
करिब एक दशक लामो पर्खाइ र पुरानो हारको बदला लिँदै आइतबार ‘सियाटल सिहक्स’ले इतिहास रचेको छ। क्यालिफोर्नियाको सान्टा क्लारामा भएको ‘सुपर बाउल ६०’ अर्थात् अमेरिकी भकुण्डोको महा रोमाञ्चक भिडन्तमा सिहक्सले न्यु इङ्ल्यान्ड प्याट्रियट्सलाई २९-१३ को भारी अन्तरले पराजित गर्यो।
यो जितसँगै सिहक्सले आफ्नो इतिहासमा दोस्रो पटक उपाधि जितेको छ भने प्याट्रियट्सको सातौँ पटक बिजेता बन्ने सपना चकनाचुर पारिदिएको छ।
यो खेल सन् २०१५ को त्यो चर्चित हारको बदला पनि थियो, जहाँ सिहक्स अन्तिम सेकेन्डमा एउटा गल्तीका कारण चुकेको थियो। तर यस पटक मैदानमा अर्कै दृश्य देखियो। खेल रक्षात्मक रूपमा निकै कडा थियो। सिहक्सका किकर जेसन मायर्सले पाँचवटा ‘फिल्ड गोल’ अर्थात् मैदानी गोल गरेर किर्तिमान बनाए।
धावक खेलाडी केनेथ वाकर तृतीयले १३५ गज दौडेर खेलको उत्कृष्ट खेलाडी को उपाधि जिते। सन् १९९८ पछि यो उपाधि जित्ने उनी पहिलो धावक खेलाडी अर्थात् रनिंग ब्याक हुन्।
खेलका नायक क्वार्टरब्याक (टोली नेता / कप्तान)साम डार्नोल्डको कथा झन् प्रेरणादायी छ। एक समय उनलाई धेरैले “असफल खेलाडी” मानेका थिए, तर यस मौषमउनले आफ्नो खेल सुधार्दै टोलीलाई बिजेता बनाए। खेलहरूमा उनले एउटै पनि गल्ती नगरी उत्कृष्ट प्रदर्शन गरे। उनले भने, “यो अविश्वसनीय छ, म यो जित आफ्नो टोली सँग मनाउन पाउँदा निकै खुसी छु।”
खेलमा सिहक्सको रक्षापंक्ति निकै आक्रामक देखियो। उनीहरूले प्याट्रियट्सका युवा खेलाडी ड्रेक मेलाई ६ पटक पछारे। खेलको अन्त्यतिर डेभोन विदरस्पुन र उचेना न्वोसुको उत्कृष्ट प्रदर्शनले सिहक्सको जित सुनिश्चित गर्यो।
मौशमको सुरुमा कसैले पनि यी दुई टोली अन्तिम खेल पुग्ने अनुमान गरेका थिएनन्। तर प्रशिक्षक माइक म्याकडोनाल्डको नेतृत्वमा सिहक्सले असम्भवलाई सम्भव तुल्यायो। “हामीले एकअर्कालाई विश्वास गर्यौँ र आज हामी विश्व विजेता बनेका छौँ,” म्याकडोनाल्डले पदक उचाल्दै गर्वका साथ भने।
सियाटलका प्रशंसकहरूका लागि यो जित एउटा उत्सव बनेको छ, जसले १० वर्ष पुरानो घाउमा मलम लगाएको छ।
प्रतिक्रिया