
काठमाडौं‚ फागुन ८ गते । डा. खगराज बराल अर्थात श्रमिक बराल लेखन क्षेत्रमा परिचित नाम हो । खासमा श्रमिक बराल नाम साहित्यिक क्षेत्र र डा. खगराज बराल नाम शिक्षा, प्रशासन तथा साहित्यिक क्षेत्रमा चलिआएको छ । भुँडीपुराण प्रकाशनले श्रमिक बरालका र खगराज बरालका नाममा साहित्य र शिक्षा तथा प्रशासन दुवै क्षेत्रका पुस्तक प्रकाशन गर्दै आएको छ ।
यसै सिलसिलामा भुँडीपुराण प्रकाशनले लेखक तथा साहित्यकार खगराज बरालको पच्चिसौं कृति “माले गोरु हरायो” (रङ्गीन चित्रसहित) बजारमा ल्याएको छ । साना साना बालबालिकाका लागि उपयोगी यो कृति बाल कविता हो । यस कृतिबाट बाल साहित्य र साहित्यका विभिन्न विधामा कलम चलाउने श्रमिक बराल र शिक्षा क्षेत्रका विविध विषयमा कलम चलाउने र शिक्षा व्यवस्थापनमा लामो समयसम्म अनुभव सँगालेका डा. खगराज बराल एकाकार भएर आएका छन् ।
यसभन्दा पहिला भुँडीपुराण प्रकाशनले श्रमिक बरालको “अविरल गङ्गा” (२०६८) गीत सङ्ग्रह र “सानीको बर्थ डे” (२०७५) बाल कथा सङ्ग्रह प्रकाशन गरेको थियो । त्यस्तै, डा खगराज बरालको “शिक्षा, दर्शन र आचरण” (२०७८), “विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन” (२०७९) र “शिक्षा चिन्तन” (२०८१) पनि प्रकाशन गरेको थियो । यो पुस्तक बाल कविता सङ्ग्रह चाहिँ होइन । “माले गोरु हरायो” एकल बाल कविता हो । यो बालबालिकालाई गाउन उपयुक्त हुने बाल शैलीमा लेखिएको छ । साना साना बालबालिका रमाइरमाइ पढ्नका लागि यो औधी उपयोग लाग्ने छ । यस कविता पढेर बालबालिकाले मनोरञ्जन मात्र लिने छैनन्, केही नयाँ शब्दको ज्ञान लिएर शब्द भण्डार पनि बढाउने छन् ।

सन्तोषकुमार दाहालको आवरण संयोजन रहेको यस कृतिको लेआउट डिजाइन एस.के.डी. ग्राफिक एन्ड प्रिन्टिङ सोलुसन, काठमाडौंबाट गरिएको थियो । आवरणसहित बाह्र पृष्ठको यो कृतिमा रङ्गीन तस्बिर राखिएका छन् । यसको मूल्य एक सय रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया