घरेलु हिंसा विरुद्ध एकजुट बनौँ: भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा विशेष सचेतना कार्यशाला हुँदै

चुप नबसौँ, आवाज उठाऔँ: घरेलु हिंसा चिन्न र रोकथाम गर्न सिक्ने एउटा सुनौलो अवसर

इनेप्लिज २०८२ फागुन २७ गते ०:१० मा प्रकाशित

भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीमा घरेलु हिंसा विरुद्ध विशेष सचेतना कार्यशाला गोष्ठी हुने भएको छ ।

हाम्रो समाजलाई सुरक्षित र हिंसारहित बनाउनका लागि फेयरफ्याक्स काउन्टीले एक महत्त्वपूर्ण कदम चालेको हो ।

फेयरफ्याक्स काउन्टी स्वास्थ्य विभाग पारिवारिक सेवा विभाग र टेन्डर हार्ट्स फाउन्डेसनको संयुक्त पहलमा आगामी मार्च १५, २०२६ का दिन ‘घरेलु हिंसा सम्बन्धी कार्यशाला’ आयोजना हुने भएकोले नेपाली समुदायलाई सहभागी हुन् आह्वान गरिएको छ ।

घरेलु हिंसा भनेको घरभित्रै आफ्नै परिवारका सदस्य वा नजिकका व्यक्तिबाट हुने शारीरिक, मानसिक वा भावनात्मक दुर्व्यवहार हो। धेरैजसो अवस्थामा पीडितहरू डराएर वा लाज मानेर चुपचाप सहने गर्छन्। यही मौनतालाई तोड्न र समाजमा सचेतना फैलाउन यो कार्यक्रम आयोजना गरिएको हो।

यो कार्यशालामा सहभागीहरूलाई घरेलु हिंसाका लक्षणहरू कसरी चिन्ने र यसलाई कसरी रोक्ने भन्नेबारे उपयोगी उपाय र रणनीतिहरू सिकाइनेछ। साथै, हिंसाबाट पीडित भएका व्यक्तिहरूका लागि समाजमा उपलब्ध विभिन्न सरकारी र सामाजिक सेवा तथा स्रोतहरूको बारेमा पनि विस्तृत जानकारी दिइनेछ।

कार्यक्रमको विवरण:

मिति: मार्च १५, २०२६ (आइतबार)
समय:बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म
स्थान:सेन्टरभिल रिजनल लाइब्रेरी, कोठा नम्बर १ (Centreville Regional Library – Room 1)
ठेगाना:14200 St Germain Dr, Centreville, VA 20121

हिंसा सहनु र हिंसा हेरेर चुप बस्नु दुवै गलत हो। यदि हामीले समयमै यस्ता घटनालाई चिन्न सक्यौँ भने कसैको ज्यान जोगाउन र एउटा परिवारलाई टुट्नबाट बचाउन सक्छौँ। यो कार्यशालाले हामीलाई अरूको मद्दत गर्न सक्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बनाउनेछ।

थप जानकारीका लागि:

यदि तपाईसँग यस कार्यक्रमबारे कुनै प्रश्न भएमा वा थप जानकारी चाहिएमा प्रभा देउजालाई ५७१-३३१-५४१२ मा सम्पर्क गर्न सक्नुहुन्छ। साथै वेबसाइट(संजालस्थल) fairfaxcounty.gov/health मा गएर पनि थप विवरण हेर्न सकिन्छ।

आउनुहोस्, हामी सबै मिलेर हिंसा विरुद्धको यो अभियानमा सहभागी बनौँ र एउटा शान्त र मायालु समाजको निर्माण गरौँ!

प्रतिक्रिया