
मध्यपूर्वको बढ्दो तनावका बीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सम्भावित युद्ध वा कारबाहीमा कुर्द लडाकुहरूलाई सामेल नगर्ने निर्णय सुनाएका छन् । राष्ट्रपतिको बिशेष बिमान (एयर फोर्स वन)मा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले यस विषयमा आफ्नो स्पष्ट धारणा राखे ।
क्षेत्रमा सक्रिय रहेका कुर्द लडाकु समूहहरूले इरानको वर्तमान सरकारलाई सत्ताबाट हटाउनका लागि अमेरिकालाई सघाउन आफूहरू तयार रहेको इच्छा देखाएका थिए। तर, राष्ट्रपति ट्रम्पले यो प्रस्तावलाई अस्वीकार गरे । उनले भने , “कुर्द लडाकुहरूलाई सामेल गर्दा यो युद्ध पहिले नै भन्दा धेरै जटिल बन्नेछ, जुन हामी चाहँदैनौँ।” उहाँका अनुसार, मध्यपूर्वको अवस्था पहिले नै निकै पेचिलो छ, त्यसैले त्यसमा थप पक्षहरूलाई जोड्नु थप समस्याको जड बन्न सक्छ।
एपीका अनुसार कुर्दहरू मध्यपूर्वको राजनीतिमा एउटा शक्तिशाली तर विवादित समूह मानिन्छन्। उनीहरूले आफ्नो छुट्टै राज्यका लागि लामो समयदेखि संघर्ष गर्दै आएका छन्। धेरै देशहरू (विशेषगरी टर्की, इरान र इराक) ले उनीहरूको गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि चुनौती मान्छन्। यस्तो अवस्थामा, यदि अमेरिकाले इरानविरुद्धको कारबाहीमा कुर्द लडाकुहरूलाई साथ लियो भने, यसले छिमेकी देशहरूलाई चिढाउने र युद्धको दायरा अझै ठुलो र अनियन्त्रित बन्ने खतरा रहन्छ।
ट्रम्पको यो निर्णयले प्रस्ट पार्छ कि अमेरिका अहिले इरानसँगको द्वन्द्वलाई सीमित राख्न चाहन्छ र यसमा अन्य क्षेत्रीय जातीय समूहहरूलाई तान्ने पक्षमा छैन। इरान र इजरायलबीच तनाव बढ्दै जाँदा, राष्ट्रपति ट्रम्पले अमेरिकाको रणनीतिक चासोलाई जोगाउन निकै सोचविचार गरेर मात्र कदम चालिरहेको देखिन्छ।
प्रतिक्रिया