लुसिफर र लॆण्डुपको पोखरीबाट निस्किएको प्रशिक्षकसँग अपेक्षा

इनेप्लिज २०८२ चैत १७ गते २२:२५ मा प्रकाशित

नेपालमा भर्खरै महानिर्वाचन सम्पन्न भएको छ। परिणामले एउटा नयाँ दललाई भारी बहुमत प्राप्त भएको छ। कतै जनताको यो भारी मत दुरुपयोग त हुने होइन भन्न्रे आशंका पनि तेतिकै छ। तर निराशा भन्दा आशा धेरै जागेको छ। धेरै युवा समुहको बाहुल्यता देखिन्छ। यसले के पुष्टि गर्छ भने अब देशमा एउटा ठूलो उर्जा जम्मा भएको छ, जसले देशको लथालिङ्ग भताभुङ्ग अवस्था सुधार्नेछ र कानुनी राज्यको अवधारणा विश्व सामु प्रष्ट पार्ने छ। दण्डहिनताको अन्त्य गर्ने छ। रिस, आवेग र प्रतिशोधको सट्टा सकारात्मक सोचबाट देशको विग्रेको अवस्था सुधार गर्ने छ।

लामो समय देखि तमाम कानुनी राज र प्रजातन्त्रमा विस्वास राख्ने समुहहरुको चाहना थियो कि प्रजातन्त्रमा विस्वास राख्ने दलहरुले प्रजातान्त्रिक एकता कायम गर्छन र विश्व सामु आफुहरु प्रजातन्त्रवादी भएको उदाहरण प्रस्तुत गर्छन तर तेस्को बावजुदमा देशमा बामपन्थीदलहरुले एकता भएको चुनौती दिंदा समेत प्रजातन्त्रवादी दलहरु कानमा तेल हालेर तिनै दलसंग आफ्नु सिद्धान्त विपरित दलगत र व्यक्तिगत स्वार्थको लागि सत्तामा नै रहने परिपन्च भित्र देश लुटिरहेको अवस्थामा प्रजातन्त्रको पक्षका पक्षपोसक भनाउँदा दलहरुले देश र समाजको आवश्कता नबुझ्दा जनता आफै अग्रसर भएर आफै साक्षी बसेर एउटा प्रजातान्त्रिक दलको विकल्पमा आफ्नु मत जाहेर गरेर अर्को ऎतिहासिक प्रजातान्त्रिक दलको स्थापना गरिदिएका छन।

अब देशमा एउटा ठूलो उर्जा जम्मा भएको छ, जसले देशको लथालिङ्ग भताभुङ्ग अवस्था सुधार्नेछ

नेपालको इतिहासमा यो एउटा सुनौलो अवसर हो, जसले देशमा भएको चरम भ्रस्टचार, दण्डहिनताको अन्त्य गर्दै देशको अर्थतन्त्र र विग्रिएको विदेशनीतिको सुधार गर्ने छ। यी कार्यहरुमा हामी सबैको सहयोग र साथ यो दललाई हुनु पर्नेछ। राजनीतिक विचारहरु आ-आफना हुन्छन तर देश हितका विषयहरु सबैका एक हुनु पर्दछ। लामो समय देखि देशले प्रजातान्त्रिक एकता चाहेको थियो तर आज दल भन्दा माथी उठेर जनताले नै यो अभ्यासको लागि आफ्नु अभिमत दिएर देखाइदिएका छ्न। जनताले तपाईंहरुलाई देशको चालक बनाए पनि तपाईंहरु अछुत भने हुनुहुन्न। तपाईंहरु उपर गम्भिर प्रश्न पनि छ। सामाजिक संजाल वा सार्वजनिक बहसको विषय थियो कि तपाईंहरु देश प्रति इमान्दार हुनुहुन्न। विदेशी शक्तिहरुको इसारामा चल्नु भएको छ।

तेसैले तपाईंहरु उपर लुसिफर र लेण्डुप आरोप छ। लुसिफर एउटा वाइवलको पात्र हो जसलाई प्राय बुराइको प्रतिक वा प्रकाशको दुत भनिन्छ। यसलाई वाइबलमा शैतान वा दुष्ट शक्तिकोरुपमा समेत वर्णन गरिन्छ। लुसिफर एउटा धार्मिक र मिथकमा दुष्ट पात्र भएकोले आधुनिक समयमा पनि लुसिफर नाम दिएर नकारात्मक टिप्पणी गरिन्छ। लेण्डुप भन्ने नाम पुरानो स्वतन्त्र सिक्किम देशसंग जोडिएको छ, पछि स्वतन्त्र देश सिक्किम गाभिएर भारतको २२ औ राज्य कायम भएको छ। लेण्डुप एक व्यक्ति थिए जो भारतमा सिक्किम गाभिने निर्णय गर्दा सिक्किमको प्रतिनिधिसभामा अत्याधिक मत ल्याएर तत्कालिन सिक्किमको प्रधानमन्त्री भएका थिए र पछि सिक्किम भारतमा विलय गर्दा उनी नै शक्तिशाली प्रधानमन्त्री थिए।

उनको सकृयतामा संसदबाट सिक्किम भारतमा विलय गराउने प्रस्ताव भारी दुईतिहाई मतेले पारित भएको थियो। उनी नै स्वतन्त्र सिक्किम विलय गराउने मुख्य पात्र मानिन्छन तर विडम्बना सिक्किम विलय भै सकेपछि उनलाई भारतिय कुनै पनि नेताले भेट नदिएको बताइन्छ। नेपालको अहिलेको सन्दर्भमा एउटा प्रजातान्त्रिक दलको विकल्पकोरुपमा जन्मिएको दललाई काम गर्ने अवसर दिनु सबै प्रजातन्त्र र कानुनमा विस्वास राख्नेहरुको कर्तब्य हो। कम्युनिष्टहरुले आफ्नु सिद्धान्त छोड्यो काँग्रेसले प्रजातन्त्र र कानुनी राज भन्दा सत्ता प्यारो ठान्यो। सत्तामा बस्नलाई जस्तोसुकैसंग एकता गर्यो।

कम्युनिष्टहरुले आफ्नु सिद्धान्त छोड्यो काँग्रेसले प्रजातन्त्र र कानुनी राज भन्दा सत्ता प्यारो ठान्यो।

त्यसको परिणाम बैकल्पित प्रजातान्त्रिक दलको स्थापना भयो यो स्वागतयोग्य छ। तपाईंहरु देशको जटिल अवस्थालाई समाल्लं नयाँ उर्जा लिएर आउनु भएको छ। तपाईंहरुलाई सफल र प्रभावकारी कार्यकालको शुभकामना सहित नेपाल आमालाई चिरहरण गरिएका राष्ट्रिय अस्मितासंग जोडिएका निम्न कामहरु गर्नु भएमा तपाईंहरुलाई निर्वाचनको समयमा लागेका दागहरु स्वत आफै हट्नेछन।

१, सुडान काण्डमा भएको भ्रष्टचार :

वास्तवमा यो काण्ड भ्रष्टचार मात्र थिएन नेपालको इतिहासमा अन्तराष्ट्रिय जगतमा नेपाल आमालाई चिराहरण गरिएको पहिलो काण्ड थियो। त्यो काण्ड पछि अन्तराष्ट्रिय जगतमा नेपाल एउटा ठूलो भ्रष्ट मुलुकमा दरियो। यसको जलवन्त उदाहरण विश्वका धनि व्यक्ति इलन मक्सले सार्वजनिकरुपमा नेपाल जस्तो भ्रष्ट देशमा आफ्नु कुनै पनि कम्पनी दर्ता र कुनै लगानी नगर्ने सार्वजनिक गरे। नेपाल प्रहरी जसले जनधनको सुरक्षा गर्छ, देशमा शान्ती सुरक्षाको जिम्मा लिएर नेपाली जनताको सुरक्षामा खटिन्छ जसले नेपाल आमाको शिर सधै उच्च राख्छ। तेही विस्वासमा विदेशमा पनि शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको अनुभव र दक्षतालाई विदेशमा पनि उपयोग गर्न शान्ति मिसनमा नेपाल प्रहरीलाई अफ्रिकी देश सुडानमा अवसर दिइयो तर त्यसलाई दुरुपयोग गर्दै नेपालको गृह प्रशासन र नेपाल प्रहरीले अन्तराष्ट्रिय जगतमा प्रहरीको रासन लत्ता कपडा खरिदमा ठूलो भ्रष्टचार गर्यो। मिलेमतोमा आफ्नु सस्न्थाले गरेको भ्रष्टचार आफै अनुसन्धान गर्दै नेपाल प्रहरीले हदै सामान्य मुद्धा बनाइयो र राजनीतिक मिलेमतोमा अख्तियारलाई प्रयोग गरेर कानुनबाट छुटकारा पाउन औपचारिकताको लागि मात्र विशेष अदालतमा मुद्धा दायर गरियो।

सुडान घोटाला भएकोमा विवाद छैन। अनुसन्धानले घोटला देखाउँछ। अन्तरष्ट्रिय जगतले घोटाला भन्छ तर खोइ कारवाही!!

राजनीतिक सेटिङ्गमा नै अन्तराष्ट्रिय अपराधीहरुलाई सफाई दिने काम भयो। यो अनुसन्धान हदै गैह्र जिम्मेवार देखिन्छ। यो विषय भ्रष्टचार मात्र होइन। यो देशद्रोहको विषय हो। शान्ति सुरक्षा कायम गर्ने नेपाली जनताको भरोसा रहेको यो सस्न्थाले गरेको यो काम देश द्रोह हो। जापान, अमेरिका र चिन जस्ता देशमा यस्ता अपराध गर्नेहरुलाई फाँसीको(Death penalty) सजाय हुन्छ । तर नेपालमा राजनीतिक मिलेमतोमा मुध्द्दा कमजोर बनाइयो र सबै अपराधीलाई सफाइ दिइयो। यो सरकारले यो विषय फेरि अनुसन्धान गरोस र तत्कालिन गृहमन्त्री, गृह सचिव, संलग्न सबै प्रहरी उपर देशद्रोहको मुद्धा चलाएमा वालेन शाह उपर उठेको राष्ट्रियतासंग सम्बन्धित विषयले जनतालाई व्यवहारिक उत्तर दिनेछ। देशद्रोहको विषयमा हदम्याद पनि नहुने हुँदा नेपाल आमालाई विदेशी भूमीमा बलत्कार गर्नेहरु उपर पुन अनुसन्धान भएमा तपाईंहरुको राष्ट्र प्रेम बलियो हुनेछ। सुडान घोटाला भएकोमा विवाद छैन। अनुसन्धानले घोटला देखाउँछ। अन्तरष्ट्रिय जगतले घोटाला भन्छ तर खोइ कारवाही!! यो घटनाले यसको निष्पक्षतामा नेपालको न्याय प्रणाली र देशमा सुशासन दिने संस्था उपर अन्तराष्ट्रिय जगतमा प्रश्न छ त्यो प्रश्नको उत्तर दिनु जरुरी छ। पुन अनुसन्धान गरेर यो सरकारले देशलाई न्याय दिने कम गरोस।

२, भुटानी शरणार्थी काण्ड :

यो काण्डले पनि अन्तराष्ट्रिय जगतमा नेपालको अनुसन्धान प्रकृया र न्याय प्रणालीमा प्रश्न उठेको छ। अन्तराष्ट्रिय जगतमा नेपालीलाई मानव वेचविखन गरिएको छ। यो विषय नेपालमा मात्र सिमित छैन। हाम्रो आँखाले देखिरहेका छौं धेरै नेपालीहरु भुटानी शरणार्थीको नक्कली कागजात बनाएर अमेरिकामा बसोवास गरिरहेका छन । अन्तराष्ट्रिय जगतलाई नक्कली कागजात बनाएर ठगिएको छ। यो देशद्रोह हो। यसमा सामान्य कारवाही गरे जस्तो देखाए पनि यस भित्रका मुख्य व्यक्तिहरु उपर अनुसन्धान भएको देखिदैन। ठूलो आर्थिक कारोवारको अडियो भिडियो बाहिर आउँदा पनि मुख्य दोषी उपर कारवाही भएको छैन। यो सरकारले देशद्रोहमा पुन अनुसन्धान गरोस।

३ , पूर्वलडाकुको नाममा भएको घोटाला :

१० वर्षे माओवादी द्वन्द शान्ति प्रकृयामा प्रवेस गरेपछि संयुक्त राष्ट्र संघ मिसन नेपाल तथा संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि इयान मार्टिनको मध्यस्थतामा भएको माओवादी लडाकु समायोजनमा अरवौ रकम घोटाला भएको सबैलाई थाह छ। अन्तराष्ट्रिय जगतलाई प्रष्ट छ यो घोटालामा ठूलो भ्रष्टचार भएको छ। तत्कालिन माओवादीका नेता पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रमाण दिंदा पनि यो गम्भिर विषयमा अनुसन्धान भएन। यो विषय राष्ट्रिय विषय मात्र थिएन र होइन। अन्तराष्ट्रिय जगतलाई देशको नक्कली लडाकु खडा गरेर नेपालको स्वाधिनतामा प्रश्न उठाइएको छ। यो पनि भ्रष्टचारमा मात्र कारवाही सिमित राख्नु हुन्दैन। समाज, देश परिवर्तन र रुपान्तरणको नारा बोकेर आएको दल होइन व्यक्तिलाई देश द्रोहको कारवाही हुनु पर्दछ। माओवादी सिद्धान्त प्रतिकुल हुने यो भ्रष्टचार अन्तराष्ट्रिय जगतमा परिचित छ। यो घटनाको दोषीलाई देशद्रोहको अनुसन्धान र कारवाही हुनु पर्दछ। शान्ति सम्झौता राजनीतिक विषय भए पनि नक्कली लडाकु कायम गरि गरिएको आर्थिक अनियमिता भ्र्ष्टचार हो। र देशको स्वधिनता उपर अन्तराष्ट्रिय व्यक्ति वा सस्न्थासंगको मिलेमतोमा गरिएको यो काण्ड देशद्रोह हो।

४, विदेशमा बस्ने नेपालीहरुको नागरिकता खोस्ने कार्य देशद्रोहको कदम :

गएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र दलको भारि बहुमत ल्याउनमा विदेशमा बस्ने पिडित नेपालीहरुको हदै सम्मको सहयोग र सद्भाव रहेको छ। परम्परागत दलका नेताहरुको अक्रमणियता, घमण्ड र देश आफ्नु बिर्ता हो भन्ने भावनाले विदेशमा बस्ने नेपालीहरु आफ्नु जन्मभुमीले गरेको अन्याय प्रति धेरै दुखित मात्र थिएनन् पिडाले पिरोलिएको अवस्था थियो। स्वम राष्ट्रिय स्वतन्त्र दलका सभापति पनि पिडित हुनुहुथ्यो। वहाँको मुद्धा अझै सम्मानित सर्वोच्च अदालतमा विचाराधिन छ। नेपालको संविधानको भाग २ धारा १० उपधारा १ मा “कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बन्चित गरिने छैन” भन्ने व्यवस्था छ। नेपाली नागरिकबाट जन्मेको व्यक्ति संसारको जुनसुकै ठाउँमा बसे पनि उ नेपाली हुन्छ र उ नेपाली नागरिकता पाउनबाट बन्चित हुन सक्दैन भन्ने भावना यो धाराले प्रष्ट गरेको छ। तेही भागको धारा ११ उपधारा १ मा “यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरु नेपालको नागरिक हुने छन्” भन्ने व्यवस्था गरेको छ। यसको मतलव नागरिकता प्राप्त गरेको व्यक्तिको नागरिकता अजम्बरी देखिन्छ। उ जहाँसुकै रहे बसे पनि उसको नेपाली नागरिकता नत खारेज हुन्छ नत खारेज नै गर्न सकिन्छ। धारा ११ को उपधारा २ मा “यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थाई बसोवास भएको देहायको व्यक्ति बंसजको आधारमा नेपालको नागरिक ठहर्ने छ।

यहि धाराको उपधारा २ को खण्ड ‘क’ मा यो संविधान प्रारम्भ हुनु भन्दा अघि बन्सजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति र खण्ड’ ‘ख’मा कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने तेस्तो व्यक्ति भन्ने व्यवस्थाले प्रष्ट गरेको छ कि नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति र बंसजका सन्तानले स्वत नागरिकता प्राप्त गर्ने छन्। संविधानको भावना यो हो। संविधानको धारा १४ मा गैह आवासिय नेपाली नागरिकता प्रदान गर्न सकिने अर्को व्यवस्था अन्तर्गत विदेशी नागरिकता प्राप्त गरेको व्यक्तिलाई आर्थिक, सामाजिक र सास्कृतिक अधिकार उपयोग गर्न पाउने गरि नेपालको गैहआवासीय नागरिकता प्रदान गर्न सकिनेछ भन्ने काइते भाषा प्रयोग गरि आफ्ना बन्सज र जन्मसिद्ध नागरिकलाई परम्परावादी दलहरुले आफ्नु दलको स्वार्थको लागि विदेशमा बस्ने नेपालीहरुलाई ठूलो अन्याय गरेको देखिन्छ। गैरआवासीय नागरिकतासम्बन्धि व्यवस्था संविधानको धारा १० र ११ संग बाझिएको छ। संविधानको धारा १० र ११ नागरिकको नागरिकता पाउने मुलधारा हो। संविधानको धारा १४ स्वत खारेज हुनु पर्दछ। यो सरकारले यसमा ध्यान दिन जरुरी छ। परम्परावादी र अदुरदर्सी दलका मसियाहरुले विदेशमा बस्ने नेपालीहरुको आफ्नु जन्मभुमी प्रतिको नैसर्गिक र भावनात्मक सम्बन्धलाई टुक्रा टुक्रा पारेको अवस्थामा यो भारि बहुमतको सरकार बनाउन विदेशमा बस्ने यी भत्किएका मनहरुको पनि भावनात्मक सहयोग रहेको हुँदा आफ्ना नागरिकहरुलाई न्याय दिनु यो सरकारको बहुआदर्स कार्य हुनेछ र यसले नेपाल र नेपाली मनको सम्मान हुनेछ। एक पटक बंसजको आधारमा प्राप्त गरेको नागरिकता खारेज हुनु हुन्दैन र नेपालमा जन्मिएका व्यक्तिहरुले नेपाली नागरिकता पाउनु उनीहरुको नागरिक अधिकार हुनु पर्दछ।

आफ्ना नागरिकलाई नागरिकताबाट बन्चित गरेर नत देशलाई फाइदा छ नत विदेशमा बस्ने नेपालीहरुको नेपालप्रतिको गहिरो माया र भावना नै परिवर्तित गर्न सकिन्छ। संविधानको धारा १४ मा जे सुकै भनिए पनि आज विदेशमा बस्ने नेपालीहरुले एउटा बैंक खाता पनि खोल्न सक्ने अवस्था छैन। गैरआवासीय नेपाली नागरिकताको झन्झटले विदेशमा बस्ने नेपालीहरु आक्रान्त छ्न। आफ्नु जन्मभुमी प्रति बफादार यो ठूलो समुदायलाई यो भारी बहुमतको सरकारले संविधान संसोधन मार्फत न्याय गरोस भन्ने हामी विदेशमा बस्ने बहुसंख्यक समुहको आग्रह छ।

निर्वाचन हुनु पूर्व भारी बहुमत प्राप्त दल र दलका नेताहरुमा गरिएको राष्ट्रियताको शङ्का अब यो भारी बहुमतको सरकारेले हटाउनु पर्छ त्यो हटाउन सर्वप्रथम यी माथी छलफल गरिएका घोटालाहरुमा अनुसन्धान वा पुनअनुसन्धान गरि आफ्नु राष्ट्र र राष्ट्रियता उपर खेलवाड गर्ने व्यक्ति वा समूह उपर देशद्रोहको हदै सम्मको सजाय हुन पर्दछ। देशद्रोह के हो? देशद्रोह भन्नाले राज्यको सार्वभौमसत्ता, राष्ट्रिय एकता वा संवैधानिक व्यवस्था विरुद्ध विदेशी शक्ति वा शत्रुसंग मिलेर काम गर्नु हो। यी माथीका काण्डहरुमा यी तत्वहरु भेटिन्छन र नेपालको न्यायिक पारदर्सितामा गम्भिर प्रश्न छ। यी घटनाहरुमा संलग्नहरुलाई राज्यले कारवाही नगरेमा नेपालको न्यायीक प्रणाली उपर सधै प्रश्न रहने छ।

राष्ट्रवादी हुनको लागि विदेसीको नत कमेज समाउनु पर्दछ नत उनीहरुको विरोध आफ्नु राष्ट्र र जनताको हित नै राष्टृवाद हो। यी माथी उल्लेख गरिएका काण्डले देशको स्वाधिनता, अखण्डता , दण्डहिनता, पारदर्सिता, अनुशासन र कानुनको धज्जी उढाएको छ। यी काण्डहरुमा निष्पक्ष अनुसन्धान वा पुनअनुसन्धान भएमा तपाईंहरुलाई लागेको लुसिफर र लॆण्डुपको दाग स्वत समाप्त हुँदै जाने छ। यो सरकारको यो ठूलो अवसर हो। अन्तराष्ट्रिय जगतमा देशको प्रतिष्ठा डढाउने र नेपाल आमाप्रति बलत्कार गर्ने यी गम्भिर घोटाला जस्ताको तस्तै अनुसन्धान होस र यी देशद्रोहीहरु उपर हदै सम्मको सजाय होस। अनुसन्धानमा नेपाल सरकारलाई सहयोग चाहिएमा हामीसंग भएको ज्ञान, सिप, हाम्रो क्षमताले भ्याए सम्म देशको लागि निशुल्क सहयोग गर्न हामी तयार छौं। लुसिफर र लॆण्डुपको आरोपको पोखरीबाट निस्किएको यो प्रशिक्षकले देश र तीन करोड नेपालीलाई प्रशिक्षण गर्न सक्नु पर्छ र पौडिन सिकाउनु पर्छ । देशको राम्रो पौडि प्रशिक्षक भएर देश उन्नति र प्रगतिको बाटोमा पुर्याएको हेर्न हामी आतुर छौं। त्यो अवसर हामीलाई दिनुहोला!!

मोहन घिमिरे लेखक तथा कानुन व्यवसायी हुन!!

प्रतिक्रिया