
अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिउँको आँधी आउने भएपछि झन्डै ३ करोड मानिसहरूलाई सतर्क रहन चेतावनी दिइएको छ। मौसमविद्हरूका अनुसार यो हिउँदको अन्त्यतिर आउन लागेको यो आँधीले न्यूयोर्क, न्यू जर्सी र आसपासका क्षेत्रमा ठूलो प्रभाव पार्नेछ।
न्यूयोर्क शहरमा ९ वर्षपछि पहिलो पटक यस्तो खतरनाक हिउँको चेतावनी जारी गरिएको हो। न्यूयोर्क शहरमा १२ देखि १८ इन्चसम्म हिउँ जम्न सक्ने अनुमान गरिएको छ। न्यूयोर्कका नगर प्रमुख जोहरान ममदानीले मानिसहरूलाई घरभित्रै बस्न र सडकमा ननिस्कन आग्रह गरेका छन् । शहर सफा राख्न ७०० नुन छर्कने मेसिन र २,००० भन्दा बढी फोहोर बोक्ने माल बाहक सवारी साधन (ट्रक)हरूलाई हिउँ पन्छाउने यन्त्रमा बदलिएको छ।

अवस्था गम्भीर हुन सक्ने भन्दै न्यूयोर्ककी गभर्नर क्याथी होचुल र न्यू जर्सीकी गभर्नर मिकी शेरिलले ‘संकटकाल’ घोषणा गरेका छन्। उद्धारका लागि राष्ट्रिय सुरक्षाकर्मी (नेशनल गार्ड)का सदस्यहरूलाई पनि तयारी अवस्थामा राखिएको छ।
मौसमविद्हरूका अनुसार यो आँधीले तीव्र गतिको हावा र भारी हिमपात ल्याउनेछ, जसले गर्दा बाटो नदेखिने र यात्रा गर्न निकै खतरनाक हुनेछ। केही ठाउँमा बाढी आउन सक्ने सम्भावना पनि रहेको छ। यो आँधी आइतबारदेखि सोमबारसम्म जारी रहनेछ ।
प्रतिक्रिया