राजभण्डारीको “पाश्चात्य कला सङ्क्षिप्त इतिहास” लाई नियाल्दा

-डा. खगराज बराल, पोखरा, नेपाल २०८२ फागुन १७ गते १३:२४ मा प्रकाशित

पुस्तक समीक्षा

नवीन्द्रमान राजभण्डारीलाई मैले पाठ्यक्रम विकास केन्द्रको एक कर्मचारीका रूपमा चिनेको थिएँ । उनीले सरकारी पाठ्यपुस्तक र बाल सन्दर्भ सामग्रीमा आवश्यक पर्ने चित्रहरू तथा ग्राफिक डिजाइन गर्थे, सरकारी पुस्तकको आवरण डिजाइन गर्थे । उनले विद्यालयस्तरीय सिर्जनात्मक कला सम्बन्धी पाठ्यपुस्तक तथा बाल सन्दर्भ सामग्रीको लेखन तथा सम्पादन पनि गरेका छन् ।

सरकारी पाठ्यपुस्तकमा चित्र तथा डिजाइनमा उनको नाम आउथ्यो, प्रकाशक पाठ्यक्रम विकास केन्द्रले धन्यवाद दिन्थ्यो । आवश्यक पर्दा निर्वाचनका लागि मतपत्रको पनि डिजाइन गर्थे । उनी सरकारी कर्मचारी थिए । संवत् २०७५ सालसम्म नेपाल सरकारको निजामती सेवामा कार्यरत राजभण्डारी अधिकृत पदबाट सेवा निवृत्त भएका हुन् । बाह्य जगत्मा उनको पूरा परिचय आएको थिएन भनौ ।

नवीन्द्रमान राजभण्डारी सरकारी कर्मचारी मात्र थिएनन्, उनी नेपालका एक प्रख्यात चित्रकार, कलाकार, कला शिक्षक र लेखक हुन् भन्ने कुरा त मैले अलि पछि उनीसँगै काम गर्दा थाहा पाएँ । उनको पूरा जानकारी नपाउनु पनि मेरो अनभिज्ञता नै थियो । उनी समकालीन कला र अमूर्त चित्रकलाका माहिर मानिस रहेछन् भन्ने कुरा सङ्गत गर्दै गएपछि थाहा पाएँ । निकै कम बोल्ने र आफ्ना काममा लागि पर्ने राजभण्डारी नेपाली समसामयिक कला क्षेत्रमा लामो समयदेखि क्रियाशील छन् ।

काठमाडौंको नेवारी परिवारमा सन् १९६० मा जन्मेका राजभण्डारीले ललित कला क्याम्पसबाट फाइन आट्र्समा स्नातक उपाधि हासिल गरेका हुन् भने उनका राष्ट्रियस्तरका कला प्रदर्शनी पनि भएका छन् । कला क्षेत्रमा लागेर उनले थुप्रै पुरस्कार र सम्मान पाएका छन् । राजभण्डारीका चित्रकलाहरूमा रङ र रेखाको सहज संयोजन र अदृश्य तथा अमूर्त भावनाहरूलाई दृश्यात्मक रूपमा व्यक्त गर्ने प्रयास देखिन्छ । यस शैलीले दर्शकलाई आफैँमा अनुभूति खोज्न प्रेरित गर्छ । उनको कलाले वस्तुगत प्रस्तुतिभन्दा भावनात्मक अनुभूति, मनोभाव तथा उर्जा जस्ता अमूर्त पक्षलाई उजागर गर्छ । नेपाल सरकारको सेवाबाट सेवा निवृत्त भए पनि राजभण्डारी सिर्जना कलेज अफ फाइन आर्टस्मा कला इतिहास विषयको अध्यापन गरिरहेका छन् ।

कला शिक्षक तथा कला लेखकको भूमिकाका साथसाथै उनका राष्ट्रियस्तरका दैनिक तथा साहित्यिक पत्रपत्रिकामा लेख रचनाहरू पनि प्रकाशन भएका छन् । उनले सिर्जना कलेज अफ फाइन आर्टस्मा व्यवस्थापन कार्यका साथै कार्यक्रम संयोजकको भूमिका पनि निर्वाह गरेका छन् । कलासम्बन्धी जर्नल तथा प्रकाशनहरूमा लेखहरूको सम्पादन तथा प्रकाशन गरेर नेपालमा कला शिक्षाको विकासमा तल्लिन छन् राजभण्डारी । कला क्षेत्रको त्रैमासिक ‘माध्यम’ को एक समयका सम्पादक पनि थिए उनी । नेपालको राष्ट्रिय गान कसले रचना गरेको भनेर सोध्यो भने प्रायः सबैले ‘व्याकुल माहिला’ को नाम लिने गर्छन् । यो प्रश्न प्रायः सबैलाई सरल र सहज लाग्न.सक्छ । तर नेपाल सरकारको वर्तमान निशान छाप (राष्ट्रिय प्रतीक) को डिजाइन कसले गरेको हो र यो डिजाइन टोलीका संयोजन तथा डिजाइनर को थिए भनेर सोध्ने हो भने यसको जवाफ निकै कमले मात्र दिन सक्छन् वा दिनै सक्दैनन् । अझ भन्नुपर्दा, सरकारी साइनबोर्ड र सरकारी कागजातको शिरानमा हुने निशान छापको लोगो र सरकारी छापमा हुने निशान छापका सम्बन्धमा सरकारी कर्मचारी र सरकारको नेतृत्व गर्नेलाई पनि यस प्रश्नको जवाफ दिन हम्मेहम्मे हुन्छ होला ।

संवत् २०६२/०६३ मो जनआन्दोलनपछि गठित सरकारले नेपालको निशान छाप परिवर्तन गर्न र लोकतान्त्रिक मूल्य तथा मान्यता समावेश गर्न एक विशेष कार्यदल बनाएको थियो जसको संयोजक थिए नवीन्द्रमान राजभण्डारी । उनैको परिकल्पनामा निशान छापको डिजाइन भएको थियो । निशान छापमा राष्ट्रिय झण्डा, चौधवटा लालीगुराँस फूल, सगरमाथा, लैंगिक समानता झल्काउने महिला तथा पुरुषका हातहरू, धानको बाला, हरियो पहाड, भौगोलिक अखण्डता र ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ जस्तो आदर्श वाक्य राखेर डिजाइन गरिएको थियो ।

राजभण्डारीको अमूर्त र समकालीन कला शैली निकै बलियो छ । रङ, रेखा र बनावटको संयोजनमार्फत भावनात्मक अनुभूति दिन उनी माहिर छन् । उनका कलामा आध्यात्मिक, सांस्कृतिक तथा मानवीय विषय झल्किन्छ । त्यसैले त उनका कलाले दर्शकको ध्यान तान्छ । राजभण्डारीका कलामा अमूर्त अभिव्यक्तिवाद भेटिन्छ । त्यसैले त उनी अमूर्त प्रवृत्तिका कलाकार हुन र बौद्धिक र बहुआयामिक कलाकार पनि हुन् । रङ, रेखा र तिनको बनावटबाट आफ्ना भावना र दार्शनिक चिन्तन पस्कन्छन् । उनका कलामा ‘तमसो मा ज्यातिर्गमय’ भेटिन्छ, चित्रहरूमा शान्ति र आध्यात्मिक गहिराइ महसुस हुन्छ।

भौतिक संसारभन्दा मानिसको भित्री मन र अदृश्य शक्तितिर केन्द्रित हुन्छ उनको कलाकारिता, दृश्यबाट अदृश्यतिर गए जस्तै । उनका चर्चित चित्र शृंखलाहरूमा ‘पञ्चतत्त्व’, ‘तमसो मा ज्योतिर्गमय’ र ‘सर्वे भवन्तु सुखिनः’ पर्दछन् । लामो समय विद्यालय तहका पाठ्यपुस्तक, स्रोत सामग्री र सन्दर्भ सामग्रीको कला संयोजक रही राष्ट्र सेवा गरेका राजभण्डारीले कला शिक्षामा प्रशस्त योगदान दिएका छन् । कलाको प्राध्यापन उनको अर्को योगदानको क्षेत्र हो ।

देशको राष्ट्रिय चिनारीका रूपमा रहेको निशान छापको डिजाइन गरेर देशप्रतिको आफ्नो कर्तव्य पनि पूरा गरी योगदान पुर्याएका छन् । उनी कलाका सर्जक मात्र होइन, व्याख्यात पनि हुन् । कलासम्बन्धी कार्यक्रममा कलाका कुशल व्याख्याता पनि हुन् उनी । नवीन्द्रमान राजभण्डारी कुशल लेखक हुन् । उनले कला क्षेत्रमा कुची र कलम दुवै चलाएका छन् ।

“कला कलाका लागि” र “कला जीवनका लागि” भन्ने विषयमा मतभेद कायमै रहेको छ । कला जीवनका लागि होइन भने कलाको प्रयोजनको के अर्थ हुन सक्छ ? कला सापेक्ष हुन्छ कि कला निरपेक्ष हुन्छ भन्ने प्रश्न पनि निकै चोटिलो छ । कला निरपेक्ष हुनै सक्दैन । कलावादीहरू “कला कलाका लागि” भन्न रुचाउँदछन् । तर, नीतिवादीहरू “कला जीवनका लागि” भन्न रुचाउँछन् । कला जीवनबाट पूरै निरपेक्ष रहेर जीवनसँग सम्बन्धविच्छेद गरी स्वशासित र जीवनदेखि स्वतन्त्र रहन सक्दैन । कलाको आफ्नै सौन्दर्यशास्त्र हुन्छ । कला कलाकै हिसाबले विवेच्य हुन सक्छ, विश्लेषण हुन सक्छ, कलाभित्र डुब्न सकिन्छ, कलाको आह्लाद लिन सकिन्छ । तर, कलालाई जीवनदेखि टाढा लैजान सकिँदैन, जीवनदेखि टाढा लैजाने प्रयास भएमा कला कलामा मात्र सीमित रहन्छ, आम जनतादेखि दूर हुँदै जान्छ।
कलाको आन्तरिक तथा बाह्य मूल्य दुवै हुन्छ । कलाको मूल्य व्यक्तिको अनुभूतिमा निर्भर रहने हुनाले यसको मूल्य आन्तरिक हुने गर्छ । कलाबाट शिक्षा वा उपदेश प्राप्त गर्न सकिएमा बाह्य मूल्य प्रकट हुन्छ । कलालाई धर्म, संस्कृति, उपदेश, शिक्षा, परिवेश, चालचलन, अभ्यास आदिले प्रभाव पार्छ । त्यसैले भनिन्छ, कला निरपेक्ष हुन सक्दैन । सापेक्ष त हुन्छ, तर फरक परिवेश, फरक समय र फरक विचारको ।

नवीन्द्रमान राजभण्डारीले पाश्चात्य कलाको सङ्क्षिप्त इतिहासको भाग १ र भाग २ पुस्तक नेपाली भाषामा लेखेर नेपाली कला पारखी र कला विषयका विद्यार्थीहरूका लागि पाश्चात्य कला बुझ्न ठुलो मद्दत पु¥याएका छन् । यस लेखकमा “पाश्चात्य कलाको सङ्क्षिप्त इतिहास पहिलो भाग” को सामान्य समीक्षा गर्ने प्रयास गरिएको छ ।

पुस्तकको प्राक्कथनमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा चित्रकला विभागका प्रमुख शान्तकुमार राई लेख्छन्,“पश्चात्य कलाको सुरुवात प्रागैतिहासिक कालीन गुफा चित्रबाट भई विविध कालखण्डमा विकसित विविध सभ्यताहरूमा कलाले कस्तो स्वरूप लिँदै गयो भन्नेबारे यथासम्भव सरल भाषामा सविस्तार चर्चा गरिएको छ । लेखकले यो पहिलो भागलाई सोह्रौँ शताब्दीमा ल्याएर टुङ्ग्याएका छन् ।”

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरले शुभकामना सन्देशमा यस पुस्तकका बारेमा लेखेका छन्,“पाश्चात्य कलाको विकास क्रमिक रूपमा कसरी भएको छ, यस क्रममा के कस्ता परिवर्तनहरू भए, ती परिवर्तनहरूबाट के परिणामहरू निस्के भन्नेबारे संयोजन गरिएको मैले पाएको छु ।”

कलाकार तथा कला लेखक मदन चित्रकार यस पुस्तकका सम्बन्धमा ‘पाश्चात्य कलाको इतिहास र यो पुस्तक’ शीर्षकमा लेख्छन्,“सम्पूर्ण पुस्तक सरसरती अध्ययन गर्दा यो पहिलो भागमा प्रागैतिहासिक कालदेखि थालनी गरी इस्वी संवत् सोहौँ शताब्दीसम्मका कलाबारे वर्णन गरिएको छ ।” शुभकामना, प्राक्कथन र मन्तव्य जस्ता कुराहरूबाट पाश्चात्य कलाको संक्षिप्त इतिहास पहिलो भाग पुस्तकले समेटेका विषयवस्तुहरू स्पष्ट हुन्छ ।

पाश्चात्य कलाको संक्षिप्त इतिहास पहिलो भागले प्राचीन कालदेखि पुनर्जागरणकालसम्मलाई समेटेको छ । पहिलो भागमा प्राचीनकालदेखि पुनर्जागरण कालसम्मको अवस्थालाई वर्णन गरिएको छ । कलाको एकदमै प्रारम्भिक चरणदेखि सोह्रौं शताब्दीसम्मको इतिहासलाई यसले समेटेको छ । आदिम्मा निसले गुफामा बनाएको चित्रहरूबाट कलाको सुरुवात भएको जानकारी पाषाण युगमा दिइएको छ । कला भन्ने कुरा समय र भूगोलले बाँधिदैँन ।

ढुङ्गे युगका कलाले पनि हामीलाई विशेष सन्देश दिएका छन् । पाषाणकालका विभिन्न चित्रहरू र ती चित्रहरू सम्बन्धी सङ्क्षिप्त जानकारी दिइएको छ । यही क्रममा सबै विषयवस्तुमा चित्रहरू दिइएको छ । ती चित्रहरूले तत्कालीन कलाको इतिहासलाई बुझ्न सहयोग गरेको छ ।

प्राचीन सभ्यताहरू जस्तै इजिप्ट, मेसो पोटामिया, ग्रीस र रोमन सभ्यताका कलात्मक उपलब्धिहरू उल्लेख गरेका छन् लेखकले । साथै, मध्यकालीन कलामा इसाई धर्मको प्रभावमा विकसित भएको कला शैलीको वर्णन गरेका छन् । अन्त्यमा, लियोनार्दो दा भिन्ची, माइकल एन्जेलो जस्तो महान् कलाकारहरू र उनीहरूले कलामा ल्याएका परिवर्तनलाई पुनर्जागरणमा उल्लेख गरेका छन् । यस पुस्तकमा विषयसूचीमा युरोपको प्रागैतिहासिक कला, प्राचीन मध्यपूर्व, प्राचीन इजिप्टको कला, एजियन कला, प्राचीन ग्रीसको कला, इटस्कन कला, रोमन कला, प्रारम्भिक इसाई तथा बाइजेन्टाइन काल, प्रारम्भिक मध्य युग, रोमनेस्क कला, गोथिक कला, पुनर्जागरण कालका पूर्ववर्तीहरू, प्रारम्भिक पुनर्जागरण काल, उच्च पुनर्जागरण काल, म्यानरिजम र सोह्रौँ शताब्दीको उत्तराद्र्धमा इटालीको कला र सोह्रौ शताब्दी उत्तर युरोपको चित्रकला यस पुस्तकका विषयवस्तुहरू हुन् । पुस्तकमा दुई पृष्ठका ग्रन्थसूची रहेको छ ।

“पाश्चात्य कलाः सङ्क्षिप्त इतिहास, पहिलो भाग” सरल नेपाली भाषामा लेखिएको पुस्तक हो । पाश्चात्य कलाका जटिल सिद्धान्त र इतिहासलाई एकदमै सरल र सुबोध्य नेपाली भाषामा लेखेका छन् नवीन्द्रमान राजभण्डारीले । पाश्चात्य कलाको सिलसिलेवार वर्णन गरेका छन्; कालक्रम र समय रेखा मिलाएर । लेखकले ऐतिहासिक तथ्यलाई मात्र वर्णन गरेका छैनन्, कलाको दार्शनिक तथा प्राविधिक पक्षको सूक्ष्म विश्लेषण गरेका छन् ।

राजभण्डारीले संवत् २०७० मा “पाश्चात्य कलाः सङ्क्षिप्त इतिहास, पहिलो भाग” नेपाली भाषामा लेखेर कलासम्बन्धी जानकारी लिन चाहने पाठकहरू र ललितकला विषयका विद्यार्थीहरूलाई ठुलो गुन लगाएका छन् । उनले “पाश्चात्य कलाः सङ्क्षिप्त इतिहास, दोस्रो भाग” पनि लेखेका छन् । कला सम्बन्धी पुस्तकको सर्वथा अभाव रहेको अवस्थामा पुस्तक लेखेर पुस्तक अभावको समयमा कलाप्रेमी र कला अध्ययन गर्ने र गर्न चाहने विद्यार्थीका लागि अर्को योगदान पुर्याएका छन् ।

“कला कलाका लागि” कि “कला जीवनका लागि”, “कला कलाका लागि” कि “कला आम जनसमुदायका लागि” यी दुई ज्वलन्त प्रश्नका जवाफ कलाकारले दिनैपर्छ । कलाका पारखीहरूले कलाको गहिराइ बुझ्न सक्छन् भनेर के कला कलाका पारखीका लागि मात्र सिर्जना गरिएको हो र भन्ने जिज्ञासा उठ्न सक्छ । के आम जनसमुदायले बुझ्ने गरी कला सिर्जना गर्न मिल्दैन वा सकिँदैन वा गरिँदैन ? सकिन्छ भने, किन आम जनसमुदायले बुझ्न गरी कला सिर्जना कम हुने गर्छ ? अमूर्त कलाका सम्बन्धमा सहमति जनाउन सकिन्छ । तर, अमूर्त कला र दार्शनिक गहिराइ बुझ्न कति हुन सक्लान् ? आम समुदायले बुझ्ने, आनन्द लिने र कलाप्रति आकर्षित हुने गरी मूर्त कलाप्रति लेखकको ध्यान अवश्य नै जाने अपेक्षा गर्न सकिन्छ । आखिर लेखकको लामो निजामती जागिरे जीवन त विद्यालय तहका विद्यार्थीले बुझ्ने गरी कला सिर्जना गरेरै बितेको पनि हो नि !

यो पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभागले प्रकाशन गरी बजारमा ल्याएको हो । यस पुस्तकको महत्त्वपूर्ण पक्ष के हो भने यस पुस्तकको लेआउट र डिजाइन स्वयम् लेखकले नै गरेका छन्, आखिर लेखक कलाका सर्जन हुन् नि ! पुस्तक ३०६ पृष्ठको छ । पुस्तकभित्रका चित्रहरू रङ्गीन रहेका छन् । पुस्तकमा प्रागैतिहासिक, प्राचीन तथा मध्यकालीन पश्चिमको नक्सा पनि दिइएको छ ।

कृतिः “पाश्चात्य कला सङ्क्षिप्त इतिहास पहिलो भाग”
लेखकः नवीन्द्रमान राजभण्डारी
प्रकाशकः नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठान, चित्रकला विभाग
संस्करणः पहिलो (२०७०)
पृष्ठः ३०६
मूल्यः उल्लेख नभएको

प्रतिक्रिया