इरान-अमेरिका युद्धको सन्त्रास: २०० अमेरिकी सैनिक घाइते, १० को अवस्था गम्भीर

अमेरिकी सेनाका १८० सैनिक उपचारपछि काममा फर्किए

इनेप्लिज २०८२ चैत ३ गते १०:५८ मा प्रकाशित

इरानसँग जारी युद्धका क्रममा अहिलेसम्म २०० जना अमेरिकी सैनिकहरू घाइते भएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डका प्रवक्ता सह-सेनानी टिम हकिन्सका अनुसार घाइतेमध्ये १० जनाको अवस्था निकै गम्भीर छ।

एबिसीन्यूजका अनुसार घाइते भएका २०० मध्ये १८० जना सैनिकहरू उपचारपछि निको भएर पुनः आफ्नो कर्तब्य (ड्युटी)मा फर्किसकेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार सैनिकहरूमा मुख्यतया आगोले पोलेको, टाउकोमा गम्भीर चोट लागेको र बमका छर्राहरूले शरीरमा चोट लागेको पाइएको छ।

अमेरिकी सेनाका प्रमुख जड्यान केनले जानकारी दिएअनुसार अधिकांश सैनिकहरू इरानले प्रयोग गर्ने ‘एकतर्फी आत्मघाती ड्रोन’ को आक्रमणबाट घाइते भएका हुन्।

यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको दूरवार्तामा अहिले नै युद्ध रोक्नका लागि वार्ता गर्ने पक्षमा इरान नरहेको बताएका छन् । राष्ट्रपति पेजेस्कियानले भने , “इरानले यो भयानक युद्ध सुरु गरेको होइन। जबसम्म हाम्रो भूमिमा हुने आक्रमणहरू पूर्ण रूपमा रोकिने प्रत्याभूति हुँदैन, तबसम्म युद्ध अन्त्यको कुरा गर्नुको कुनै अर्थ छैन।”

अर्कोतर्फ, विश्वका शक्तिशाली राष्ट्रहरू क्यानडा, फ्रान्स, जर्मनी, इटाली र बेलायतले एक संयुक्त विज्ञप्ति जारी गर्दै इजरायल र लेबनानको हेजबुल्लाहबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सर्वसाधारणमाथि भइरहेको आक्रमणको निन्दा गर्दै तत्काल युद्ध कम गर्न र राजनीतिक समाधान खोज्न अपिल गरेका छन्।

प्रतिक्रिया