अमेरिकामा बालबालिकाको खोप तालिका फेर्ने प्रयासलाई अदालतद्वारा अस्थायी रोक: स्वास्थ्य सचिव रोबर्ट आरकेएफ जुनियरलाई झड्का

इनेप्लिज २०८२ चैत ३ गते ०:०३ मा प्रकाशित

अमेरिकाको म्यासाचुसेट्सका एक न्यायाधीशले बालबालिकाको खोप तालिकामा परिवर्तन गर्ने स्वास्थ्य सचिव रोबर्ट एफ. केनेडी जुनियरको निर्णयलाई अस्थायी रूपमा रोकिदिएका छन्।

चिकित्सा क्षेत्रका विभिन्न संस्थाहरूले सरकारको यो कदमले बालबालिकाको स्वास्थ्य जोखिममा पार्ने भन्दै मुद्दा दायर गरेका थिए।

अमेरिकी स्वास्थ्य सचिव केनेडीले सिफारिस गरिएका १७ वटा खोपहरूलाई घटाएर ११ मा झार्ने निर्णय गरेका थिए, जसलाई न्यायाधीशले अहिलेलाई रोक लगाइदिएका छन्।

केनेडीले पुराना सबै विशेषज्ञहरूलाई हटाएर आफ्ना १३ जना मान्छेहरूलाई खोप सल्लाहकार समितिमा नियुक्त गरेका थिए। न्यायाधीशले ती सबै नियुक्तिहरूलाई पनि निलम्बन गरिदिएका छन्।

नयाँ समितिले हेपाटाइटिस ‘बी’ र दादुरा जस्ता रोगका खोपहरूका बारेमा गरेका परिवर्तनहरूलाई पनि अदालतले अमान्य घोषित गरिदिएको छ।

न्यायाधीश ब्रायन मर्फीले आफ्नो फैसलामा लेखक छन् ,खोप सम्बन्धी निर्णय गर्ने एउटा खास वैज्ञानिक र कानुनी तरिका हुन्छ । सरकारले ती सबै नियमहरूलाई बेवास्ता गरेर काम गरेको हुनाले यी निर्णयहरू कानुनी रूपमा गलत छन्।

अमेरिकी बाल रोग विशेषज्ञहरूको संस्थाले यस फैसलाको स्वागत गरेको छ। उनीहरूका अनुसार यो निर्णयले बालबालिकाको स्वास्थ्यमा खेलबाड हुनबाट बचाएको छ र विज्ञानको जित भएको छ। चिकित्सकहरूले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई कुन खोप लगाउने भन्नेबारेमा सधैं विशेषज्ञ चिकित्सक सँग सल्लाह लिन आग्रह गरेका छन्।

ट्रम्प प्रशासनले यस फैसलाको विरुद्धमा पुनरावेदन अदालत जान सक्ने एबिसीन्यूजले जनाएको छ । हाललाई सरकारले तोकेको खोप सम्बन्धी बैठकहरू स्थगित गरिएका छन्।

प्रतिक्रिया