नैतिकताको एउटा कदम: राजीनामाले दिएको सन्देश

बेद प्रसाद घिमिरे २०८३ वैशाख १० गते ९:५१ मा प्रकाशित

सडकमा राजीनामाको माग राखेर जनसागर उत्रिएको थिएन। संसद्‌मा चर्को घम्साघम्सी पनि भएको थिएन। अदालतले औँला ठड्याएको अवस्था पनि थिएन। यतिसम्म कि, यसअघि सम्बन्धित पात्र कुनै सरकारी ओहोदामा समेत थिएनन्। तर पनि प्रश्न उठे—मिडियाबाट, नागरिकबाट, र समाजको चेतनशील तहबाट।

यही प्रश्नको संवेदनशीलता बुझ्दै सरकारले स्पष्टीकरण माग्यो। र, त्यसपछि आएको राजीनामा केवल पदत्याग मात्र होइन—यो एक प्रकारको नैतिक घोषणापत्र हो। आफू विवादको केन्द्रमा रहिरहँदा राज्यलाई असहज नबनाउने निर्णयले सार्वजनिक जीवनमा उत्तरदायित्वको स्तर कति उचो हुन सक्छ भन्ने देखाएको छ।

राजीनामा दिनु कमजोरी होइन। बरु, यो साहसको पराकाष्ठा हो—आफूमाथि निर्मम बन्न सक्ने क्षमता। जब नेतृत्वले आफ्नै व्यवहारमाथि प्रश्न उठ्न दिँदैन, तब मात्र उसले अरूमाथि शून्य सहनशीलताको मापदण्ड लागू गर्न सक्छ। यही नै सुशासनको आधार हो।

आजको सन्दर्भमा यो घटनाले अर्को गहिरो यथार्थ पनि उजागर गरेको छ—बिचौलिया र कमिशनतन्त्रको जालो। लघुबीमा कम्पनीहरूमा देखिएको निजी लगानीकर्ताको अनुहार मात्र एउटा उदाहरण हो, जसले देखाउँछ कि राज्य संयन्त्र, राजनीतिक नेतृत्व, निजी क्षेत्र र सञ्चार जगतसम्म फैलिएको एक जटिल सञ्जालले देशलाई भित्रैबाट खोक्रो बनाइरहेको छ। यो समस्या कुनै एक व्यक्तिसँग मात्र सीमित छैन; यो संरचनागत विकृति हो।

यस्तो अवस्थामा, व्यक्तिको राजीनामाभन्दा ठूलो कुरा प्रणालीको सुधार हो। एक-एक गरी त्यो जालो चिर्नुपर्नेछ। नत्र, पात्र फेरिए पनि प्रवृत्ति उस्तै रहिरहन्छ। भ्रष्टाचार र अपारदर्शिताको विरुद्ध लडाइँ व्यक्तिगत होइन—संस्थागत हुनुपर्छ।

अबको अपेक्षा स्पष्ट छ—भावनात्मक आवेगभन्दा माथि उठेको, कानुनी, प्रशासनिक र भूराजनीतिक जटिलता बुझेको परिपक्व नेतृत्व। यस्तो नेतृत्वले मात्र दीर्घकालीन सुधारको आधार तयार गर्न सक्छ। काम गर्ने इच्छाशक्ति मात्र होइन, त्यसलाई विधिसम्मत, धैर्यपूर्वक र रणनीतिक ढंगले कार्यान्वयन गर्ने क्षमता आवश्यक छ।

सरकारले चाहेको भए यो विषयलाई पेलेर अगाडि बढ्न सक्थ्यो। दबाएर, नसुनेर, वा बेवास्ता गरेर पनि अघि बढ्न सक्थ्यो। तर, यसपटक अर्को बाटो रोजिएको छ—जवाफदेहिता र नैतिकताको बाटो। यही बाटोले सरकारको मेरुदण्ड बलियो बनाउने हो, यदि यसलाई निरन्तरता दिइयो भने।

अन्ततः, जनताले दिएको विश्वास र अवसर केवल चुनावी जित होइन—यो उत्तरदायित्वको परीक्षा हो। यो परीक्षामा पास हुनका लागि यस्ता कदमहरू केवल सुरुवात मात्र हुन्। निरन्तरता, पारदर्शिता र प्रणालीगत सुधारले मात्र त्यो विश्वासलाई सार्थक बनाउनेछ।
`

प्रतिक्रिया