इरान युद्ध चार हप्तासम्म लम्बिन सक्ने राष्ट्रपति ट्रम्पको चेतावनी, मारिनु अघि खामेनी महिनौ दिनको गोप्य निगरानीमा थिए

इनेप्लिज २०८२ फागुन १७ गते २०:४९ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित युद्ध केही दिनमै अन्त्य नहुने, बरु करिब चार हप्ता वा त्योभन्दा बढी समयसम्म चल्न सक्ने बताएका छन्। आइतबार बेलायती पत्रिका डेली मेलसँगको छोटो दूरवार्तामा ट्रम्पले भने, “यो सधैं चार हप्ताको प्रक्रिया जस्तै हो, चार हप्ता वा सोभन्दा कम लाग्न सक्छ।”

उनका अनुसार इरान ठूलो देश भएकाले सैन्य कारबाही पूरा गर्न समय लाग्नेछ। उनले चाँडै नै राष्ट्रलाई फेरि सम्बोधन गरेर युद्धबारे अध्यावधिक दिने संकेत पनि गरेका छन्।

नयाँ उपग्रह तस्बिरहरूले इरानका धेरै सैन्य अड्डाहरूमा गम्भीर क्षति पुगेको देखाएका छन्।

केही जलसेना अड्डामा जहाजहरू डुबेको अवस्थामा छन् भने विमान राख्ने संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्। यसले आक्रमण कति लक्षित र शक्तिशाली थियो भन्ने देखाउनले सिएनएनले आफ्नो समाचारमा जनाएको छ ।

समाचारकाअनुसार अमेरिका र इजरायलका गुप्तचर निकायहरूले महिनौँ देखि इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी माथि गोप्य रूपमा निगरानी गरिरहेका थिए। विशेष गरी सिआइए लगायतका निकायहरूले उनको दैनिक गतिविधि, भेटघाट र बसाइँसराइको जानकारी संकलन गर्दै आएका थिए।

सिएनएनका अनुसार इरानका ठूला राजनीतिक र सैन्य नेताहरू लामो समयदेखि एउटै स्थानमा कमै भेट्थे। तर हालै उनीहरू तेहरान स्थित सरकारी किल्ला का फरक–फरक स्थानमा भेट्ने योजना बनाएका थिए।

अमेरिका र इजरायलका अधिकारीहरूले यसलाई “सुनौलो मौका” मानेर तुरुन्तै कारबाही अघि बढाएको बताइएको छ।

विश्लेषकहरूका अनुसार यदि युद्ध लम्बियो भने मध्यपूर्वमा अस्थिरता बढ्न सक्छ, तेलको मूल्य महँगिन सक्छ र विश्व अर्थतन्त्रमा असर पर्न सक्छ।

प्रतिक्रिया