दा कतै न कतै विकासका बारेमा जानकारी पाउन सकिनेछ। एउटा हराएको छोरालाई उसको परिवारसँग पुनर्मिलन गराउनु हामी सबैको मानवीय कर्तव्य हो। तपाईको सानो सहयोगले एउटा नेपाली परिवारको खुसी फिर्ता ल्याउन सक्छ।

प्रतिक्रिया