
अमेरिकी केन्द्रीय कमान्डले शुक्रबार इरानका सैन्य ठेगानाहरूमा गरिएका श्रृङ्खलावद्ध आक्रमणहरूको एउटा नयाँ श्रब्यदृश्य (भिडियो) सार्वजनिक गरेको छ। अमेरिकी सैन्य कमान्डरहरूका अनुसार यी कारबाहीहरूले तेहरानको सैन्य शक्तिलाई उल्लेखनीय रूपमा कमजोर बनाउँदै लगेका छन्।
सेन्टकमका सेनापति ब्राड कुपरले सामाजिक सञ्जालमा प्रकाशन गर्दै भने, “इरानको सैन्य क्षमतामा लगातार ह्रास आइरहेको छ।”
सार्वजनिक गरिएको ‘अनक्लासिफाइड’ श्रब्यदृश्यमा ‘अपरेशन एपिक फ्युरी’ अन्तर्गत भएका कयौँ शक्तिशाली विष्फोटहरू र गुडिरहेका सैन्य लक्ष्यहरूमाथि सटीक प्रहार गरिएका दृश्यहरू देखाइएको छ।
यो कारवाही इरानी समर्थित समूहहरू र प्रत्यक्ष इरानी सैन्य संशाधनहरूलाई लक्षित गरी सञ्चालन भइरहेको छ।

अमेरिकी रक्षा बिभागका अनुसार, अमेरिकी सेनाले पछिल्लो समयमा इरानको क्षेप्यास्त्र प्रणाली, अत्याधुनिक मानव रहित यान र नौसैनिक क्षमतालाई ध्वस्त पार्ने उद्देश्यले हजारौँ पटक हवाई तथा जमिनी आक्रमणहरू गरिसकेको छ।
यी कारबाहीहरूले विशेष गरी लाल सागर र वरपरका क्षेत्रमा इरानको प्रभावलाई कम गर्ने रणनीति लिएका छन्।
सैन्य विश्लेषकहरूका अनुसार, सार्वजनिक गरिएको यो श्रब्यदृश्य (भिडियो)ले इरानलाई आफ्नो सैन्य रणनीतिमा पुनर्विचार गर्न दबाब दिनेछ।
अमेरिकाले आफ्नो र आफ्ना सहयोगी राष्ट्रहरूको सुरक्षाका लागि इरानका सामरिक केन्द्रहरूमाथिको दबाबलाई अझै निरन्तरता दिने संकेत दिएको छ। इरानले भने यस विषयमा हालसम्म कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन।
प्रतिक्रिया