“वंशजको अधिकार खोसिनु प्राकृतिक न्यायको विरुद्ध”: डायस्पोराको हकहितका लागि एएनए अध्यक्ष खगेन्द्र अधिकारीको गुन्जियो शक्तिशाली आवाज

नेपाली नागरिकताको पुनर्बहाली र सम्मान: सरकारलाई एएनए अध्यक्ष खगेन्द्र अधिकारीको स्पष्ट मार्गचित्र र खबरदारी

इनेप्लिज २०८२ फागुन १२ गते ०:५३ मा प्रकाशित


वासिंटन, डि.सी.

विश्वभर छरिएर रहेका लाखौँ लाख नेपालीहरूको साझा भावना र अधिकारलाई मुखरित गर्दै उत्तर अमेरिकाकै सबै भन्दा ठूलो, जेठो र प्रतिष्ठित बहुराष्ट्रिय सामाजिक संस्था एसोसिएशन अफ नेपालीज इन द अमेरिकाज (एएनए) का अध्यक्ष खगेन्द्र अधिकारीले “वंशजको नेपाली नागरिकता” को निरन्तरताका लागि एक विशेष र मर्मस्पर्शी अपिल सार्वजनिक गरेका छन्।

अध्यक्ष अधिकारीले सामाजिक सञ्जालमार्फत जारी गरेको आफ्नो आधिकारिक धारणामा, नेपालको माटोमा जन्मिएका र वंशजको आधारमा नागरिकता प्राप्त गरेका नेपालीहरूलाई विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको नैसर्गिक अधिकारबाट वञ्चित गरिनु अन्यायपूर्ण हुने बताएका छन् । उनले “एकपटकको वंशजको नेपाली, सधैंको नेपाली” हुनुपर्ने प्राकृतिक न्यायको सिद्धान्तलाई दृढतापूर्वक अगाडि सारेका छन्।

अनावश्यक झन्झट र विभेदको अन्त्य:

अध्यक्ष अधिकारीले सरकारलाई कुनै पनि “अनावश्यक सवालजबाफ” वा “मनगढन्ते सोच” मा नअल्झिन चेतावनी दिँदै वंशजको नागरिकतालाई सदावहार रूपमा निरन्तर गर्न माग गरेका छन् । “नेपालको कुल जनसंख्याको ठूलो हिस्सा आज आफ्नो व्यक्तिगत उन्नति र मातृभूमिको समृद्धिका लागि प्रवासमा छ,” उनि अगाडी भन्छन् , “उनीहरूले आर्जन गरेको सीप र पुँजी नेपालकै लागि हो। यस्तो अवस्थामा राज्यले विभिन्न बहानेबाजीमा उनीहरूको नागरिकताको हक खोस्नु वा अदलबदल गर्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित हुन्छ।”

सरकारलाई स्पष्ट खबरदारी:

वर्तमान सरकार वा भविष्यमा बन्ने जननिर्वाचित सरकारले कुनै पनि अप्राकृतिक कानुनी सर्त नराखी प्रवासी नेपालीहरूको नागरिकताको अधिकारलाई सुरक्षित गर्नुपर्नेमा उनको जोड छ। अधिकारीले प्रवासमा रहेका नेपालीहरूलाई विभेदपूर्ण व्यवहार नगरी उनीहरूको सार्वभौम हकअधिकारको पुनर्बहाली गर्न र यसलाई कार्यान्वयनको पक्षमा सकारात्मक कदम चाल्न सरकारसँग आग्रह गरेका छन्। यो माग समस्त प्रवासी नेपालीहरूको सर्वसम्मत ठहर भएको पनि उनले स्पष्ट पारेका छन्।

यो सन्देश केवल एक माग मात्र नभई, आफ्नो माटो र पहिचानप्रति अटुट आस्था राख्ने लाखौँ नेपालीहरूको अधिकार प्राप्तिको एउटा ऐतिहासिक कदम हो। उनको यो आह्वानले विश्वभर रहेका गैर-आवासीय (प्रवासी) नेपालीहरूमा नयाँ उत्साह र आशा जगाएको छ।

खगेन्द्र अधिकारी उत्तर अमेरिकामा एक इमानदार, स्वतन्त्र र मर्मस्पर्शी सामाजिक अभियन्ताका रूपमा परिचित व्यक्तित्व हुन्। नेपाली डायस्पोराको हकहितका लागि अनवरत रूपमा आवाज उठाउँदै आएका उनि एएनएको दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष हुन्।

प्रतिक्रिया