
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार एक सनसनीपूर्ण घोषणा गर्दै आफूले लगाउन चाहेको विश्वव्यापी भन्सार शुल्कलाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएको बताएका छन् ।
अघिल्लो दिन मात्रै उनले १० प्रतिशत शुल्कको घोषणा गर्नुभएको थियो, तर २४ घण्टा नबित्दै त्यसलाई वृद्धि गरिएको हो।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत यो निर्णयको जानकारी दिँदै अमेरिकी सर्वोच्च अदालतको पछिल्लो फैसलालाई “हास्यास्पद, कमजोर लेखन भएको र असाधारण रूपमा अमेरिका विरोधी” संज्ञा दिएका छन् ।
वास्तवमा, अदालतले राष्ट्रपतिसँग व्यापक रूपमा भन्सार शुल्क लगाउने ‘आपत्कालीन शक्ति’ नभएको फैसला सुनाएको थियो। अदालतको यही अङ्कुशको जवाफमा ट्रम्पले नयाँ रणनीति अपनाएको देखिन्छ ।
शुक्रबार राति ट्रम्पले एक विशेष कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ,जसले उनलाई संसद् (कंग्रेस) लाई छलेर आयातमा कर लगाउने बाटो खोलिदिएको छ।
तर, यसको एउटा सर्त के छ भने, यी भन्सार शुल्कहरू १५० दिनका लागि मात्र सीमित हुनेछन्।
एपिका अनुसार यदि त्यसलाई निरन्तरता दिने हो भने संसद्को कानुनी अनुमति आवश्यक पर्नेछ।
उनको बारम्बार बदलिइरहने यस्ता निर्णयले विश्व बजार र व्यापारिक साझेदार राष्ट्रहरूलाई त्रसित बनाएको छ।
शनिबारको यो वृद्धिले ट्रम्प अदालतको अवरोधका बाबजुद पनि आफ्नो शक्ति प्रदर्शन गर्न पछि हट्ने छैनन् भन्ने सङ्केत दिएको छ।
प्रतिक्रिया