न्युयोर्क र बोस्टनमा हिउँको महासंकट : ४ करोड मानिसको जनजीवन ठप्प हुने ,७,५०० भन्दा बढी हवाई उडानहरू रद्द

इनेप्लिज २०८२ फागुन १० गते २१:२४ मा प्रकाशित

अमेरिकाको उत्तर-पूर्वी क्षेत्रमा एउटा शक्तिशाली अत्यधिक तीव्र गतिको हिमपातको कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त हुने देखिएको छ।

मौसमविद्हरूका अनुसार न्युयोर्क, बोस्टन र फिलाडेल्फिया जस्ता ठूला शहरहरूमा वर्षौ पछिको सबैभन्दा धेरै हिउँ पर्न सक्छ। केही ठाउँमा त दुई फिटसम्म हिउँ थुप्रिने अनुमान गरिएको छ।

हिमपातका कारण बाटो केही नदेखिने अवस्था आउने भएकाले करिब ४ करोड मानिसलाई सडकमा ननिस्कन चेतावनी दिइएको छ। अहिलेसम्म ७,५०० भन्दा बढी हवाई उडानहरू रद्द भइसकेका छन्। न्युयोर्क र रोड आइल्याण्ड जस्ता राज्यहरूमा आइतबार साँझदेखि यात्रामा पूर्ण प्रतिबन्ध लगाइएको छ।

न्युयोर्कका गभर्नर र नगर प्रमुख (मेयर)ले शहरमा संकटकाल घोषणा गरेका छन्। सन् २०१९ पछि पहिलो पटक हिउँका कारण सोमबार विद्यालयहरू बिदा दिइएको छ। बोस्टनमा पनि हिउँ संकटकाल लगाइएको छ र सडकमा अडान गरि राखिएका (पार्किङ )गाडीहरू नहटाएमा कारबाही गरिने बताइएको छ।

हिउँको तीव्रता बढेसँगै रेल र बस सेवाहरू प्रभावित भएका छन्। केही भूमिगत अर्थात रेल सब-वेहरू ढिलो चल्नेछन् भने लङ आइल्याण्ड रेल सेवा पूर्ण रूपमा बन्द गरिनेछ।

गभर्नर क्याथी होचुलले नागरिकहरूलाई आवश्यक सामग्रीहरू पहिल्यै जुटाउन र घरभित्रै सुरक्षित बस्न आग्रह गरेकी छन् । उनले भनिन् , “हामीले वर्षौं देखि नदेखेको यस्तो भयानक हिउ आँधी सामना गर्दैछौँ।” यदि बिजुली काटिएमा मर्मतका लागि ६,००० भन्दा बढी कामदारहरू तयार राखिएको पनि जानकारी दिइएको छ।

सिएनएनका अनुसार अहिले तापक्रम घट्दै गएकाले रातिदेखि हिमपात झन् शक्तिशाली हुने र अवस्था अझै बिग्रन सक्ने खतरा छ।

प्रतिक्रिया