बोर्ड अफ ट्रष्टीले अनेसासको अभिभावकत्व निर्वाह गर्दछ

सुरेन उप्रेती पाँचथर हाल भिक्टोरिया क्यानडा २०८२ फागुन १० गते १२:५० मा प्रकाशित

फेब्रुअरी २१ तारिख २०२६ तदनुसार २०८२ साल फाल्गुण महिनाको ९ गते वाङ्गमय विमर्श तथा साहित्य संवाद कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टीका सभापति एवम् अनेसासका पूर्व केन्द्रीय अध्यक्ष पदम् विश्वकर्मासँग सुरेन उप्रेतीको वाङ्गमय विमर्श भएको थियो । पदम् विश्वकर्मा लम्जुङ जिल्लाको धमिलिकुवा मा जन्मिएर विगत चौबिस वर्ष देखि अमेरिकाको कोलोराडोमा बसोवास गरिरहनु भएको छ ।पदम विश्वकर्मा साहित्यकारमात्रै नभएर एक कुशल सङ्गठन र साहित्यको अभियन्ता पनि हुनु हुन्छ ।

आफ्नै ठूलो दाजु विधालयको शिक्षक भएको र दाजुले घरमै साहित्यका पुस्तकहरू ल्याउने गर्नु हुन्थ्यो । यसरी प्राप्त मुनामदन, गौरी जस्ता पुस्तकहरू र रेडियो नेपालको साहित्यिक कार्यक्रम सुनेर आफू साहित्य प्रति आकर्षित भएको पदम् विश्वकर्माको ठम्याई छ । सानै देखि लय हालेर स्वस्थानी वाचन गर्ने गरेकाले पनि कविता भन्न प्रेरित गरेको हुनु पर्छ । उहाँ बाल्यकाल देखिनै कविता लेखन शुरू गरेको अनुभव सुनाउनु हुन्छ । विद्यालयमा भएका साहित्यिक कार्यक्रमहरूमा भाग लिँदै आफूले पत्तै नपाई साहित्यको प्यारो भएर हुर्कनु भयो । जिल्लास्तरमा आयोजित राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुन पुगे पछि उहाँमा साहित्य प्रतिको अभिरुची अझ मौलाएर आयो ।

नेपाल रेडक्रसको कार्यक्रम तथा प्रशासकीय अधिकृत लगायत बिभिन्न पदमा रहेर दस बर्ष सेवा पुर्‍याउनु भयो । बिस पटक भन्दा बढी रक्तदान गर्नु भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बारेमा नेपालमै रहँदा प्रज्ञाप्रतिष्ठान र गोरखा पत्रका समाचारहरूबाट थोरबहुत जानकार हुनु भयो । सन २००२ मा अमेरिकामा आएर बसोबास गर्न सुरू गर्नु भयो तब अनेसासका संस्थापकहरू मध्यका पुरू सुवेदीसँग सम्पर्क भयो । २००३ मा अनेसासको पहिलो च्याप्टर कोलोराडोमा स्थापना भयो । सो च्याप्टरको अध्यक्ष ज्ञानेन्द्र गदाल हुनु हुन्थ्यो । सोही कमिटीमा सदस्य भएर अनेसासमा जोडिनु भयो । अनेसास कोलोराडो च्याप्टरका बिभिन्न जिम्मेवारीमा रहँदै २०१० देखि २०१२ सम्म अनेसास कोलोराडो च्याप्टरको अध्यक्षको जिम्मेवारी बहन गर्नु भयो । क्रमश २०१२ देखि २०१४ सम्म अनेसासको केन्द्रिय महासचिव, २०१४ देखि २०१८ सम्म दुई कार्यकाल केन्द्रिय अध्यक्ष, २०१८ देखि २०२२ सम्म अनेसास बोर्ड अफ ट्रष्ट्रीको उपसभापति, र २०२४ देखि हाल सम्म सभापतिको जिम्मेवारी बहन गर्दै आउनु भएको छ । नेपाली साहित्यमा स्नातक र समाजशास्त्रमा स्नातोकोत्तर गर्नु भएका विश्वकर्मा साहित्यका अतिरिक्त बिभिन्न सामाजिक संघसंस्थाहरूमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । अमेरिकामा स्थापित जातीय विभेद विरूद्धकार्यरत संस्था नासो, रक्की माउण्टेन, फ्रेन्डस् अफ नेपाल आदि बिभिन्न संघ संस्थामा रहेर काम गर्नु भयो । जाति भेद विश्व मञ्च ग्लोबल फोरमको उपाध्यक्ष हुँदै हाल अध्यक्षको पदभार सम्हाली राख्नु भएको छ । उहाँले शब्दसुमन कविता संग्रह, तमसुक कथा संग्रह, क्वारेण्टाइन उपन्यास, र हालसालै पाताल उपन्यास प्रकाशित भएका छन् । उहाँको लमजुङ मेरो घर गीतलाई राजु परियारले स्वर दिनु भएको छ । त्यस्तै आउन बसौँ गीतमा सिडी विजय अधिकारीले स्वर दिनु भएको छ । श्री विश्वकर्मा अम्बडेकर अन्तर्राष्ट्रिय पुरस्कार, नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रदान गरिने एकलाख राशीसहितको अन्तर्देशीय पुरस्कार जस्ता पुरस्कार र सम्मानबाट सम्मानित हुनु हुन्छ । नेपाली भाषालाई कसरी व्यापक ढंगले विस्तार गर्न सकिन्छ भन्ने चिन्तन बोकेर हिँड्ने विश्वकर्मा, हामी सबैले घरघरमा नेपाली वोल्ने हो भनेमात्र हाम्रो भाषा र संस्कृति जोगिने कुरामा विश्वास गर्नु हुन्छ । हामीले आफ्ना नानीबाबुसँग नेपाली भाषामा बोल्ने गर्नु पर्दछ । नेपाली पाठशालाहरू खोल्ने र नेपाली भाषा साहित्य र
संस्कृतिलाई जोगाउन सकेमामात्र हाम्रो पहिचन जोगिनेछ भन्नु भयो ।

डायस्पोरामा रहेका सबै संघसंस्थाहरूले आफ्नो नेपाली पहिचान जोगाउनमा जोड दिनु पर्ने बताउनु हुन्छ । नेपालमा नेपाली भाषालाई प्राथमिकतामा राखेर पढाई हुन छोडेको देखेर दुख व्यक्त गर्नु हुन्छ । आफ्नो देशको पहिचान भनेको भाषा साहित्य र संस्कृतिमा हुने भएकोले नेपाली भाषालाई प्राथमिकता राखेर मात्र अन्य भाषा पढाइनु पर्ने कुरामा जोड दिनु हुन्छ । अनेसास स्थापना भएको ठाउँमा अनेसासको भवन निर्माणमा जुट्नु भएका विश्वकर्मा आफ्नो पहिचानका लागि पनि कार्यालय हुनु पर्नेमा जोड दिनु हुन्छ । अनेसासको दुई कार्यकाल अध्यक्ष हुनुभएका विश्वकर्मा बोर्ड अफ ट्रष्ट्रीको सभापति हुँदाका आफ्ना जीम्मेवारी संझदै बोर्ड अफ ट्रष्ट्री भनेको अनेसासको अभिभावकीय भूमिका निर्वाह गर्ने संस्था हो । जसरी हरेक बाबुआमा आफ्ना सन्तान कतै खराबबाटो तर्फ पो लाग्छकी । कसरी राम्रो बनाउने कसरी स्वस्थ बनाउने जस्ता चिन्ताले ग्रसित हुन्छन् । त्यस्तै बोर्ड अफ ट्रष्ट्रिले पनि अभिभावकीय चिन्ता बोकेको हुन्छ । अनेसासको सफलता र सुदृढीकरणमा चिन्तित बनेको हुन्छ । अनेसास विशुद्ध साहित्यिक संस्था भएकोले कुनै विचार बाद धर्म भन्दा माथि रहेर नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनका लागि मात्र काम गर्नु पर्दछ । व्यक्तीका आफ्ना विचार र आस्था भए पनि संस्थालाई ती आस्था र विचार भन्दा टाढा राख्नु पर्दछ । हामीले सर्वजन हितायलाई मनमा राखेर अरूको मन नदुख्ने गरी विचार पुर्याएर शब्दहरू प्रयोग गर्नु पर्दछ । हाम्रो भाषाका गहकिला पुस्तकहरूलाई अनुवाद गरेर बिभिन्न भाषाका पाठकहरू समक्ष पुर्याउन सकेमात्र हाम्रो भाषा साहित्य र पहिचान फैलन सक्छ । यसका लागि ठूलो आर्थिक भार हुने भएकाले नेपाल सरकार र यसका निकायहरूले लाग्नु पर्ने कुरा बताउनु भयो । सन्सारभरीका नेपालीहरू गैरआवासीय नेपाली संघमा लाग्नु भएको छ । नेपालमा ठूला ठूला परियोजनाहरू ल्याउनु भएकोछ । अब नेपाली भाषा साहित्य र संस्कृतिको उन्नयनमा लाग्नु पर्ने वेला आएकोछ भन्नु भयो ।

प्रतिक्रिया