मध्य पूर्वमा भीषण सैन्य सङ्घर्ष: इरान र हेजबुल्लाहका सैन्य अखडामा इजरायली तथा अमेरिकी हमला, इरानका ८० प्रतिशत हवाई प्रतिरक्षा प्रणाली नष्ट

इनेप्लिज २०८२ फागुन २२ गते ११:५१ मा प्रकाशित

इजरायली रक्षा बलले लेबनानको दाहियह क्षेत्रमा हेजबुल्लाहको आतंकवादी पूर्वाधारलाई लक्षित गरी २६ वटा ठूला हवाई हमला गरेको छ। यसमा हेजबुल्लाहको कार्यकारी परिषद्को सैन्य केन्द्र र इजरायलविरुद्ध प्रयोग हुने मानव रहित यान (ड्रोन )भण्डारण गर्ने केन्द्र ध्वस्त पारिएको छ। यी हमलाअघि सर्वसाधारणको सुरक्षाका लागि आवश्यक सावधानी अपनाइएको आइडिएफले जनाएको छ।

यसैबीच, ‘अपरेसन रोरिङ लायन’ मार्फत अमेरिका र इजरायलले इरानविरुद्ध एक ऐतिहासिक सैन्य अभियान चलाइरहेका छन्। आइडिएफ प्रमुख एयाल जमिरका अनुसार, यो सहकार्यले इरानको ८० प्रतिशत हवाई प्रतिरक्षा प्रणाली र ६० प्रतिशतभन्दा बढी प्राक्षेपिक क्षेप्यास्त्र मार हान्ने उपकरण (ब्यालेस्टिक मिसाइल लन्चर)हरू नष्ट गरिदिएको छ।

जमिरले भने, “विश्वका दुई सबैभन्दा शक्तिशाली सेनाले मिलेर यस क्षेत्रको सबैभन्दा ठूलो आतंककारी राष्ट्रको आकाशमाथि नियन्त्रण कायम गरेका छन्। हामी इरानको सैन्य क्षमतालाई समाप्त पार्दै उनीहरूलाई रणनीतिक रूपमा एक्ल्याउँदैछौँ।”

यस आक्रमणको जवाफमा इरानले मध्य पूर्वका विभिन्न स्थानमा क्षेप्यास्त्र र मानव रहित यान हमला गरेको छ। कतारको अल-उदेद हवाई अखडा, बहराइनको मनामा, साउदी अरेबियाको आकाश र कुवेतमाथि इरानी हमलाका प्रयासहरू भएका छन्। यद्यपि, सम्बन्धित देशका रक्षा संयन्त्रहरूले ती आक्रमणहरूलाई सफलतापूर्वक निस्तेज पारेका छन्।

इजरायली सेनाले आफ्ना अमेरिकी समकक्षीहरूसँग निरन्तर सम्पर्कमा रहेको र यो लडाइँ साझा मूल्यमान्यताका लागि ‘काँधमा काँध मिलाएर’ लडिरहेको बताएको छ। यद्यपि, जमिरले चेतावनी दिँदै भनेका छन्, “जोखिम अझै टरिसकेको छैन। हरेक क्षेप्यास्त्र घातक छ र सतर्क रहन आवश्यक छ।” यो सैन्य सङ्घर्षले मध्य पूर्वको सुरक्षा अवस्थालाई निकै चुनौतीपूर्ण र संवेदनशील मोडमा पुर्‍याएको छ।

प्रतिक्रिया