
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना गृह सुरक्षा सचिव क्रिस्टी नोएमलाई पदबाट हटाउने निर्णय गरेका छन् । उनले उक्त स्थानमा ओक्लाहोमाका सिनेटर मार्कवेन मुल्लिनलाई नियुक्त गर्ने तयारी गरेका छन् । नोएमले आगामी मार्च ३१ तारिखसम्म आफ्नो जिम्मेवारी सम्हाल्ने र त्यसपछि नयाँ व्यक्तिले उक्त पद सम्हाल्ने जानकारी दिइएको छ।
किन हटाइयो क्रिस्टी नोएमलाई ?
राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा नोएमको प्रशंसा गरे पनि, पछिल्ला केही समययता उनको कार्यशैलीमाथि निकै प्रश्नहरू उठेका थिए। मिनीयापोलिसमा दुई अमेरिकी नागरिकको गोली लागेर मृत्यु भएपछि नोएमले दिएको अभिव्यक्तिले धेरैलाई क्रुद्ध बनाएको थियो। उनको दाबीलाई प्रत्यक्षदर्शीका श्रब्यदृश्य (भिडियो)हरूले गलत साबित गरेका थिए।
करिब २२ करोड डलरको एउटा विज्ञापन अभियानमा आफ्नै अनुहार राखेको र उक्त खर्चको जिम्मेवारी राष्ट्रपतिमाथि थोपरेको भन्दै उनी विवादमा तानिएकी थिइन्। राष्ट्रपति ट्रम्पले आफूलाई यसबारे कुनै जानकारी नभएको बताएपछि यो विषय थप जटिल बनेको थियो।
बिभागको काम गर्ने तरिका र केही व्यक्तिगत विषयहरूलाई लिएर आफ्नै दलका सांसदहरूले समेत उनीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
को हुन् नयाँ नियुक्त हुन लागेका मार्कवेन मुल्लिन ?
नयाँ गृह सुरक्षा सचिवको रूपमा छानिएका मार्कवेन मुल्लिन ओक्लाहोमाका सिनेटर हुन्। राष्ट्रपति ट्रम्पले उनको काम गर्ने शैलीलाई मन पराउँदै यो जिम्मेवारी दिएका हुन् । मुल्लिन अब पद सम्हाल्ने तयारीमा छन् ।
यता, क्रिस्टी नोएमलाई सरकारले नयाँ भूमिकामा ‘द शिल्ड अफ द अमेरिकाज’ नामक सुरक्षा अभियानको विशेष दूतको रूपमा पठाउने भएको छ।
प्रतिक्रिया