
अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एउटा अत्यन्तै हृदयविदारक घटना घटेको छ। नेपाली समुदाय भित्र दुखद घटेको आशंका गरिएको छ भने तर उनीहरुको नाम प्रहरीले अझै सार्वजनिक गरेको छैन् ।
सामाजिक संजालमा भर्जिनिया फेयरफ्याक्समा नेपाली परिवारमा अर्को अपराधिक घटना भएको लेखिनुको साथै डिसी महानगर क्षेत्रका सबै स्थानीय पत्रपत्रिकाले बिभत्स हत्या भनि समाचार प्रकाशित गरेका छन् ।
तर कसैले पनि नाम उल्लेख गरेका छैनन् भने नेपाली समुदायले नै नेपाली परिवारमा घटना घटेको मात्र आफ्नो सामाजिक संजाल उल्लेख गरे पछि अहिले यस बिषयमा सोधखोज र थप विवरणको प्रतिक्षामा रहेका छन् ।

सम्भवत नेपाली समुदाय कै एक ५० वर्षभन्दा माथिका एक व्यक्तिले आफ्नै श्रीमती र छोरीको धारिलो हतियार कट्टी प्रहार गरी हत्या गरेका छन्। सोही क्रममा आफ्ना ज्वाइँलाई समेत गम्भीर घाइते बनाएपछि प्रहरीको गोली लागेर ती व्यक्तिको पनि मृत्यु भएको छ।
फेयरफ्याक्स काउन्टीका प्रहरी प्रमुख केभिन डेभिसका अनुसार, प्रहरीले यस घटनालाई “आफ्नै परिवारको नरसंहारको संज्ञा दिएका छन्। घटनास्थलमा पुग्दा प्रहरीले रगतले लतपतिएको बीभत्स दृश्य देखेका थिए। ती व्यक्तिले करिब १० इन्च लामो धारिलो हतियारले आफ्ना परिवारका सदस्यहरूमाथि अन्धाधुन्ध प्रहार गरिरहेका थिए।
ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेका बेला घरभित्र झगडाको आवाज सुनेर भित्र दौडिएका थिए। भित्र पुग्दा उनले आफ्नी श्रीमतीलाई चक्कु लागेर ढलेको र ससुराले सासूलाई आक्रमण गरिरहेको देखे। त्यसपछि ती व्यक्तिले आफ्नै ज्वाइँमाथि पनि चक्कु प्रहार गर्न थाले। ज्वाइँले तत्काल ९११ मा दूरवार्ता (फोन )गरेर प्रहरीलाई खबर गरेका थिए।
प्रहरी घटनास्थलमा पुग्दा ती व्यक्तिले अझै पनि ज्वाइँमाथि आक्रमण गरिरहेका थिए। प्रहरीले पटक-पटक हतियार फाल्न आग्रह गर्दा पनि नमानेपछि एक प्रहरी अधिकारीले गोली चलाएका थिए। गोली लागेर ती ५० बर्षिय आक्रमणकारीको घटनास्थलमै मृत्यु भयो।

डब्लुटिओपी, एनबिसी४ ,डब्लुयुएसए९ लगायतमा लगायत स्थानीय पत्र पत्रिकाका अनुसार यस भयानक आक्रमणमा ती व्यक्तिकी छोरीको घटनास्थलमै मृत्यु भएको छ भने श्रीमतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भयो। ज्वाइँ अहिले अस्पतालमा जीवन र मरणको दोसाँधमा छन्। पत्रिकाहरुको अनुसार घरभित्र एक वर्षको सानो शिशु (बच्चा) पनि थियो, तर भाग्यवश बच्चालाई कुनै चोट लागेको छैन। हाल उक्त बच्चालाई समाज कल्याण विभागको संरक्षणमा राखिएको छ।
प्रहरीका अनुसार यसअघि त्यस घरमा कुनै पनि प्रकारको झगडा वा घरेलु हिंसाको उजुरी नआएको बताएका छन् । प्रहरीले यस घटनाको थप अनुसन्धान गरिरहेको छ र आगामी ३० दिनभित्र घटनास्थलको श्रब्यदृश्य (भिडियो )सार्वजनिक गर्ने बताएको छ।
प्रतिक्रिया