राष्ट्रपति ट्रम्प र बेलायती प्रधानमन्त्रीबीच आपत्कालीन वार्ता

समुद्री मार्ग बन्द हुँदा विश्व अर्थतन्त्रमा खतरा: समाधानको खोजीमा विश्व नेताहरू

इनेप्लिज २०८२ चैत १ गते २१:१२ मा प्रकाशित

बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दूरवार्ता गरेका छन् । उनिहरूबीच ”स्ट्रेट अफ हर्मुज’ अर्थात् जलडमरुमा देखिएको पछिल्लो गम्भीर अवस्थाका बारेमा छलफल भएको छ।

हर्मुज जलमार्ग विश्वको सबैभन्दा व्यस्त समुद्री बाटोमध्ये एक हो। यहाँबाट ठूलो मात्रामा तेल र ग्यास ढुवानी हुन्छ। हाल यस जलमार्गमा उत्पन्न अवरोधका कारण विश्वभरि नै सामान ढुवानीमा समस्या भइरहेको छ, जसले गर्दा हरेक देशमा सामानको मूल्य (महँगी) बढिरहेको छ।

राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री स्टार्मरले यो बाटोलाई जतिसक्दो चाँडो पुनः खुलाउनु पर्ने आवश्यकतामा जोड दिएका छन् ।

कुराकानीका क्रममा प्रधानमन्त्री स्टार्मरले द्वन्द्वका कारण ज्यान गुमाएका अमेरिकी सैनिकहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। दुवै नेताहरू यस विषयमा निरन्तर सम्पर्कमा रहने कुरामा सहमत भएका छन्।

यसैगरी, प्रधानमन्त्री स्टार्मरले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि आइतबार कुराकानी गरेका छन् । उनिहरूले पनि मध्यपूर्वको वर्तमान तनाव र हर्मुज जलमार्ग बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापारमा परेको असरका बारेमा छलफल गरेका हुन् । यी दुई नेताहरूले यस समस्याको थप समाधान खोज्न भोलि थप छलफल गर्ने सहमति जनाएका छन्।

स्मरण रहोस्, राष्ट्रपति ट्रम्पले शनिबार नै बेलायत लगायतका मित्र राष्ट्रहरूलाई हर्मुज जलमार्गमा देखिएको यो संकट समाधान गर्न सहयोगका लागि अगाडि आउन आग्रह गरेका थिए ।

प्रतिक्रिया