
हलिउडको सबैभन्दा ठूलो र प्रतिष्ठित पुरस्कार ‘९८औं एकेडेमी अवार्ड’ (ओस्कर २०२६) आइतबार राति लस एन्जलसको डल्बी थिएटर(‘समारोह स्थल’)मा भव्य रूपमा सम्पन्न भयो।
यस वर्षको ओस्करमा ‘वान ब्याटल आफ्टर एदर’ नामक चलचित्रले सबैभन्दा ठूलो सफलता हात पारेको छ। यसले वर्षको ‘सर्वोत्कृष्ट चलचित्र’ को उपाधि जितेको छ।
यस चलचित्रका निर्देशक पल थोमस एण्डरसनले ‘सर्वोत्कृष्ट निर्देशक’ को ओस्कर जिते। अभिनयतर्फ, चलचित्र ‘सिनर्स’ का लागि माइकल बी जोर्डनले ‘सर्वोत्कृष्ट अभिनेता’ को अवार्ड प्राप्त गरे भने, चलचित्र ‘ह्याम्नेट’ बाट जेसी बक्लीले ‘सर्वोत्कृष्ट अभिनेत्री’ को उपाधि चुमिन्।
सहायक भूमिकातर्फ सिन पेनले ‘वान ब्याटल आफ्टर एदर’ का लागि ‘सर्वोत्कृष्ट सहायक अभिनेता’ र एमी म्याडिगनले ‘वेपन्स’का लागि ‘सर्वोत्कृष्ट सहायक अभिनेत्री’ को अवार्ड जितेका छन्।
यस पटकको ओस्करमा एउटा नयाँ इतिहास पनि रचिएको छ। सन् २००१ पछि पहिलो पटक ओस्करमा नयाँ विधा ‘बेस्ट कास्टिङ’ अर्थात् उत्कृष्ट कलाकार छनोट थपिएको थियो । यो विधाको पहिलो ऐतिहासिक पुरस्कार पनि ‘वान ब्याटल आफ्टर एदर’ ले नै हात पार्यो।
यस वर्षको समारोहलाई चर्चित हास्यकलाकार अर्थात् कमेडियन कोनान ओ’ब्रायन ले संचालन गरेका थिए। उनले लगातार दोस्रो वर्ष यो कार्यक्रम आतिथ्यता गरेका हुन्। कार्यक्रमको प्रत्यक्ष प्रसारण एबीसी च्यानल र हुलु मार्फत संसारभर गरिएको थियो।
अन्य केही मुख्य विजेताहरूमा ‘के-पप डेमन हन्टर्स’, ‘अवतार, ‘मिस्टर नोबडी एगेन्स्ट पुटिन’ ,नर्वेको ‘सेन्टिमेन्टल भ्यालु’ लगायत रहेका थिए ।
यसरी यस वर्षको ओस्करमा ‘वान ब्याटल आफ्टर एदर’ र ‘सिनर्स’ जस्ता चलचित्रहरूको वर्चस्व रह्यो। नयाँ कलाकारको प्रवेश र पुराना दिग्गजहरूको पुनरागमनले यो वर्षको पुरस्कार समारोह निकै रोचक बन्यो।
प्रतिक्रिया