नारी टुक्का कविता सङ्ग्रहकाे लाेकार्पण गर्दै अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो

इनेप्लिज २०८२ फागुन २४ गते २२:३७ मा प्रकाशित

सिलगढी ८ मार्च,

११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको पावन अवसरमा सिलगढीको बराल बगैँचा एउटा भिन्नै साहित्यिक सुगन्धले बासिएको थियो । दार्जिलिङ टुक्का साहित्य समाजको आयोजनामा सम्पन्न उक्त विशेष समारोह नेपाल र भारतका नारी स्रष्टाहरूको भावनात्मक मिलनविन्दु बन्यो । कार्यक्रमको केन्द्रविन्दुमा थियो ‘नारी टुक्का कविता संयुक्त सङ्ग्रह’ को लोकार्पण, जसलाई समाजसेवी एवं गायिका रोजी राईको मुख्य आतिथ्य र साहित्यकार विष्णु थापाको अध्यक्षतामा भव्यताका साथ सार्वजनिक गरियो । विशिष्ट अतिथिहरू अर्जुन शर्मा निरौला, पत्रकार हरिप्रसाद शर्मा ‘आत्रेय’ र आशा गुरूङ लगायतका व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको अनावरण गर्दा हलमा उपस्थित साहित्यप्रेमीहरूमा एउटा छुट्टै उत्साह सञ्चार भएको थियो ।

​यो संयुक्त सङ्ग्रहले भौगोलिक सीमानालाई शब्दको माध्यमबाट मेटाउने प्रयास गरेको देखिन्छ । भारतका तर्फबाट हन्नाह छेत्रीको कुशल संयोजनमा तयार पारिएको यस कृतिमा दार्जिलिङका ८ र नेपालका २८ गरी कुल ३६ जना नारी टुक्काकारका उत्कृष्ट सिर्जनाहरूले स्थान पाएका छन् । एउटै मञ्चमा दुई देशका नारी संवेदना र भोगाइहरूलाई टुक्का कविता विधाका चोटिला हरफहरूमा उनेर प्रस्तुत गर्नु यस कृतिको मुख्य विशेषता हो । कार्यक्रमको वातावरण तब झनै सजीव बन्यो, जब स-साना बाल टुक्काकारहरू कुशल विश्वकर्मा र करूणा विश्वकर्माले आफ्ना कलिला तर तिखा सिर्जनाहरू वाचन गरेर सबैलाई अचम्मित पारे ।

{“fte_image_ids”:[],”remix_data”:[],”source_tags”:[],”source_ids”:{},”source_ids_track”:{},”origin”:”unknown”,”total_draw_time”:0,”total_draw_actions”:0,”layers_used”:0,”brushes_used”:0,”photos_added”:0,”total_editor_actions”:{},”tools_used”:{“crop”:1},”is_sticker”:false,”edited_since_last_sticker_save”:true,”containsFTESticker”:false}

​साहित्यिक वाचनको क्रमलाई अगाडि बढाउँदै नारी टुक्काकारहरू रमा गुरूङ, बिबा तामाङ, हन्नाह छेत्री, सरोजा बान्तवा ‘पीयूष’, अम्बिका राणा, सरस्वती शर्मा र शान्ति भूजेलले समसामयिक विषय र नारी अस्तित्वका विविध आयाममाथि आफ्ना टुक्काहरू प्रस्तुत गर्नुभयो । शब्दको यो गम्भीरतालाई थप उचाइ दिन साहित्यकार रमेश दाहाल ‘अपजसे’ र निमा तामाङले आफ्ना कविता र गजलका दानाहरू पस्किँदा हलमा एउटा शुद्ध साहित्यिक माहोल सिर्जना भएको थियो । कार्यक्रममा सङ्गीतको पनि सुमधुर समिश्रण पाइन्थ्यो । गायक योन्टेन भोटिया, सरस्वती शर्मा र स्वयम् मुख्य अतिथि रोजी राईका गीतहरूले उपस्थित सहभागीहरूलाई मन्त्रमुग्ध तुल्याउँदै कार्यक्रममा मनोरञ्जनको रङ भरेका थिए ।

​मुख्य अतिथिको आसनबाट बोल्दै रोजी राईले समाजको सर्वाङ्गीण विकासमा नारीको भूमिका र अधिकारका बारेमा निकै गम्भीर मन्तव्य राख्नुभयो । उहाँले टुक्का कविताजस्तो संक्षिप्त तर शक्तिशाली विधाले नारी सशक्तिकरणमा पुर्‍याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । हन्नाह छेत्री र सरोजा बान्तवा ‘पीयूष’ को सक्रिय संयोजन तथा रमेश दाहाल ‘अपजसे’ को रोचक सञ्चालनमा सम्पन्न भएको यो कार्यक्रमले नारी दिवसलाई सिर्जनात्मक उत्सवको रूपमा स्थापित गरिदियो । यसरी साहित्य र सङ्गीतको अनुपम सङ्गमबीच सम्पन्न भएको यो समारोहले नेपाली साहित्यको आकाशमा एउटा नयाँ इँटा थप्दै नारी स्रष्टाहरूको एकता र सामर्थ्यलाई पुनः पुष्टि गरेको छ ।

प्रतिक्रिया