सर्वोच्चको आदेशलाई उल्ट्याउँदै ट्रम्पले गरे नयाँ आदेशमा हस्ताक्षर,अमेरिका आउने सामानहरूमा १० प्रतिशत कर लाग्ने

"मलाई लाज लागेको छ": आफ्नै देशका न्यायाधीशहरू विरुद्ध गर्जिए -ट्रम्प

इनेप्लिज २०८२ फागुन ९ गते १:४७ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एउटा नयाँ आदेशमा हस्ताक्षर गरेका छन्, जस अनुसार अब विश्वका सबै देशबाट अमेरिका आउने सामानहरूमा १० प्रतिशत ‘ग्लोबल ट्यारिफ’ (भन्सार कर) लाग्ने छ।

फक्सन्यूजका अनुसार यो निर्णय उनले सर्वोच्च अदालतको एउटा ठूलो फैसलापछि लिएका हुन्। अदालतले राष्ट्रपतिसँग आपतकालीन शक्ति प्रयोग गरेर जथाभावी कर लगाउने अधिकार नभएको बताएको थियो। तर, राष्ट्रपति ट्रम्पले अदालतको त्यो निर्णयलाई ‘लज्जास्पद’ भन्दै अर्कै कानुन (खण्ड १२२) प्रयोग गरेर कर लगाउने बाटो रोजेका छन्।

अमेरिकी सर्वोच्च अदालतका ९ मध्ये ६ जना न्यायाधीशले ट्रम्पको पहिलेको निर्णयलाई रोक लगाइदिएका थिए। अदालतको भनाइ थियो— “राष्ट्रपतिलाई सामान आयातमा कर लगाउने पूर्ण अधिकार छैन।” यसबाट रुष्ट भएका ट्रम्पले ओभल अफिस(कार्यालय)बाटै नयाँ आदेश जारी गर्दै भने, “अदालतले जुन कुरालाई अस्वीकार गर्‍यो, हामीसँग त्यसको विकल्पहरू छन्। अब हामी अझ धेरै पैसा जम्मा गर्नेछौँ र अमेरिकालाई शक्तिशाली बनाउनेछौँ।”

राष्ट्रपति ट्रम्पले अदालतका केही सदस्यहरूको कडा आलोचना गरे। उनले भने, “देशको लागि सही काम गर्ने साहस नदेखाएकोमा मलाई केही न्यायाधीशहरूप्रति लाज लागेको छ।” उनले विपक्षी दल (डेमोक्र्याट) निकट न्यायाधीशहरूलाई ‘अराष्ट्रिय’ भएको आरोप समेत लगाए।

ट्रम्पले विदेशी सरकार र कम्पनीहरूले अमेरिकासँग गरिरहेको ‘अन्यायपूर्ण व्यापार’ रोक्न यो कदम चालेको बताएका छन्। यसअघि पनि उनले कर बढाएर बिलियन डलर जम्मा गरिसकेको दाबी गरे। आउने मंगलबार हुने ‘स्टेट अफ द युनियन’ अर्थात् ‘राष्ट्रको अवस्था’ सम्बन्धी दुवै सदनलाई सम्बोधनमा ट्रम्पले यसबारे अझै धेरै कुरा राख्ने सम्भावना छ, जहाँ ती न्यायाधीशहरू पनि उपस्थित हुनेछन्।

ट्रम्पले अदालतको अवरोधका बाबजुद पनि आफ्नो “अमेरिका प्रथम ” नीतिलाई निरन्तरता दिँदै विश्वभरका सामानमा कर बढाउने पक्का गरेका छन्।

प्रतिक्रिया