
नियात्रा साहित्यमा सक्रिय कलम चलाउँदै आएका पशुपति घिमिरेको नवीनतम कृति ‘तीन महादेशका केही तरङ्ग’ सार्वजनिक भएको छ । शनिवार राजधानीमा सम्पन्न एक समारोहमा प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, विश्व साइकलयात्री एवं नियात्राकार पुष्कर शाह, समीक्षक राजकुमार बानिया, कवि प्रल्हाद पोखरेल, प्रकाशक पुष्पराज पौडेल, निबन्धकार कुमारी लामा र लेखक घिमिरेले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा.डा. भट्टराईले सिर्जना कहिल्यै पूर्ण नहुने बताए, भने — ‘यो यस्तो यात्रा हो, जसमा श्रष्टाले जीवनभर नयाँ–नयाँ पर्वत चढिरहनुपर्छ ।’ डायस्पोरिक लेखनमा परिचित नाम बनाइसकेका घिमिरेको सरल तर मनोवैज्ञानिक प्रभाव पार्न सक्ने भाषाशैलीले यस कृतिलाई विशिष्ट बनाएको उनको भनाइ थियो । यस्ता कलात्मक निबन्धहरू नेपाली साहित्यमा विरलै पढ्न पाइने उल्लेख गर्दै उनले घिमिरेका भावी कृतिप्रति पनि अग्रिम शुभकामना दिए।

समीक्षक राजकुमार बानियाले पुस्तकको कवितात्मक भाषाशैली यसको विशेष पक्ष भएको बताए । अनुभवबाट खारिएका यी नियात्राले पाठकको भित्री संवेदनालाई छुन सक्ने क्षमता राख्ने उनको मत थियो । सो सङ्ग्रहमा जीवनचेतका मार्मिक बिम्बहरू समेटिएको पनि उनले बताए ।

विश्व साइकलयात्री पुष्कर शाहले यस कृतिले जादु जस्तै घुमफिरको चाहना जगाउने बताए। जीवनदर्शन र भौतिक विज्ञानजस्ता गहन विषयलाई समेत सहज ढङ्गले पाठकसमक्ष पुर्याउनु घिमिरेको काव्यिक प्रतिभाको प्रमाण भएको उनको भनाइ थियो ।

लेखक पशुपति घिमिरेले यस्ता विशिष्ट साहित्यकर्मीहरूको बीचमा आफ्नो कृतिको लोकार्पण हुनु आफ्नो लागि विशेष क्षण भएको बताए । कार्यक्रममा लेखक अनिता कोइराला, नियात्राकार राजेन्द्रमान डङ्गोल, लेखक नारायण नेपाल, सम्पादक पारस नेपाल, पत्रकार ओमआस्था राई, नरेन्द्र रौले लगायत करिब चार दर्जन साहित्यप्रेमीको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन सीता रिजालले र स्वागत प्रकाशक पुष्पराज पौडेलले गरेका थिए ।
प्रतिक्रिया