तीन टुक्का कविता सङ्ग्रह लोकार्पण: हन्नाह छेत्री र प्रमोद नेपाल सम्मानित

इनेप्लिज २०८२ फागुन २ गते १९:४४ मा प्रकाशित

काठमाडौँ, २ फागुन

टुक्का साहित्य समाजको आयोजनामा २०८२ फागुन २ गते शनिबार पुतलीसडकस्थित ग्रिनलिफ फुडल्यान्ड क्याफेको सभाहलमा एक भव्य साहित्यिक समारोहका बीच तीनवटा नयाँ टुक्का कविता सङ्ग्रहहरूको लोकार्पण सम्पन्न भएको छ । नेपाली साहित्यमा पछिल्लो समय लोकप्रिय बन्दै गएको लघुकाव्य विधा ‘टुक्का कविता’ को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा भारत र नेपालका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग प्रमुख बाबा बस्नेतको प्रमुख आतिथ्य तथा टुक्का साहित्य समाजका कोषाध्यक्ष एवं साहित्यकार होमप्रसाद नेउपानेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।

​लोकार्पण गरिएका कृतिहरूमा नेपाल र भारतका महिला सर्जकहरूको सिर्जना समेटिएको अन्तरदेशीय संयुक्त सङ्ग्रह ‘नारी टुक्का कविता’, सर्जक प्रमोद नेपालको एकल सङ्ग्रह ‘रश्मिपुञ्ज’ र रतन पाण्डे ‘पारतन’ को टुक्का कविता सङ्ग्रह ‘टुक्काको मुक्का’ रहेका छन् । यी कृतिहरूलाई प्रमुख अतिथि बाबा बस्नेत, दार्जिलिङकी साहित्यकार हन्नाह छेत्री तथा अतिथिहरू रामप्रसाद पन्त, किरण आचार्य, वसन्तराज अज्ञात, प्रा.डा. जनार्दन आचार्य, अरुणबहादुर खत्री ‘नदी’, राजेशराज गड्ताैला, रामशरण न्याैपाने, हाेमप्रसाद नेउपाने, चुडा निर्भिक लगायतका विशिष्ट व्यक्तित्वहरूले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको थियो ।

​सोही अवसरमा टुक्का कविता लेखन र यसको सैद्धान्तिक धारलाई बलियो बनाउन विशिष्ट योगदान पुर्‍याएबापत ‘रश्मिपुञ्ज’ का सर्जक प्रमोद नेपाललाई ‘टुक्का साहित्य समृद्धि सम्मान–२०८२’ प्रदान गरियो । त्यसैगरी, ‘नारी टुक्का कविता’ संयुक्त सङ्ग्रहको सफल संयोजन गरी भारत र नेपालका सर्जकहरूलाई एउटै सूत्रमा गाँस्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा दार्जिलिङकी हन्नाह छेत्रीलाई ‘टुक्का साहित्य समृद्धि अन्तर्राष्ट्रिय सम्मान–२०८२’ द्वारा विभूषित गरियो ।

​कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बाबा बस्नेतले आजको भागदौडपूर्ण समयमा पाठकहरूले छोटा र चोटिला रचनाहरू बढी रुचाउन थालेका छन् । टुक्का कविताले थोरै शब्दमा धेरै भावना व्यक्त गर्न सक्ने भएकाले यसको भविष्य उज्ज्वल छ भन्दै प्रज्ञा–प्रतिष्ठान यस्ता नयाँ र ओजिला विधाको उत्थानका लागि सदैव सकारात्मक रहेको र नेपाल–भारत दुवै देशका सर्जकहरूको सक्रियताले यस विधालाई थप उचाइमा पुर्‍याएकोमा खुसी व्यक्त गर्नुभएकाे थियाे ।

​विशिष्ट अतिथि रामप्रसाद पन्तले ‘रश्मिपुञ्ज’ माथि समीक्षात्मक टिप्पणी राख्दै टुक्का कविता नयाँ प्रयोग भएकाले यसको दीर्घकालीन प्रभावबारे चर्चा गर्दै सर्जकलाई अझै परिष्कृत हुन सुझाव दिनुभयो । अर्का विशिष्ट अतिथि किरण आचार्यले ‘नारी टुक्का कविता’ माथि बोल्दै महिला सर्जकहरूका भोगाइ र अनुभूतिहरूलाई टुक्काका माध्यमबाट सशक्त रूपमा उतारिएको दाबी गर्नुभयो । दार्जिलिङबाट पाल्नुभएकी हन्नाह छेत्रीले दार्जिलिङ,सिक्किम लगायतका क्षेत्रमा पनि टुक्का कविताप्रति आकर्षण बढ्दै गएको जानकारी दिँदै रतन पाण्डे ‘पारतन’ को ‘टुक्काको मुक्का’ काे बारेमा चर्चा गर्नु भएकाे थियाे ।

​समाजकी सदस्य शोभा आचार्यको स्वागत मन्तव्यबाट प्रारम्भ भएको उक्त कार्यक्रम महासचिव चूडा निर्भीकले कुशलतापूर्वक सञ्चालन गर्नुभएकाे थियाे भने सचिव जमुना आचार्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । अन्तमा, सभाध्यक्ष होमप्रसाद नेउपानेले टुक्का साहित्य समाजले आगामी दिनमा पनि यस्ता साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गर्नुभएकाे थियाे ।

प्रतिक्रिया