
अमेरिकामा आप्रवासी परिवार र उनीहरूका साना बालबालिकाहरूलाई कानुनले तोकेको समयभन्दा धेरै लामो समयसम्म हिरासतमा राखिएको घटना सार्वजनिक भएको छ।
सन् १९९७ को एउटा प्रसिद्ध कानुनी सम्झौता अनुसार, कुनै पनि नाबालक बच्चालाई २० दिनभन्दा बढी हिरासतमा राख्न पाइँदैन। तर, हालैका प्रतिवेदन हरूका अनुसार धेरै परिवारहरूलाई ६० दिन वा त्योभन्दा बढी समयसम्म थुनिएको छ।
एबिसीन्यूजका अनुसार खेलेन मार्कानो र उनका श्रीमान् आफ्नी १ वर्षीया छोरी अमालियाका साथ अमेरिकामा शरण लिन आएका थिए। उनीहरूले सरकारले तोकेका सबै नियमहरू पालना गरिरहेका थिए।
तर, डिसेम्बरमा एउटा सामान्य भेटघाटका लागि जाँदा उनीहरूलाई अचानक नियन्त्रणमा लिइयो। उनीहरूलाई टेक्ससको ‘डिली’ नामको हिरासत केन्द्रमा लगियो, जहाँ उनीहरूलाई ६० दिन सम्म थुनियो। यो कानुनले तोकेको समयभन्दा तीन गुणा बढी हो।
हिरासतमा रहँदा १ वर्षीया अमालियालाई कडा ज्वरो आयो। आमा खेलेनले चिकित्सकहरूसँग पटक-पटक गुहार मागिन्, तर चिकित्सकहरूले “ज्वरो आउनु राम्रो संकेत हो, यसले शरीरले भाइरससँग लड्दैछ भन्ने बुझाउँछ” भन्दै वास्ता गरेनन्। पछि बालिकाको अवस्था धेरै गम्भीर भएपछि र बालिका बेहोस भएपछि मात्र उनलाई अस्पताल लगियो।
अस्पतालमा उनलाई कोरोना र श्वासप्रश्वासको गम्भीर संक्रमण भएको पुष्टि भयो। अस्पतालले दिएको औषधि र उपचारका उपकरणहरू पनि हिरासतका कर्मचारीहरूले खोसेर राखिदिए।
त्यहाँ सफा पिउने पानीको अभाव छ र खानामा समेत किराहरू भेटिने गरेको पीडितहरूले बताएका छन्। वकिल र मानवअधिकारवादीहरूका अनुसार, यसरी साना बालबालिकाहरूलाई लामो समयसम्म जेल जस्तो ठाउँमा राख्दा उनीहरूको मानसिक र शारीरिक विकासमा जीवनभरका लागि नराम्रो असर पर्छ।
अहिले धेरै बिद्यालयका विद्यार्थीहरूलाई पनि यसरी नै हिरासतमा राखिएको छ। सरकारले भने आफ्नो सीमा सुरक्षा नीति कडा पारेको दाबी गरेको छ ।
प्रतिक्रिया