सफलताको नयाँ उचाईमा एनएसिसि (न्याक)जुनियर: न्याक जुनियर कार्यक्रममा देखियो सामूहिक कार्य र भविष्यका कर्णधारको उत्कृष्ट प्रदर्शन

इनेप्लिज २०८३ वैशाख १४ गते १:०० मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको मनाससमा स्थापित नेपाली अमेरिकन कम्युनिटी सेन्टर (नेपाली सामुदायिक केन्द्र ) ले व्यस्त जीवनशैलीका बीच आयोजना गरेको ‘एनएसिसि जुनियर’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

यो कार्यक्रम केवल एक भेला मात्र थिएन यो त अमेरिकामा जन्मिएका दोश्रो पुस्ताले आफ्नो पुर्ख्यौली जरो,नेपाली भाषा,कला ,परम्परा र संस्कृतिलाई मुटुमा सजाउने भोलिका नक्षत्रहरूको एउटा सुन्दर उत्सव थियो।

कार्यक्रमलाई युवा प्रतिभाहरू यज्ञाशी भुसाल र विद्या काफ्लेले अत्यन्तै कुशलताका साथ सञ्चालन गरेका थिए। उनीहरूको प्रस्तोता शैलीले कार्यक्रममा नयाँ उर्जा भरेको थियो। ‘लिडिङ मेन्टर’ अर्थात् अग्रज मार्गदर्शक मुना भट्टको मार्गनिर्देशन तथा कृष्ण पराजुली र निलम जस्ता मेन्टर(मार्गदर्शक)हरूको अथक सहयोगले बालबालिकाहरूमा सिक्ने उत्साह प्रस्ट देखिन्थ्यो। एनएसिसि (न्याक)जुनियरकी संयोजक आरती सिग्देल पराजुलीको नेतृत्वमा यो अभियानले सफलताको नयाँ सिँढी चढेको छ।

अभिभावक प्रतिनिधि पुजा दाहालले भनिन् , “मैले आफ्ना छोराछोरीको आत्मविश्वास र सामाजिक सीपमा ठुलो परिवर्तन देखेकी छु। त्यसैले सबै अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई यो मञ्चसँग जोड्नुपर्छ।”

कार्यक्रमको मुख्य आकर्षण ‘टिम बिल्डिङ’ (टोली सहकार्य ) रहेको थियो। स-साना नानीबाबुहरूले एक-आपसमा मिलेर काम गरेको दृश्य निकै मनमोहक थियो। इस्टर एग हन्ट र विभिन्न खेलहरू मार्फत उनीहरूलाई सानै उमेरमा नेतृत्व र सहकार्यको पाठ सिकाइएको थियो। मुना भुसालले कार्यक्रमका स्वयंसेवक, खाजाको व्यवस्था गर्ने अभिभावक र अथक मिहिनेत गर्ने प्रस्तोताहरूलाई हृदयदेखि धन्यवाद दिईन ।

कार्यक्रमको अन्त्यमा संयोजक आरती पराजुलीले आगामी मे ९ तारिखमा कक्षा ३ देखि ६ सम्मका बालबालिकाका लागि आयोजना हुने ‘पर्फमेन्स शो’ अर्थात् ‘प्रतिभा प्रस्तुति प्रदर्शनी’ को जानकारी दिईन ।

सन् २०१९ मा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्रले उत्तरी भर्जिनियामा नेपाली पहिचान र संस्कार जोगाउने जुन पवित्र कार्य गरिरहेको छ, त्यसले युवा पुस्तालाई सधैं गौरववान्वित बनाइरहनेछ। न्याक जुनियरहरू नै नेपाली अमेरिकन समुदायका वास्तविक गौरव हुन्।

“ध्वनि प्रणाली (साउन्ड सिस्टम) को व्यवस्थापन तथा कुर्सी र टेबुल आरक्षित जस्ता प्राविधिक सहयोगका लागि आरती सिग्देल पराजुलीले बिना लामा र चन्द्र लामालाई धन्यवाद दिएकी छन् । साथै, न्याकको प्रतिनिधित्व गर्ने केशव बराललाई पनि धन्यवाद व्यक्त गरिन ।

प्रतिक्रिया