
अमेरिकाको भर्जिनिया राज्यमा रहेको ओल्ड डोमिनियन विश्वविद्यालयमा बिहीबार एक दुःखद गोलीकाण्ड भएको छ। सिबिएसन्यूजले जनाए अनुसार यस घटनामा एक व्यक्तिको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। संघीय अनुसन्धान ब्युरो (एफबिआई) ले यस घटनालाई आतंकवादी हमलाको रूपमा अनुसन्धान गरिरहेको छ।
आक्रमणकारीको पहिचान भएको छ भने उनि ३६ वर्षीय मोहम्मद बेलोर जल्लोहका भएको पुष्टी गरिएको छ । उनी भर्जिनियाको राष्ट्रिय बल (नेसनल गार्ड
)का पूर्व सदस्य हुन्। सन् २०१६ मा उनले आतंकवादी समूह ‘आईएसआईएस’लाई सहयोग गर्न खोजेको स्वीकार गरेका थिए, जसका लागि उनले कारागार सजाय पनि भोगेका थिए। उनी सन् २०२४ को डिसेम्बरमा जेलबाट छुटेका थिए।
उनी विश्वविद्यालयको ‘कन्स्ट्यान्ट कक्ष ‘ मा रहेको एउटा कक्षाकोठामा प्रवेश गरेका थिए। उनले त्यहाँ सैन्य तालिमको कक्षा हो वा होइन भनि सोधेका थिए । जब कसैले हो भनेर जवाफ दियो, उनले अन्धाधुन्ध गोली चलाए। यसबाट एक जना प्रशिक्षकको मृत्यु भयो। अधिकारीहरूका अनुसार, आक्रमण गर्नुअघि उनले धार्मिक नारा लगाएका थिए।
तर, ठूलो क्षति हुनबाट जोगियो किनकि कक्षाकोठामा रहेका विद्यार्थीहरूले असाधारण साहस देखाए। उनीहरूले आक्रमणकारीलाई पक्राउ गरेर नियन्त्रणमा लिए, जसका कारण आक्रमणकारीको घटनास्थलमै मृत्यु भयो। यस काममा प्रहरीको द्रुत प्रतिक्रिया र विद्यार्थीहरूको बहादुरीले थप मानिसहरूको ज्यान बचाएको छ।
अहिले घाइते दुई जनाको उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। विश्वविद्यालयले यस घटनापछि केही दिनका लागि सबै कार्यक्रमहरू बन्द गरेको छ र विद्यार्थीहरूलाई आवश्यक परामर्श सेवा दिइरहेको छ।
प्रतिक्रिया