
सात समुद्र पारिको बिरानो मुुलुक अमेरिका, जहाँ हजारौ नेपालीहरू आफ्ना र सन्ततिका लागि रङ्गीन सपना बुन्छन्। भर्जिनिया राज्यको फेयरफ्याक्सस्थित मन्टुवा क्षेत्रको एउटा शान्त आवासगृह(अपार्टमेन्ट )मा पनि त्यस्तै एउटा सुन्दर भविष्यको आशाले भरिएको थियो।
तर गत सोमबारको त्यो कालो बिहानले एउटा हाँस्दै-खेल्दै गरेको परिवारलाई सधैँका लागि खरानी बनाइदियो। नेपालबाट आफ्नी छोरी ममता र एक वर्षीय नातिलाई भेट्न, उनीहरूसँगै खुसी साट्न र नातिलाई काखमा खेलाउन पुगेका ५४ वर्षीय छत्र थापा नै त्यो घरको लागि ‘काल’ बनेर उत्रिएलान् भनेर कसैले सोचेको पनि थिएन।
त्यो बिहान खुसीको सट्टा मृत्युको चित्कारले भर्जिनिया फेयरफ्याक्स मात्र हैन संसार भरि गुन्जियो। आफ्नै श्रीमती ५२ वर्षीया बिन्दा थापा र ३३ वर्षीया छोरी ममता थापामाथि छत्र थापाले अन्धाधुन्ध खुँडा (धारिलो हतियार )प्रहार गरे। रगतको खोलो बग्यो। ममता आफ्नो ज्यान जोगाउन र सायद बाहिर गुहार माग्न घरको मूल ढोकासम्म त पुगिन्, तर रगतले लत्पतिएको शरीर लिएर उनी दैलोमै ढलिन्। भित्रको दृश्य झनै भयावह थियो— कोठामा श्रीमती बिन्दा रक्ताम्मे अवस्थामा थिइन् भने छत्र थापाले आफ्नै ज्वाइँ सन्तोष बस्नेतको शरीरमाथि खुकुरी ताकेर बसिरहेका थिए। जब प्रहरी पुग्यो र उनलाई हतियार फाल्न आदेश दियो, उनी झन् आक्रामक बने। अन्ततः प्रहरीले चलाएको गोलीबाट थापाको घटनास्थलमै मृत्यु भयो भने अस्पताल पुर्याइएका आमा-छोरीलाई चिकित्सकले मृत घोषित गरे।
आज यो घटनाले सम्पूर्ण नेपाली समुदायलाई मात्र होइन, मानवतालाई नै झस्काएको छ। एउटा सुन्दर पारिवारिक मिलन एकै निमेषमा बीभत्स चिहानमा परिणत भयो। तर यो सबै घटनाको सबैभन्दा पीडादायी र आँसु थाम्न नसकिने पक्ष भनेको ती एक वर्षीय निर्दोष बालक हुन्। आफ्नै हजुरबुवाको हातबाट आमा र हजुरआमा खोसिएको ती बालकलाई अझै थाहा छैन कि अब उनको टाउकोमा ममतामयी हात कहिल्यै रहने छैन। उनी सकुशल त छन्, तर उनको संसार पूर्ण रूपमा उजाडिएको छ। ज्वाइँ सन्तोष बस्नेत अहिले अस्पतालको शय्यामा जीवन र मृत्युको कठिन दोसाँधमा लडि रहेका छन् ।
अहिले यो परिवार छिन्नभिन्न भएको छ र यो संकटको घडीमा हामी सबैको साथको खाँचो छ। गैरआवासीय नेपाली संघ भर्जिनिया शाखाले यस अकल्पनीय विपत्तिमा परेको परिवारलाई पुन: उभिन सहयोग पुगोस् भनी गोफन्डमी मार्फत १,००,००० डलर संकलन गर्ने लक्ष्य राखेको छ।
हालसम्म करिब ९,००० डलर मात्र संकलन भएको छ, जुन हाम्रो लक्ष्यको सानो हिस्सा मात्र हो। सन्तोष बस्नेतको महँगो उपचार, दुईजना मृतकको अन्तिम संस्कार र ती टुहुरा बालकको शिक्षा तथा दीर्घकालीन पालनपोषणका लागि अझै ठूलो आर्थिक सहयोग आवश्यक पर्ने छ।
तपाई हामीले दिने सानो भन्दा सानो सहयोगले पनि यो परिवारका लागि पहाड जत्रो अर्थ राख्छ। ९ हजारबाट एक लाख डलर पुग्न तपाईको एउटा सानो योगदान र यो समाचारलाई धेरैभन्दा धेरै साँझा (सेयर) गर्नु पर्ने आवश्यक रहेको छ।
अन्त्यमा , मानवताको नाताले यो दुःखमा साथ दिनुहोस् र ती बालकको उज्यालो भविष्यका लागि एउटा सहारा बन्नुहोस्। तपाईको सानो दान,सहयोगले ती बालकको मुस्कानका लागि एउटा ठूलो वरदान बन्न सक्छ।
सहयोग गर्न यहाँ थिच्नु होला :
प्रतिक्रिया