इजरायलद्वारा बुधबार बिहानै देखि आक्रमण सुरु : “इरानको नयाँ नेता जो बने पनि हाम्रो निशानामा पर्नेछन्!”

इनेप्लिज २०८२ फागुन २० गते ११:३२ मा प्रकाशित

इजरायली सेनाले बुधबार बिहानैदेखि इरानको राजधानी तेहरानमा ‘ठुलो स्तरको हवाई आक्रमण’ सुरु गरेको घोषणा गरेको छ। यसअघि इजरायलले इरानी शासनका दर्जनौ कमाण्ड सेन्टरहरू (प्रमुख सैन्य कार्यालय) लाई ध्वस्त पारेको बताएको थियो।

गत शनिबार अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएको थियो। इजरायली रक्षामन्त्री इजरायल काट्जले बुधबार कडा चेतावनी दिँदै भनेका छन्, “इरानको नयाँ सर्वोच्च नेताका रूपमा जो सुकै नियुक्त भए पनि, उनी हाम्रो हत्याको सूचीमा पहिलो प्राथमिकतामा रहनेछन्।”

खामेनीको उत्तराधिकारीको घोषणा अझै भइसकेको छैन, तर इरानले उनको मृत्युको शोकमा तीन दिने राजकीय शोकको घोषणा गरेको छ। बुधबार राति १० बजेदेखि उनको पार्थिव शरीरलाई तेहरानको इमाम खोमेनी मस्जिदमा श्रद्धाञ्जलीका लागि राखिनेछ।

यो युद्धले निकै भयानक रूप लिँदै गएको छ। मानव अधिकारवादी संस्था एचआरएएनएका अनुसार हालसम्म इरानमा अमेरिका र इजरायलको सैन्य कारबाहीका कारण ९१२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ भने २११ जना घाइते भएका छन्।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यस युद्धको कडा आलोचना गर्दै युद्ध हुनु हुदैन भन्दै अडान राखेका छन्। उनले इरानले गरेका अन्धाधुन्ध आक्रमण र इजरायल-अमेरिकाले गरिरहेको बमबारी दुवैको विरोध गरेका छन्। सान्चेजले यो युद्ध लामो समयसम्म चलेमा विश्वको अर्थतन्त्रमा गम्भीर असर पर्ने र स्पेन लगायतका देशहरूमा महँगी बढ्ने चेतावनी दिएका छन्।

इजरायल र अमेरिकाको यो संयुक्त सैन्य कारवाहीले इरानी शासनको जग हल्लाइदिएको छ भने सारा विश्व अहिले यो युद्ध कता मोडिने हो भनेर चिन्तित छ।

प्रतिक्रिया