सोफामा सुतेका गृहमन्त्री: समर्पणको संकेत कि क्यामेरा–मैत्री स्टन्ट?

मदन बस्नेत, टोरन्टो। २०८२ चैत २० गते २३:२९ मा प्रकाशित

गृहमन्त्री राष्ट्रिय पोशाक – दौरासुरुवाल र भादगाउँले टोपी ढल्काएर मन्त्रालयको सोफामा सुतेको फोटो सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा भाइरल भयो। समर्थकहरूले आँखा चिम्लेर बखान गर्दै भने, “वाह! क्या गज्जबको गृहमन्त्री!”

तर यही दृश्यले तुरुन्तै एउटा कटु प्रश्न उठाएको छ: के यो सुताइ साँच्चिकै कामप्रतिको समर्पण हो, कि केवल क्यामेरा फ्रेन्डली स्टन्ट? जब राज्य संयन्त्र सुस्त छ र परिणाम कमजोर छन्, त्यस्तो अवस्थामा एउटा फोटोले ‘मेहनती नेता’ को छवि निर्माण गर्न सक्छ भन्ने भ्रम कति वास्तविक हो? वा यो पनि त्यही पुरानो राजनीतिक स्टन्टबाजी—काम कम, देखावट बढी—को पुनरावृत्ति मात्र हो?

पछिल्लो समय राजनीतिमा कामभन्दा पनि “काम गरेको देखाउने शैली” झन् प्रभावशाली बन्दै गएको छ। युक्रेनका राष्ट्रपति भलादिमिर जेलेन्स्कीले युद्धका बेला बंकरबाट भिडियो सन्देश दिने, औपचारिक पोशाक त्याग्ने र अफिसमै बस्ने शैली अपनाएपछि यो प्रवृत्ति झन् चर्चामा आयो। उनको शैलीले राष्ट्रिय मनोबल उच्च बनायो, तर त्यसले विश्वभरका नेताहरूलाई पनि “इमेज निर्माण” को नयाँ बाटो देखायो।

नेपालमै फर्केर हेर्दा, यो नयाँ होइन। महावीर पुनले मन्त्रालयमै बस्ने, पकाउने र सुत्ने जीवनशैली देखाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको अनौपचारिक पोशाक र प्रत्यक्ष शैलीले पनि युवापुस्तामा निकै धेरै प्रभाव पारेको देखिन्छ। अब सुदन गुरुङको सोफा प्रसंगले यही श्रृंखलालाई पुनः चर्चामा ल्याएको छ।

अन्तर्राष्ट्रिय परिप्रेक्ष्यमा, भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले झाडू लगाउने, गंगाघाट सफा गर्ने दृश्यमार्फत आम जनतालाई सन्देश दिने र ध्यान आकृस्ट गर्ने गरेका दृष्टान्त भेटिन्छ्न् भने बेलायतका बोरिस जोन्सनले हेलमेट लगाएर काम गरेको ‘पोज’ लाई पनि सम्झन सकिन्छ। अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको नाटकीय प्रस्तुति पनि यसै श्रेणीमा पर्छ।

त्यस्तै, रुसी रास्ट्रपति भ्लादिमिर पुटिनले शक्ति प्रदर्शनका लागि घोडा चढ्ने, शिकार गर्ने गतिविधि बेलाबखत देखाएका छन् भने एल साल्भाडोरका नायिब बुकेले सामाजिक सञ्जालमार्फत ‘कूल’ र निर्णायक नेताको छवि निर्माणमा सक्रिय भएको तथ्य पनि छ।। त्यसैगरी फिलिपिन्सका रोड्रिगो दुतेर्ते र ब्राजिलका जाएर बोल्सोनारो ले आक्रामक र प्रदर्शनमुखी शैली अपनाएका थिए।

उरुग्वेका जोसे मुजिकाले साधारण जीवनशैलीमार्फत आम जनतालाई सन्देश दिने काम गरेका थिए भने इन्डोनेसियाका जोको विडोडोले जनतामाझ अचानक पुगेर ध्यान खिच्ने गरेका थिए। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र क्यानडाका पूर्वप्रधानमन्त्री जस्टिन ट्रुडो पनि आफ्नै शैलीमा जनसम्पर्कलाई प्राथमिकता दिनेमा पर्दछ्न्। अचानक जनतासामु देखिने र अन्तरक्रियामा उत्रने उनीहरुको लोकप्रिय शैली थियो।

हालसालैका घटनामा पनि अर्जेन्टिनाका हाभियर मिलेई जस्ता नेताहरूले आक्रामक अभिव्यक्ति र प्रतीकात्मक प्रस्तुति मार्फत चर्चा बटुलिरहेका छन्।

यी सबै उदाहरणले देखाउँछ—राजनीति अब केवल नीतिको खेल मात्र रहेन, यो “देखिने र देखाउने सन्देश” को पनि खेल बनेको छ। जनता अब नेताको भाषण मात्र होइन, उसको जीवनशैली, व्यवहार र दैनिक गतिविधिलाई पनि मूल्याङ्कन गर्छन्। सामाजिक सञ्जालको विस्तारले यो प्रवृत्तिलाई अझ तीव्र बनाएको छ, जहाँ एउटा फोटो वा भाइरल भिडियोले ठूलो राजनीतिक सन्देश दिन सक्छ।

तर यहाँ मुख्य प्रश्न उठ्छ—के यस्ता स्टन्टले वास्तविक परिवर्तन ल्याउँछन्? हो, छोटो समयकालागि यसले जनताको ध्यान तान्छ, सहानुभूति बटुल्छ र लोकप्रियता बढाउँछ। तर दीर्घकालीन रूपमा जनताले परिणाम खोज्छन्। सडक, शिक्षा, स्वास्थ्य, रोजगारी, सुरक्षा जस्ता आधारभूत मुद्दा समाधान नगरी केवल ‘इमेज’ ले मात्र राजनीतिक भविष्य सुरक्षित गर्न सक्दैन।

नेपालको सन्दर्भमा यो अझ संवेदनशील विषय हो। यहाँ जनताले धेरै पटक “ठूलो आशा” र “कम परिणाम” को अनुभव गरिसकेका छन्। त्यसैले, अब केवल फोटो सन्देश वा स्टन्टबाजी र प्रतीकात्मक गतिविधिले मात्र विश्वास जित्न गाह्रो हुँदै गएको छ। सुदन गुरुङको सोफा प्रसंगले केही समय चर्चा पाउन सक्छ तर अन्ततः उनको मूल्याङ्कन कामको आधारमै हुनेछ।

राजनीति छिटो छिटो गरि बदलिदैछ। अब यो काम पनि गर्ने र प्रचारबाजी पनि गर्ने अर्थात् “गर्ने र देखाउने शैली” को मिश्रण बनेको छ। तर त्यसमा सन्तुलन आवश्यक छ। यदि ‘स्टन्ट’ कामलाई समर्थन गर्ने माध्यम बन्यो भने सकारात्मक हुन्छ तर यदि कामकै विकल्प बन्न थाल्यो भने त्यो केवल प्रचारमा सीमित रहन्छ।

यसैले, सोफामा सुत्ने फोटोभन्दा महत्वपूर्ण कुरा के हो भने—देशको समस्या समाधान गर्न नेता कति “जागा” छन् भन्ने हो।

मदन बस्नेत, टोरन्टो।

प्रतिक्रिया