अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना !

इनेप्लिज २०८२ फागुन २४ गते १:१३ मा प्रकाशित

हरेक वर्षकाे मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस श्रमिक महिलाको एकता ,वीरता र संघर्ष ” को प्रतिककाे रुपमा विश्वभर मनाइन्छ । यस वर्ष “सबै महिला र बालबालिकाको लागि अधिकार,न्याय र कार्यसहितको अवसर ! “

( ” Right, Justice,Action. For all women and girls.”) भन्ने मूल नाराका साथ ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ ।

श्रमिक महिला दिवस (International Women’s Day) को शुरुवात लगभग सन् १९०० को औद्योगिक क्रान्तिको समयमा मजदुर महिलाहरूको अधिकार, समान ज्याला, कामको छोटो समय र मताधिकारका लागि भएको संघर्षबाट सुरुवात भएको हो। सन् १९०८ मा अमेरिकाको न्यूयोर्कमा हजारौं महिला मजदुरहरूले लामो समय काम, कम ज्याला र खराब अवस्थाविरुद्ध प्रदर्शन गरे। सन् १९१० मा कोपनहेगनमा भएको अन्तर्राष्ट्रिय समाजवादी महिला सम्मेलनमा क्लारा जेटकिनले समान कामको समान ज्याला र महिला माथि हुने विभेद विरुद्ध कानुन बनाउने विषयसहित आठ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउन प्रस्ताव राखिन् । प्रस्तावलाई अन्तर्राष्ट्रिय ले समर्थन जनायो। सन् १९११ देखि मार्च ८ लाई अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालियो। सन् १९७७ मा संयुक्त राष्ट्रसंघले यसलाई औपचारिक रूपमा मान्यता दियो। यो दिवस महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिको उत्सव मात्र नभई लैङ्गिक समानता र न्यायका लागि निरन्तर संघर्षको प्रतीक हो।

नेपालमा मजदुर आन्दोलनको इतिहास लामो र गौरवपूर्ण छ। मजदुर आन्दोलनको जस्तै महिला आन्दोलनको पनि संघर्ष ,बलिदान र एकताको इतिहास पनि लामो छ।वि स २००७ , २०४६ र २०६२/०६३ काे आन्दोलन र विभिन्न समयमा भएका आन्दोलनहरुमा महिला र पेशागत आन्दोलनका श्रमिक महिला मजदुरहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन ।

पेसागत क्षेत्रमा पेसागत महासंघ नेपालकाे नेतृत्वमा श्रमिक महिलाहरुकाे समान ज्याला, मातृत्व सुरक्षा, कार्यस्थलमा यौन हिंसा विरुद्ध नीति, बालश्रम उन्मूलन र संगठित हुने अधिकारका लागि लामो संघर्ष गर्दै स्थापित गरेको इतिहास ताजै छ।

नेपालका श्रमिक महिलाहरुले अधिकार प्राप्तिकालागि विभिन्न क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्याएका छन्। महिला अधिकार प्राप्तिका लागि भएका संघर्ष आन्दोलनमा धेरैले ज्यान गुमाए, घाइते भए,बच्चा च्यापेर, परिवारबाट एक्लिएर श्रम बेचे।कार्यस्थलको कामसहित अधिकारको आन्दोलनमा पनि पुरुष सरहको सहभागीता जनाए।

यही संघर्ष बलिदान र एकताले संविधानमा महिला हक, श्रम सम्बन्धि हक र श्रम ऐनमा न्यूनतम ज्याला वृद्धि, महिला आरक्षण र लैङ्गिक समानताका नीतिहरूको व्यवस्था गर्न संभव भएको हाे । तर आज पनि असंगठित क्षेत्रमा काम गर्ने बहुसंख्यक महिला श्रमिकहरु दोहोरो–तेहराे शाेषणबाट गुज्रिरहेका छन्।

विश्वमा महिलाहरूले विश्वका गरिबहरूको ७०% भन्दा बढी प्रतिनिधित्व गर्छन्। तिनीहरू औषतमा पुरुषहरूभन्दा बढी बाच्छन,बढी नै श्रम गर्दछन र लगभग २०% कम कमाउँछन् ।तर अनिश्चित र कम संरक्षित क्षेत्रहरूमा पर्दछन्। तिनीहरूलाई ६०% भन्दा बढी अवैतनिक काममा लगाइने गरेको छ। यसले व्यक्तिगत तथा सामाजिक प्रजननमा असर पुगेको छ।

विश्वमा देखिएको गिर्दो अर्थतन्त्रमा युद्धको प्रभावले अझै गिरावट ल्याएको छ। अर्थतन्त्रले हतियार उद्योग र ठूला एकाधिकार शक्तिराष्ट्रलाई समृद्ध बनाएकाे छ ।यसको प्रत्यक्ष असर लाखौं महिला, गरिबी, बेरोजगारी र अनिश्चिततामा बाच्न बाध्यहरुको जीवनशैलीमा परेको छ। सार्वजनिक स्वास्थ्य, शिक्षा, कल्याण र श्रमको अवसरको अधिकारहरू भत्काउँदै छन्।विश्वभर सैन्य र आणविक खर्च बढ्दै गएको छ। यसरी विश्व साम्राज्यवाद र पूंजीवादले गरेको युद्ध ,हत्या ,हिंसा ,आतंक र शाेषणका विरुद्ध एकताबद्ध संघर्षको अझै आवश्यकता छ।

सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका श्रमिक महिलाहरुको संघर्ष, बलिदान र एकता सत्य कथाको प्रतिकको रुपमा चिनिएको यो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वका महिलाहरुको अधिकार प्राप्तिको ऐतिहासिक दिन हो । यो दिवसको माध्यमबाट नेपाली महिलाले पनि लगभग एक शताब्दी अघिदेखि गरेको संघर्ष र बलिदानकाे स्मरण गर्न पर्छ। यो संघर्ष र बलिदानबाट महिलाहरुकाे हक हित र समानतासँग सम्बन्धित अधिकारहरु संविधान र कानुनमा व्यवस्था भएको छ। अब यि अधिकारहरुकाे प्रभावकारी कार्यान्वयनका लागि एकताबद्व हुदै अगाडि बढन आवश्यक छ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले हामी श्रमिक महिलाहरु विच अझ एकताबद्व हुदै पितृसत्तात्मक समाजको शाेषणकाे अन्त्य गरि लैंगिक समानता,समान अवसर र मर्यादित घरायसी तथा अन्य काम तथा पारिश्रमिक प्राप्त गर्ने वातावरण बनोस् । सम्पूर्ण श्रमिक महिला दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

सीता ओझा !

प्रतिक्रिया