न्युयोर्कमा हिउँको डल्लोले निम्त्याएको ठुलो लफडा: नगर प्रमुख मम्दानी र प्रहरी बीच चर्काचर्की

इनेप्लिज २०८२ फागुन १४ गते ११:१९ मा प्रकाशित

न्युयोर्क शहरमा भर्खरै आएको ठूलो हिमपहिरो (ब्लिजार्ड) पछि एउटा अनौठो घटना सार्वजनिक भएको छ। सोमबार वासिङ्टन स्क्वायर पार्क(उद्यान)मा जम्मा भएका केही युवाहरू र न्युयोर्क प्रहरी बीच ‘हिउँको डल्लो प्रहार’ लाई लिएर ठुलो विवाद सुरु भएको छ। यो सामान्य घटना अहिले नयाँ नगर प्रमुख जोहरान मम्दानीका लागि एउटा ठुलो राजनीतिक चुनौती बनेको छ।

के भएको थियो?

एबिसीन्यूजका अनुसार सोमबार दिउँसो उद्यान (पार्क)मा मानिसहरू हिउँसँग खेलिरहेका थिए। प्रहरीका अनुसार, त्यहाँ उपस्थित केही व्यक्तिहरूले प्रहरी र उनीहरूका गाडीमा हिउँका डल्लाहरूले लगातार प्रहार गरे। यस क्रममा दुईजना प्रहरीलाई सामान्य चोट समेत लाग्यो। प्रहरी आयुक्त जेसिका टिसले यसलाई “अपमानजनक र आपराधिक” कार्य भन्दै कडा आलोचना गरेकी छिन्।

नगर प्रमुख (मेयर )मम्दानी नीले यो घटनालाई एउटा “हिउँको खेल” मात्र भएको बताएका छन्। उनले एक सम्मेलनमा भने, “मैले श्रब्यदृश्य (भिडियो) हेरें, यो एउटा रमाइलो खेल थियो जुन अलि नियन्त्रण बाहिर गयो।” तर प्रहरी संघका अध्यक्ष प्याट्रिक हेन्ड्री यो कुरा स्वीकार्न तयार छैनन्। उनले नगर प्रमुख को यो भनाइलाई “नेतृत्वको असफलता” भन्दै, यसलाई खेल नभएर प्रहरीमाथिको “भयानक आक्रमण” भनेका छन्।

नगर प्रमुखले प्रहरीको कामको प्रशंसा पनि गरेका छन्। उनले भने, “प्रहरीले हिउँ पन्छाउन र मानिसहरूलाई बचाउन धेरै राम्रो काम गरिरहेका छन्। उनीहरूलाई सम्मान गर्नुपर्छ। यदि कसैलाई हिउँको डल्लोले हान्नु छ भने मलाई हान्नुहोस्, तर प्रहरीलाई दुःख नदिनुहोस्।”

राजनीतिशास्त्रकी प्राध्यापकक्रिस्टिना ग्रीरका अनुसार, प्रगतिशील विचार भएका मम्दानीले प्रहरीसँगको सम्बन्ध सुधार्न खोजिरहेका छन्। यसअघिका नगर प्रमुखहरू र प्रहरी बीचको सम्बन्ध धेरै बिग्रिएको थियो। मम्दानी चाहन्छन् कि प्रहरीले उनीमाथि भरोसा गरोस्, तर साथै उनी जनताको स्वतन्त्रताको पनि पक्षधर छन्।

अहिलेसम्म यस घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। प्रहरीले त्यहाँ जडान गरिएका श्रब्यदृश्य (सीसीटीभी फुटेज )हेरेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया