नियात्रा

संवत् २०८२ मङ्सिर १२, शुक्रबारको दिन हाम्रो यात्रा प्रारम्भ । चिस्यान मिश्रित उज्यालो बिहान काठमाडौँ उपत्यकाको आकाश असामान्य रूपमा खुलेको थियो; धुवाँधुलो कम, र हावामा छुट्टै प्रकारको ताजगी । आजको दिन अरू दिनजस्तो थिएन, बिहानैदेखि मनमा विशेष उत्साह थियो- शिवपुरी शिखरसम्मको पदयात्रा । यात्रामा सहभागी थियौँ हामी पाँच जना सेवानिवृत्त अधिकारीहरू; चार जना प्रहरी सेवाका अधिकारी र एकजना निजामती सेवाका इन्जिनियर । सबै सुरक्षा सेवा र राज्य सञ्चालनका विभिन्न पाटोमा लामो समय बिताइसकेका व्यक्तित्वहरू । सायद यही समान पेसागत पृष्ठभूमिले हाम्रो यात्रा अझ अर्थपूर्ण बनाउँदै थियो ।
यात्राको प्रारम्भ : मुहानपोखरीस्थित निकुञ्ज प्रवेशद्वारबाट
बिहान सवा छ बजे सबैभन्दा दुरीमा रहेका गोविन्द निरौला र म ग्रिनहिलसिटी कोलोनीबाट निस्कियौं । बाटोमा विभिन्न स्थानमा जोडिदै करिब सात बजे हामी बुढानीलकण्ठ मन्दिरदेखि झण्डै दुई किलोमिटरमाथि रहेको मुहानपोखरीस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा पुग्यौँ । टिममा सुरेन्द्रबहादुर शाह र सुशीलवर सिंह थापा दुई जना प्रहरीका सिनियर सरहरू र एक जना इन्जिनियर मदनकुमार मल्ल हुनुहुन्थ्यो । सेनाको सुरक्षा जाँचको औपचारिकता पूरा गरेपछि हाम्रो यात्रा सुरु भयो । केही मिनेटमै सहरको कोलाहल हराउँदै गयो र जङ्गलको मौनता, ओसिलो माटोको गन्ध, चिसो हावा र चराचुरुङ्गीको स्वरले जङ्गल यात्राको वास्तविक अनुभूति दिलाउन थाल्यो । सबैको अनुहारमा उत्साह थियो, र मनभित्र एउटै लक्ष्य थियो-शिवपुरी शिखर ।
घना रुखहरूले छोपेको ढुङ्गेसिँढीयुक्त पदमार्ग उकालो लाग्दै जाँदा काठमाडौँ उपत्यका क्रमश: तल छुट्दै गयो; मानौँ हामी उचाइसँगै सहरको व्यस्तता पनि पछाडि छोड्दै थियौँ । छिट्टै हामी चिलाउनेको रुख पुग्यौँ, उकालो यात्राको एउटा मौन स्वागतद्वारजस्तै । क्रमश: उकालो बढ्दै जान्छ । शरीरले श्रम महसुस गर्न थाल्यो, तर साथीसँगको संवाद, सेवाकालका स्मृति र हाँसोले थकानलाई बिस्तारै हराइदियो । करिब दुई घण्टापछि देउरालीमा पुगेर केही क्षण विश्राम गर्यौँ ।
छापभञ्ज्याङ दोबाटो
देउरालीपछिको मार्ग साँघुरो र थप उकालो हुँदै जान्छ । सूर्यको किरण घना वनछानो चिर्दै झर्दा दृश्य झन् जीवन्त बन्दै गयो । यही क्रममा मदनकुमार मल्लको प्रकृति प्रेम र फोटोग्राफीले यात्रालाई विशेष बनाइरहेको थियो; वातावरणमा कुनै फरक वा नौलो जीवजन्तु, बोटबिरुवा होस् वा दृश्य, आइफोन क्यामेरामा कैद गरिछाड्ने I यस अघिका उहाँसँगको यस्तै हाईकिङ यात्राहरूको क्रममा मैले उहाँको फोटोग्राफी कला र प्रकृतिप्रेमका बारेमा नजिकबाट बुझ्ने मौका पाएको थिएँ । आफ्नो आइफोनमा भएका फोटोफिचरबारे जानकार नभएको सायदै कुनै बाँकी थियो होला ।

हामी छापभञ्ज्याङ आइपुग्दा बाटो फराकिलो हुँदै दोबाटोमा परिणत हुन्छ, जहाँबाट एक मार्ग सोझै अगाडि नुवाकोटतर्फ झर्छ भने अर्को दायाँ हुँदै शिवपुरी शिखरतर्फ उकालो लाग्छ । विगतमा यो पदमार्ग नुवाकोट, रसुवा, लाङटाङ क्षेत्र तथा गोसाइकुण्डजस्ता धार्मिक स्थलतर्फ आवतजावत गर्ने प्रमुख मार्गका रूपमा प्रयोग हुँदै आएको पाइन्छ । आजभोलि मोटरमार्गको विस्तारसँगै यसको दैनिक प्रयोग घटे पनि छापभञ्ज्याङको महत्त्व मेटिएको भने छैन । बरु, यसले हाइकिङ यात्रीहरूलाई प्रकृति र इतिहास, विगत र वर्तमान दुवैसँग साक्षात्कार गराउने दुर्लभ अनुभूति दिन्छ ।
कामधेनु गाई शिला / सतरुद्रेश्वर महादेव
छापभञ्ज्याङ पार गरेपछि शिवपुरी यात्राले क्रमश: गम्भीर र अन्तर्मुखी स्वरूप ग्रहण गर्छ । पदमार्ग झनझन ठाडो बन्दै जान्छ; मानौँ अब पहाडले यात्रुसँग केवल शारीरिक श्रम होइन, धैर्य र सङ्कल्पको उत्तर खोज्न थालेको हो ।
यात्राको प्रारम्भदेखि घना वनक्षेत्रमा देखिएका चिलाउने, ढालेकट्टुस, उत्तिस, काफल, महुवा, टुनी, शिरीष र अँगेरीजस्ता बुट्यान तथा होचा रुखहरू यस बिन्दुसम्म आइपुग्दा क्रमशः हराउँदै जान्छन् । तिनको सट्टा यहाँ खस्रु, गुराँस, झिँगाने र बाँझ जातिका अग्ला तथा मोटा वृक्षहरूको बाहुल्यता देखिन थाल्छ । यस क्षेत्रमा पाइने यी वृक्षहरू ओक (Quercus) प्रजातिका रैथाने तथा दीर्घायु वनस्पति हुन्, यिनले माटो क्षय रोक्न, पानी सञ्चित गर्न र भूमिगत जलस्रोतको सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्छन् । स्थानीय समुदायका लागि पनि यी वनहरू विभिन्न रूपमा उपयोगी रहँदै आएका छन् । त्यसैले, यी ओक प्रजातिका वनहरू प्राकृतिक सौन्दर्य मात्र होइन, मानवप्रकृति सहअस्तित्वका जीवन्त प्रतीक हुन् ।


यी अग्ला वृक्षहरूका तना र हाँगामा थरिथरिका ढुसी (च्याउ) देखिन्छन्, कतैकतै निगालोका झाडीहरूले वनको बनावटलाई अझ सजीव बनाएका छन् । चराचुरुङ्गीको मधुर स्वर र वरिपरिको मौनताले यात्रुलाई प्रकृतिको गहिरो काखतर्फ तानिरहेको अनुभूति हुन्छ । उचाइ बढ्दै जाँदा उत्तरतर्फ हिमशृङ्खलाको झल्को देखिन थाल्छ, र हावामा चिसोपना क्रमशः थपिँदै जान्छ ।
यही उकालो यात्राक्रममा बाटोमै भेटिने कामधेनु गाई शिला यात्राको एक अर्थपूर्ण विश्रामबिन्दु जस्तै लाग्छ । विशाल ढुंगाबाट बनेको यो शिला पुराणमा वर्णित कामधेनु गाईको स्मरणसँग गाँसिएको छ; मनोकामना पूर्ण हुने विश्वास बोकेको एक दिव्य प्रतीक । निरन्तर चार घण्टाको उकालोपछि यस्तो श्रद्धायुक्त स्थलमा आइपुग्दा शरीरको थकानभन्दा बढी मनको बोझ हलुका भएको अनुभव भयो, मानौँ यात्राले यहाँ आएर केही क्षण आफैंलाई विश्राम दिन सुझाएको हो । यसै आसपास अवस्थित उत्तराभिमुख विशाल पत्थर छ जसलाई सतरुद्रेश्वर महादेवस्थलका रूपमा चिनिन्छ; जहाँ एक छेउमा ढुङ्गाको मूर्ति र त्रिशुलहरूले यसको परिचय दिइरहेको हुन्छ । शिवपुरीको चुचुरो नजिक अवस्थित सतरुद्रेश्वर महादेव प्राचीनकालदेखि तपस्या र ध्यानसँग जोडिएको पवित्र स्थल हो । जनविश्वासअनुसार यहाँ भगवान् शिवको सतरुद्र स्वरूपको आराधना गरिन्थ्यो । यस आराधनाले साधकलाई आन्तरिक शक्ति, स्थिरता र शान्ति प्रदान गर्छ भन्ने विश्वास छ । एकान्त र उचाइको यो स्थलले यात्रुलाई प्रकृति र आध्यात्मको मौन संवादमा डुबाउँछ । यहीँ उभिएर उत्तरतर्फ दृष्टि फैलाउँदा स्पष्ट र जीवन्त हिमशृङ्खलाको दृश्य अत्यन्त मनमोहक देखिन्छन् । यस अनुपम दृश्यलाई क्यामेरामा उतार्ने अवसर मदन मल्लज्यूको फोटोग्राफी कलाले अझ विशेष बनायो । कामधेनु शिला र सतरुद्रेश्वर महादेव क्षेत्रमा बिताएका ती केही क्षणहरूले लामो उकालो यात्राको थकानलाई सहजै विस्मृतिमा धकेलिदियो । यस अनुभूतिले शिवपुरी यात्रा केवल चुचुरोमा पुग्ने लक्ष्य मात्र होइन, बाटोमै भेटिने प्रकृति, आस्था र आत्मअनुभूतिका सङ्गमहरूबाट नै यसको वास्तविक अर्थ निर्माण हुने सत्य गहिरोसँग अनुभूति गरायो ।
शिवपुरी शिखर : उचाइभन्दा माथिको अनुभूति
घुम्ती घुम्ती भएको लामो उकालो पार गर्दै जब हामी समुद्र सतहबाट २,७३२ मिटर उचाइमा रहेको शिवपुरी शिखरमा उभियौँ, शरीरमा थकानको भारी थियो, तर मन एकाएक हलुका र उज्यालो भइदियो । वाग्द्वारमाथि अवस्थित यो चुचुरो शिवपुरी बाबाको तपस्यास्थलका रूपमा परिचित छ । खुला आकाशमुनि फैलिएको फराकिलो घाँसे मैदान, पूर्वपट्टि बाबाको जीवन आकारको सेतो सालिक, र वरिपरि बाझ, गुराँस, खस्रु आदिका मौन साक्षी रुखहरूले यस स्थानलाई गहिरो शान्ति र पवित्रताको आभाले ढाकेको अनुभूति दिलाउँछन् । मानव चहलपहलबाट प्रायः अछुतो यो स्थानमा पुगेपछि क्षणभर संसार नै टाढा कतै हराएजस्तो लाग्यो हामीलाई ।

घाँसे मैदानको उत्तरतर्फ दृष्टि फैलाउँदा सुनौलो घाममा चम्किरहेका लाङटाङ, गणेश र मनास्लु हिमशृङ्खलाहरू आँखैअगाडि उभिएका थिए, तल काठमाडौँ उपत्यका भने नक्साजस्तै विस्तारिएको थियो । माथिबाट बग्ने अलि तिखो तर अत्यन्त स्वच्छ हावाले दृश्यलाई अझ जीवन्त बनाइदिएको थियो, प्रकृति आफैँ बोलिरहेको जस्तो । यही अलौकिक शान्त परिवेशको काख, शिखरमै आजको यात्राको सबैभन्दा आत्मीय र रमाइलो उत्सव सुरु भयो; Potluck Lunch । घाँसे मैदानको छेउमा निर्मित सानो ढुङ्गे चौपाटी एकाएक भोजस्थलमा परिणत भयो । हामी प्रत्येकले घरबाट मनै लगाएर ल्याएका परिकारहरू एकपछि अर्को खुल्दै जाँदा, त्यो ठाउँ स्वाद, सुवास र उत्साहले भरिन थाल्यो । कसैले चिनियाँ शैलीमा सजाएको सिताके च्याउ र टोफु – बोकचोय पस्किए, कसैले ट्युइन्चा-आलु, भुटेको चिउरा, अम्बा र ड्राइफ्रुट फैलाए । कतैबाट आलुगोभीको घरेलु सुवास आयो, कतैबाट फ्राइड चिकेन र टमाटर-सुकुटी अचारको बास्नाले वातावरण नै बदलिदियो । रसिला सुन्तलाहरू हात–हातमा घुमे, मिन्ट र एनर्जी पाउचले थकान बिस्तारै पगाल्दै लगे । भोजन मात्र होइन, त्यो क्षण स्वयं एक साझा अनुभव बन्दै गइरहेको थियो ।
यही क्रममा एउटा रमाइलो प्रसङ्ग पनि जन्मियो । मैले आफ्नो ‘लन्च मेनु’ मा ‘पञ्चधान्य पराठा’ (Five Grain Paratha) रहने छ भनी सार्वजनिक गरेको थिएँ: परिकार सामान्य तर सुनिँदा अलि ठूलो लाग्ने । उत्सुकता जगाउने हिसाबले एउटा थप आइटम ‘Top Secret’ भनी उल्लेख गरेको थिएँ । तर यतिखेर झोला खोलिँदा पराठाको सट्टा खाली पेपर प्लेटहरू मात्र भेटिए, पराठा त घरमै छुटेछ । जे होस् त्यतिखेर पराठाभन्दा पनि प्लेटको बढी आवश्यक देखिएको थियो किनकि खानाको अभाव त थिएन नै । यो घटना एकछिन हाँसोको विषय बन्यो । ‘Secret Item’ चाहिँ पछिको लागि भनी गोप्य नै राखियो ।

त्यो क्षण भोजन स्वाद, हाँसो र मित्रताको साझा उत्सव थियो । शिखरमा यसरी बाँडिएको खानाले यात्रालाई उचाइ जितेको अनुभूति मात्र होइन, आत्माले छोएको स्मृतिमा रूपान्तरण गरिदियो । भोजनपछि घामले न्यानो पारेको घाँसे चौरमा पल्टिँदा निलो आकाश, चराहरूको चिरबिर र तल काठमाडौँमाथि फैलिएको सन्नाटाले समय नै स्थिर भएको जस्तो लाग्यो । उमेर र अनुभवले धेरै पाठ सिकाए पनि, यस्तो क्षण नै जीवनको साँचो सुन्दरता हो भन्ने अनुभूति शिवपुरी शिखरले गहिरोसँग दिलायो ।
शिवपुरी बाबा : शिखरको साधना र मौन विरासत
उकालो चढ्दै शिखरतिर नजिकिँदा हामीबिच शिवपुरी बाबाको बारेमा प्रसङ्ग चल्दा यात्राअघि हामीमध्ये धेरैलाई उहाँबारे खासै थाहा थिएन । पछि बुझ्दा थाहा भयो, शिवपुरी शिखरको आध्यात्मिक गरिमा यहाँ लामो समय तपस्यारत रहनु भएका शिवपुरी बाबा श्री गोविन्दानन्द भारतीसँग गाँसिएको रहेछ । भारतको केरलामा जन्मिएका, जन्मनाम जयन्थन नम्बूदिरीपाड भएका बाबा जीवनको उत्तरार्धमा यही घना वनलाई तपोभूमि बनाएर ध्यानसाधनामा लीन रहनु भएछ । त्यसैले होला, आज पनि शिखर नजिकै रहेको उहाँको समाधि र स्मारक मूर्ति मौन तपस्याको साक्षीझैँ उभिएको देखिन्छ । कसैले बाबा करिब १३७ वर्ष बाँचेको विश्वास सुनाए, कसैले पशुपति क्षेत्रको ध्रुवस्थलीस्थित समाधि र उहाँबारे लेखिएका ग्रन्थहरू, विशेषतः J.G. Bennett को Long Pilgrimage जस्ता कृतिहरूले शिवपुरी बाबालाई साधनाको जीवित परम्पराका रूपमा स्थापित गरेको तथ्य खुलाए । कुरा छोटो थियो, तर त्यसले शिखरको दृश्यसँगै साधना, मौनता र आत्मिक खोजको लामो यात्राको गहिरो अनुभूति एकसाथ महसुस गरायो ।

ओरालो यात्रा : बागद्वार, देउराली अनि नागी गुम्बा
शिवपुरी शिखरको शान्ति र शिवपुरी बाबाको मौन साधनालाई मनमा बोकेर हामी अब ओरालो यात्रातर्फ लाग्यौं । उकालो चढ्दाको सुनसान बाटो सम्झँदा, ओरालो यात्राले बिल्कुलै फरक दृश्य र अनुभूति दिइरहेको थियो । उकालोमा हाम्रो समूहबाहेक अरू कोही नदेखिएको त्यो एकान्तता यहाँ आएर चहलपहलमा रूपान्तरित भएको थियो । तलबाट समूह समूहमा उकालो चढ्दै आएका यात्रुहरू भेटिन थाले, बाटोमा हल्का कोलाहल र मानवीय उपस्थितिले यात्रालाई नयाँ रङ दिएको थियो । छाप भन्ज्याङ्गतर्फको बाटो ठाडो उकालो पर्ने र बाटोमा कहीँ पनि पानी नहुने भएकोले नै होला यो रुट बढी रुचाइएको जस्तो लाग्यो । शरीर हलुका थियो, चाल स्वाभाविक रूपमा सहज, र शिखरको सफल आरोहणले मन गह्रौं सन्तोषले भरिएको । आधा घण्टाको हिँडाइपश्चात हामी बाबा आश्रम नजिक पुग्यौं । वरिपरि अझै पनि साधनाको मौनता फैलिएको अनुभूति थियो । यहाँ केही क्षण रोकिँदा यस्तो लाग्यो: शिवपुरी बाबाको तपस्या केवल इतिहासको पानामा सीमित छैन, त्यो अझै पनि यही वन, यही हावा र यही गोरेटाहरुमा श्वास फेर्दै बाँचिरहेको छ ।

ओरालो यात्राको अर्को महत्त्वपूर्ण बिन्दु बागद्वार हो, यहीँबाट बागमती नदी जन्मिन्छ । बागद्वार बागमतीको मात्र उद्गम होइन, काठमाडौँ सहरको जीवन, संस्कृति र इतिहासको मूलस्रोत हो, किनकि यहीँबाट निस्किएको जलधाराले सहर मात्र होइन, सम्पूर्ण बागमती सभ्यतालाई आकार दिएको छ । बाघ-मुखाकृतिको ढुङ्गेधाराबाट बग्ने चिसो, स्वच्छ पानीले हाम्रो यात्रालाई नयाँ ऊर्जा दियो । दिनभरको हिँडाइपछि त्यो पानीको स्वाद असाधारण लाग्यो; तिर्खा मात्र होइन, मनसम्म शीतलता पुर्यायो । बाँकी यात्राका लागि पनि हामीले खाली बोतलहरूमा बागद्वारको पानी भर्यौं र पुन: यात्रा जारी राख्यौँ I
यसपछि ढुङ्गाबिनाको पतझड तेर्सो गोरेटो बाटो भेटियो जहाँ छेउछाउमा विशाल रुखहरू फेदतिर खोक्रिएर प्राकृतिक ओडारझैँ बनेका थिए; ती ओडारहरूले समय, प्रकृति र जीवनको सहअस्तित्व झल्काउँदै सम्पूर्ण जङ्गललाई नै रहस्यमय बनाइरहेका थिए। यी दृश्यहरू फोटोमा कैद गर्ने काम भयो । बाटोको सहजताले गर्दा होला बिच बिचमा रमाइला जोक्सहरू फुर्न थालेका थिए, विगतका सेवाकालका रोचक प्रसङ्ग र हल्का परिहासले यात्रा झन् रमाइलो बनाइरहेको थियो । सरकारी सेवाबाट निवृत्त भएपछि जीवनका अनुभूति, समाजलाई हेर्ने दृष्टि, देशसँगको माया, यी र यस्तै कुरामा हामी पाँचै जनाको समानता प्रष्ट महसुस हुन्थ्यो ।
बागद्वारबाट करिब एक घण्टाको यात्रापछि देउराली आइपुग्दा बाटो एकाएक खुला र उज्यालो भयो । घामको न्यानोपनले शरीरमा स्फूर्ति थपियो । सानो चौरबाट पूर्वतर्फ फैलिएको हिमाली दृश्य आँखामा परेपछि थकान क्षणभरमै बिर्सिएजस्तो लाग्यो । चराचुरुङ्गीको उपस्थिति यहाँ झन् जीवन्त थियो । यहीँ हामीले विशेष क्यामेरासहित चराचुरुङ्गी अवलोकनमा तल्लीन (bird watcher) समूह भेट्यौं । हामी पुग्दा लामो पुच्छर भएको एक विशेष चराको फोटो खिच्न व्यस्त समूहका एक सदस्यले घुमाउरो पारामा ‘डिस्टर्ब’ भएको प्रतिक्रिया जनाए, कारण थियो- हाम्रो आगमनसँगै त्यो चरो अलप भएको थियो । अन्जानमै भएको त्यो क्षणलाई ठट्टा मिसिएको ‘सरी!’ भन्दै सहजै टुङ्ग्यायौँ । यहीँ सानो चौरमा बसेर फलफूल र ड्राइ फ्रुट खाँदै सानो ब्रेक लियौँ ।
देउरालीपछिको ढुङ्गेसिंढीयुक्त बाटो अलि ठाडो ओरालो थियो, त्यसैले सहजताका लागि ‘हाइकिङ स्टिक’ तन्काइयो । ओरालो यात्राले हामीलाई जङ्गलको बिचमा अवस्थित नागी गुम्बासम्म पुर्यायो । यहाँ केही समय विश्राम गरी गुम्बा अवलोकन गर्यौँ । सानो चियाचमेना क्यान्टिन, भिक्षुहरूको शान्त चहलपहल र ३–४ जना विदेशी आगन्तुकहरूको उपस्थिति देख्दा मनमा प्रश्न उब्जियो-शिखरतिर नदेखिएका यी विदेशीहरू यहाँसम्म मात्र किन आए होलान् ? बाँकी खानेकुरा यहीँ बाँडेर खाइयो र बागद्वारबाट ल्याएको पानी पनि यहीँ सकियो- जस्तो कि यात्राको एउटा घेरो यहीँ आएर पूरा भएको होस् । नागी गुम्बाबाट तल हेर्दा बुढानीलकण्ठलगायत सहर क्षेत्रका दृश्यहरू फैलिएका थिए-प्रकृतिको काखबाट सभ्यतामा झर्दै गरेको अनुभूति दिलाउने गरी । सायद यही अनुभूतिको खोजमै ती विदेशीहरू यहाँसम्म आइपुगेका होलान् भन्ने लाग्यो ।
यात्राको अन्त्य : फेरि मुहानपोखरी
अपराह्न करिब साढे चार बजे फेरि मुहानपोखरी आइपुग्दा १७ किलोमिटरको पदयात्रा पूरा भएको थियो । थकानभन्दा ठुलो थियो; गर्व र सन्तुष्टि । अनुशासित जीवनशैलीले यो उमेरमा पनि शरीरले साथ दिएको अनुभूति सबैका अनुहारमा झल्किन्थ्यो ।

घर फर्किन गाडी कुर्दै गर्दा नजिकैको क्याफेमा हामीले कफी अर्डर गर्यौँ । मेरो ब्याकप्याकमा राखिएको, ‘गोप्य’ भनिएको एउटा ‘आइटम’ अझै बाँकी नै थियो । अन्ततः ‘Top Secret Item’ को आवरण खुल्यो- त्यो थियो सामान्य मिठाईको एक परिकार । करिब एक हप्ता अघि मात्र दिल्लीबाट फर्कंदा मैले ल्याएको यो सुख्खा प्रकारको मिठाई ‘गजक’ थियो; नरिवल, तिल, बदाम र गुडबाट बनाइने, विशेषगरी दिल्ली, उत्तर प्रदेश र राजस्थान क्षेत्रमा जाडो याममा अत्यन्त लोकप्रिय । यात्राको अन्त्यमा यस मिठाईले हाँसोसँगै एउटा सानो तर मिठो सरप्राइज थपिदियो । कफीको कप हातमा लिएर गफिँदै गर्दा, पश्चिम क्षितिजतिर ढल्कँदै गरेको सूर्यले आकाशलाई सुनौलो बनाएको देखियो । थकित आँखाका लागि त्यो दृश्य मौन पुरस्कारजस्तै थियो । क्षण क्यामेरामा कैद भयो, तर मनमा बसेको सौन्दर्य शब्द र तस्बिरभन्दा गहिरो रह्यो । कामधेनु शिला, सतरुद्रेश्वर महादेव, शिवपुरी बाबाको तपस्या, बागद्वार, देउराली र नागी गुम्बाको शान्त वातावरणसँगै यो सूर्यास्तले एउटै सन्देश दियो- व्यस्त जीवनबीच यस्ता यात्राहरू आत्माका लागि अनिवार्य विश्राम हुन् । यात्रा यहाँ टुङ्गिए पनि, त्यसले दिएको शान्ति, स्मृति र कृतज्ञताको अनुभूति भने लामो समयसम्म मनसँगै रहनेछ।
-कमलसिंह बम,ग्रिनहिलसिटी कोलोनी,
मूलपानी, कागेश्वरी मनोहरा, काठमाडौँ
प्रतिक्रिया