ल्याप्चे

ईश्वर पोखरेल २०८२ फागुन २६ गते २१:१९ मा प्रकाशित

लघुकथा

सरले राम्रै पढ्नु भएछ । तर क्याम्पसमा नियुक्ति लिने सवालमा अध्यक्षज्यूकै भतिजोसंग घम्साघम्सी परेछ । घम्साघम्सीमा पराजय स्वीकार्ने तहमै पुगेको बेला कसैले प्रस्ताव राखेछ– “म पहल गर्छु । तर नियुक्तिपछि हाम्रो पार्टीको सदस्यता लिनु पर्छ ।”

सरले सोच्नु भएछ – ‘क्याम्पस पढाउन योग्यताले मात्र नपुग्ने रहेछ; सदस्यताको टेको लगाउनु पर्ने रहेछ ।’ फेरि सोच्नुभएछ– ‘जागिर/जीविकाको कुरा । सदस्यता लिदैंमा त के फरक पर्छ !’
सरले टेको स्वीकार्नु भएछ ।

तर टेको जता गए पनि ठिङ्ग उभिने र योगदान खोज्ने : लबी तिर्नु पर्ने; पार्टीको पक्ष लिनु पर्ने; जुलुसमा जानु पर्ने; पार्टी मिटिङमा जानु पर्ने ।

पार्टीका हाकिमहरूमध्ये कोही आठ पढ्दापढ्दै बीचैमा छाडेका; कोही क्याम्पसको मुखसम्म देखेका ।

पार्टीमा उहाँको ¥याङ्क चै निहुरिएर हेर्नु पर्ने ।

एक दिन सरले दिक्क भएर टिठलाग्दो अनुहारमा साथीलाई भन्नुभएछ– “तिमी जाऊ, यार! म तिम्रो क्लास पनि लिई दिन्छु बरु । मलाई यो पार्टीको मिटिङमा जानलाई कर नगर ।”

पढ्दा स्कुलमा सर सधैं फस्ट; क्याम्पसमा पनि राम्रो स्तर; राम्रै स्कोर ल्याएर विश्वविद्यालयको पढाइ सक्नुभएको ।

पार्टीले यसरी जोतेछ : लेथ्नु बनाएर जोतेछ ।
जोतिन राजी भएपछि– जान्नका लागि पढ्नु; पढाउने तयारी गर्नु; आफ्नो विषयक्षेत्रमा अप टु डेट रहनु : केही नपर्ने ।

कार्यालयमा प्रवेश गर्दा परिचय खुलाउनु पर्ने रहेछ ।

थोरै आक्रोश र केही विद्रोहसहित सरले भन्नु भो– “नाम लेखिदेऊ; यार! म ल्याप्चे लगाउँछु ।”

प्रतिक्रिया