पुस्तक चर्चा

पेशल पोख्रेल
‘तीन महादेशका केही तरङ्ग’ भेट्नासाथ पल्टाएँ । मज्जाले तान्यो । रोकिन दिएन । दुई बसाइमा पढिसिध्याएँ । मलाई मन पर्ने प्रिय विधाको सिर्जना भएर हो कि !
लेखक घिमिरेले कतै लेख्नुभएको रहेछ, ‘घुमफिर गर्नु नदी बग्नुजस्तै लाग्छ मलाई ।’ मलाई चाहिँ घुमफिरबारे लेख्न रुचाउनेहरू ‘गाइड’ र उनीहरूले लेखेका कुरा ‘लोन्ली प्लानेट’ का सामग्रीजस्तै लाग्छन् । तिनमा फरक शिल्प, सौन्दर्यसहित निजी अनुभूतिका कुरा आएपछि किन किन बढी नै आत्मीय लाग्छन् । संभवतः त्यही आत्मीयताले नियात्रा पढ्दा मलाई रोकिन दिंदैन ।
‘तीन महादेशका केही तरङ्ग’ पढ्दा त्यस्तै भयो । बीचबीचमा ‘अडेसलाग्दा भित्ताजस्ता, भारी अड्याउने तोक्माजस्ता भरोसायोग्य निकोस’ हरू भेटिएपछि चासो अरु बढ्दो रहेछ । डल्फिनले मुखको पानी उरालेर भिजाइदिंदा अभिषेकजस्तो लाग्ने अनुभूतिमा आफैं समाहित भएजस्तो, आफैंले भोगिरहेझैं लाग्ने । यसरी पाठकलाई सँगसँगै डोर्याउन सक्नु लेखकको सफलता हो ।
नियात्रामा घटना, विवरणसँगै जब अनुभूतिका छालतरङ्ग हुन्हुनाउदै आउँछन्; त्यतिखेरै हो पाठक भिज्ने, हल्लिने र मोहित हुने ।पशुपति घिमिरेको यो नियात्रा किताबले पाठकलाई त्यस्ता धेरै अवसर दिएको छ । र, त्यत्तिखेरै ‘रातभरिको वैंसालु हुर्हुराहटबाट थाकेर शान्त सुतेको एउटा नाइटक्लव’, ‘पञ्चतत्वको आनन्द लिने अवसर बनिरहेछ यो जलविहार..’जस्ता लोभलाग्दा वाक्य, वाक्यांश पढ्न पाइन्छ ।
सहयात्रीका कुरा, उनीहरूका भोगाइ/मूल्याङ्कनलाई पनि महत्त्व दिएर उन्दै, सँगाल्दै जाने शैली मन पर्यो । लामा नियात्रालाई उपशीर्षक दिएर सजिलो बनाइदिने अभ्यास पनि अनुकरणीय लाग्यो ।

केही समय अघि ‘आर्टमिस दोस्रो’ चन्द्र सतह वरिपरि घुमे जस्तै नासाको आर्टमिस अभियानलाई नियाल्दै केनेडी स्पेस सेन्टर घुमेको सनसनीपूर्ण प्रसङ्ग पढ्न पाउँदाको मजाको झन् के कुरा !
सबैभन्दा बढी किताबको पछिल्लो खण्ड (युरोप)ले तान्यो । त्यो भाग बुनोटका दृष्टिले पनि अरुभन्दा चिरिच्याँट्ट लाग्यो । जानकारी पनि छ र प्रवाह पनि । कहीं कतै हड्बडाए पनि गड्गडाएर बगेको छ, लेखक आफैंले भनेझैं ।अघिल्ला दुई भाग चाहिँ अझै माझिन सक्थे कि भन्ने मलाई लाग्यो ।
यात्रा कम, अनुभूतिको अत्यधिक बाहुल्य भएका सामग्री चाहिँ नियात्रामा नराखे पनि हुने नि लाग्दोरहेछ । ‘पशुपतिनाथ, धुँवा र जिन्दगी’ पढ्दा त्यस्तै लागेको हो ।
केही शीर्षक लामा छन् र केही परम्परागत । ‘..देखि ..सम्म’, ‘…र…’, ‘…पुग्दा’, ‘…बरालिंदा’ मा नयाँपन दिन, खेल्न सकिन्थ्यो भन्ने पनि लागेकै हो । ‘हरू’ जोडिएका शीर्षक पनि छरिता मानिदैनन् ।संयुक्त, लामा वाक्यमा पटक–पटक आइरहने ‘हरू’ले अभिव्यक्ति, प्रवाहलाई बोझिलो बनाउँछन् भन्ठान्छु म । त्यस्ता ‘हरू’ आवश्यकताभन्दा धेरै आएका छन् । पेज २२१ को अन्तिम वाक्यलाई हेरे हुन्छ । नौ लाइनको एउटा वाक्य अनि थुप्रै ‘हरू’ । त्यस्ता कुराले आँखालाई ठेस लगाउँछन् कि !
हतारमा चिप्लिएका केही अन्य उदाहरण पनि भनूँ है । ‘होटल आरिया पुगेर हामीले केहीबेर क्यासिनो पनि खेल्यौं ।’ –पेज ७१) । यस्ता अभिव्यक्ति चाहिँ हामीले मैदान खेल्यौं वा क्लव नाच्यौं भनेजस्तै सुनिन्छन् । अर्को ख्याल गर्नुपर्ने कुरा, कतै केही उद्धरण गर्दा; त्यो पनि चर्चित स्रष्टाका चर्चित भनाइ तानेर राख्दा भाँच्न, बिगार्न पटक्कै पाइदैन ।
पेज ३१ मा माधव घिमिरेका पङ्ति राखिएको रहेछ :
‘आई कहिल्यै नसकिने चैत वैशाख मेरा
लाई कहिल्यै नसकिने प्रीति नौ लाख मेरा’
यो पढ्दै थाहा हुन्छ, त्यहाँ केही छुटेको छ र छन्दभङ्ग भएको छ ।
त्यसको सही रूप यस्तो छ :
‘आई कैल्यै पनि नसकिने चैत वैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ।’
निबन्धमा गड्गडाउँदा पनि यस्ता कुरामा चाहिँ ध्यान पुऱ्याउनै पर्छ ।

यस्ता केही ‘हत्पत’ बाहेक असाध्यै लोभलाग्दो बनेको छ किताब । आवरण पनि प्रतीकात्मक लाग्यो । नियात्रामा लेखक जति गड्गडाउन सक्यो उति उत्ताल तरङ्ग । अब ‘समुद्रको गहिराइबाट तुफान बनेर उठेको अर्को गड्गडाहट’को प्रतीक्षा छ । नियात्राकार पशुपति घिमिरेलाई हार्दिक शुभकामना…
प्रतिक्रिया